+
+
Shares

स्वदेशी अनुसन्धानको ‘जिंक गहुँ-१’ बाट व्यावसायिक आँटा उत्पादन हुँदै

नार्कबाट अनुसन्धान भई विकास गरिएको उच्च पोषणयुक्त ‘जिंक गहुँ-१’ बाट व्यावसायिक रूपमा चक्की आँटा उत्पादन हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १४:०९

२० असोज, काठमाडौं । नेपालमा विद्यमान कुपोषण र सूक्ष्म पोषक तत्त्व कमी न्यूनीकरण गर्ने लक्ष्यसाथ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बिग एग्रो उद्योगबीच प्राविधिक सम्झौता भएको छ ।

यस सहकार्यसँगै नार्कबाट अनुसन्धान भई विकास गरिएको उच्च पोषणयुक्त ‘जिंक गहुँ-१’ बाट व्यावसायिक रूपमा चक्की आँटा उत्पादन भई आम उपभोक्ताको भान्सासम्म पुग्ने बाटो खुलेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नार्कका कामु कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले कृषि अनुसन्धानका उपलब्धि सिधै उद्योग र बजार प्रणालीसँग जोड्दै सर्वसाधारणको दैनिक आहारमा पोषणयुक्त खाद्य पदार्थको पहुँच विस्तार गर्न यो सम्झौता कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

सम्झौता अनुसार नार्कले बिउ, प्राविधिक ज्ञान र उत्पादन प्रविधि सम्बन्धी परामर्श उपलब्ध गराउने छ भने बिग एग्रो उद्योगले किसानको खेतबाटै गहुँ खरिद गरी ‘राज चक्की आँटा’ ब्रान्डमा बजार ल्याउने छ ।

बिग एग्रो अध्यक्ष नवराज बुर्लाकोटीका अनुसार आधुनिक मेसिनबाट चक्की विधिमा पिसिने हुँदा गहुँको प्राकृतिक फाइबर र पोषक तत्त्व नष्ट हुनेछैन ।

उच्च पोषणयुक्त र गुणस्तरीय भए पनि यसको बजार मूल्य सामान्य आँटाकै बराबर हुनेछ । यसले गर्दा विपन्न वर्गले पनि सहजै पोषिलो खाना खान पाउनेछन् ।

यस आँटामा १ सय ग्राममा १४.८८ प्रतिशत प्रोटिन, १३.८९ प्रतिशत ग्लुटेन, २.०३ प्रतिशत क्रुड फाइबर र १.७२ प्रतिशत फ्याट हुनेछ । साथै ३.४९ मिलिग्राम आइरन, ५.२२ मिलिग्राम जिंक, ४५.७२ मिलिग्राम क्याल्सियम र ३७५.७२ किलो क्यालोरी ऊर्जा प्राप्त हुनेछ ।

नेपालको करिब २५ प्रतिशत जनसंख्यामा जिंकको कमी रहेको तथ्यांक नार्कको छ । विशेषगरी ५ वर्षमुनिका बालबालिका, गर्भवती र सुत्केरी महिला रक्तअल्पता (एनिमिया) र कुपोषणबाट ग्रसित छन् । साधारण गहुँले क्यालोरी दिए पनि सूक्ष्म पोषक तत्त्व दिँदैन ।

तर, नार्कका वैज्ञानिकहरू खेमराज पन्त र रोमन कार्कीका अनुसार जिंक गहुँ-१ मा ३५ देखि ५२ पीपीएम जिंक र ३४ देखि ४१ पीपीएम आइरन पाइन्छ । जिंक शरीरमा सञ्चित भएर नबस्ने हुँदा यसलाई दैनिक आहारबाटै लिनुपर्छ ।

यस आँटाको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) बढाउनुका साथै बालबालिकाको शारीरिक र मानसिक विकासमा ठूलो मद्दत पुग्ने वैज्ञानिकहरूको दाबी छ ।

यसले दैनिक पोषण सुरक्षामा ३० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने बताइएको छ ।

नेपालको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम र मेक्सिकोस्थित सिमिटको संयुक्त प्रयासमा ‘बायोफोर्टिफिकेसन’ प्रविधिबाट यो गहुँको विकास गरिएको हो ।

हाल नेपालमा गहुँको औसत उत्पादकत्व प्रतिहेक्टर ३ टनमात्र छ, तर यस नयाँ जातले प्रतिहेक्टर ५.०१ टनसम्म उत्पादन दिने भएकाले किसानको उत्पादन झन्डै दोब्बरले वृद्धि हुन्छ ।

तराई, भित्री मधेसदेखि समुद्र सतहको ८ सय मिटर उचाइसम्म खेती गर्न सकिने यो गहुँ १ सय २१ दिनमा पाक्छ । बोट करिब १ मिटर अग्लो हुने हुँदा दानासँगै गाईवस्तुलाई खुवाउन मिल्ने छ्वाली (नल) पनि राम्रो उत्पादन हुन्छ ।

साथै यसमा खैरो सिन्दुरे, पहेँलो सिन्दुरे र पात डढुवाजस्ता गहुँका घातक रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता भएकाले विषादीको खर्च बच्छ र उत्पादन अर्गानिकतातर्फ उन्मुख हुने नार्कको भनाइ छ ।

सन् २०२७ सम्म ३० प्रतिशत क्षेत्रफल ओगट्ने लक्ष्य

नेपालमा धानपछिको दोस्रो मुख्य खाद्य बाली गहुँ हो । सन् १९६० देखि हालसम्म गहुँका ५८ जात सिफारिस भइसकेका छन् भने ९४ प्रतिशत क्षेत्रफलमा उन्नत जातको बिउ प्रयोग हुँदै आएको छ ।

चालु वर्ष (सन् २०२४/२५) मा भैरहवास्थित अनुसन्धान कार्यक्रमले उत्पादन गरेको कुल प्रजनन बिउमध्ये ९.३ प्रतिशत (४ हजार ९४ किलो) जिंक गहुँ–१ कै छ । निजी बिउ कम्पनीहरूको उत्पादनमा पनि यसले करिब १४ प्रतिशत हिस्सा ओगटिसकेको छ ।

यसको व्यावसायिक उत्पादन थालेपछि बजार माग ह्वात्तै बढ्ने नार्कको विश्वास छ । यसैलाई मध्यनजर गर्दै राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले २०२७ सम्म नेपालको कुल गहुँ खेती हुने क्षेत्रफलको ३० प्रतिशत भूभाग यस्तै बायोफोर्टिफाइड (जिंक र आइरनयुक्त) गहुँले ओगट्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ ।

यसबाट नेपालको दीर्घकालीन खाद्य तथा पोषण सुरक्षामा बलियो जग बस्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?