१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा पाँच पुस्ता सँगै लिएर अघि बढ्ने पार्टी बनाउने संकल्पसहित सभापति थापाले दुई नयाँ काउन्सिल गठनको प्रस्ताव गरेका छन्।
काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा उनले नयाँ पुस्ताका अनुभव र आकांक्षा सुन्न १८ वर्षभन्दा माथि र २१ वर्षभन्दा कम उमेरका युवाहरू रहने गरी युथ काउन्सिल बनाउने प्रस्ताव गरेका छन् । उनले पाको पुस्ताको अनुभव र ज्ञान ग्रहण गर्न विसडम काउन्सिल गठन गर्ने प्रस्ताव पनि गरेका छन् ।
यी दुवै काउन्सिलले पार्टी सभापतिसँग प्रत्यक्ष संवाद र परामर्श गर्नेछन्। दस्तावेजअनुसार दुवै काउन्सिलका सुझावलाई पार्टीको विधानसम्मत निर्णय प्रक्रियासँग जोडिनेछ जसले पुस्ताबीच संवाद र अनुभवको हस्तान्तरण गराउनेछ।
हरेक तहमा ३३ प्रतिशत महिला पदाधिकारी
पार्टीभित्र अर्थपूर्ण समावेशिता बढाउन कांग्रेसले पदाधिकारीमै महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कठोर नीति अघि सारेको छ।
प्रस्तावमा भनिएको छ, ‘हरेक तहमा कम्तीमा एक तिहाइ पदाधिकारी महिला रहने दिशामा संरचनागत सुधार अघि बढाइनेछन्।’
यसबाहेक युवा, श्रमिक, मधेसी, दलित, आदिवासी जनजाति, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यकको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने कांग्रेसले जनाएको छ। पछाडि पारिएका यी समुदायको प्रतिनिधित्वलाई अब पार्टीभित्र केवल उपस्थिति र सजावटमा सीमित नराखी नीति निर्माणमै उनीहरूको अनुभव समेट्ने व्यवस्था गरिने प्रतिवेदनमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया 4