+
+
Shares

५० हजार ऋणबाट सुरु भएको यात्रा, आज २५ जनालाई रोजगारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १४:५७

ललितपुर । ललितपुरकी महिला उद्यमी हुन् गंगा महर्जन । उनको लगनखेलमा त्रिशक्ति ट्रेडर्स छ, जुन उनले अभावै अभावमा सुरु गरेकी थिइन् । यो तीन दशक अघिको कुरा हो ।

त्यसबेला उनीसँग केही थिएन, जाँगर र अभाव सिवाय । सहकारीबाट ५० हजार रुपैयाँ ऋण लिइन् । त्यसबाट १० थान कपडा, एउटा सिलाई मेसिन खरिद गरिन् । अनि एक जना कालिगड राखेर सिलाई बुनाइको काम सुरु गरिन् ।

त्यसबेला उनको घरभाडा १५०० रुपैयाँ थियो । यत्तिको रकम उनका लागि निकै ठूलो थियो, किनभने भनेको समयमा तिर्न कठिन थियो । त्यसमाथि कालिगडलाई तलब खुवाउने समस्या त छँदैछ ।

खर्च बढ्दै गयो । अभावको आकार बढ्दै गयो । उनलाई धान्नै गाह्रो भयो । तर के गर्ने ? अरू उपाय थिएन ।

आखिर उनले आफ्नो कामलाई जसोतसो निरन्तरता दिइन् । कतिपय अवस्थामा राती दुई बजेसम्म अविछिन्न काममा खटिइन् । श्रीमान र श्रीमती दुवै उत्तिकै खटिन्थे ।

श्रीमानले कपडाको कटिङ र सिलाइको काम सम्हाल्थे भने गंगा टाँका हाल्ने लगायतका काम गर्थिन् । घरपरिवार र व्यवसाय दुवैको जिम्मेवारी सम्हाल्दै रातदिन खटेर उनीहरूले व्यवसायलाई विस्तारै उभ्याउँदै लगे ।

त्यतिबेला आजजस्तो ललितपुरका गल्ली–गल्लीमा टेलरिङ व्यवसाय फैलिएको थिएन । बजारमा प्रतिस्पर्धा सीमित थियो । ग्राहकको विश्वास जित्न र नियमित काम पाउन आफैँले मेहनत गर्नुपर्ने अवस्था थियो । सानो व्यवसायबाट सुरु भएको काम विस्तारै ग्राहकको विश्वाससँग जोडिन थाल्यो । काम बढ्दै गयो, आम्दानीमा सुधार हुँदै गयो र व्यवसायबाट प्राप्त फाइदा पुनः व्यवसायमै लगानी गर्न थाले।

जति व्यवसाय बढ्दै गयो, त्यति नै लगानी थप्दै गइन् । एउटा मेसिनबाट सुरु भएको व्यवसायमा विस्तारै थप मेसिन र कामदार थपिन थाले। विशेषगरी कोट–पेन्टको राम्रो अर्डर आउन थालेपछि उनीहरूले कामलाई अझ व्यवस्थित बनाउन कोट मेन र सर्ट मेन थप्दै गए । व्यवसाय विस्तार हुँदै जाँदा केही वर्षमै तीन–चारवटा मेसिन राखेर काम गर्न थाले ।

लगनखेलमा मात्रै काम गर्ने ठाउँ पर्याप्त हुन छाड्यो । त्यसपछि उनीहरूले जावलाखेलमा कारखाना सञ्चालनमा ल्याए ।

व्यवसाय विस्तार हुँदै जाँदा कामदार थपिए, उत्पादन बढ्यो र ग्राहकको संख्या पनि बढ्दै गयो । हरेक चरणमा चुनौती थिए, तर महर्जन दम्पती संघर्षबाट पछि हटेनन् । व्यवसायबाट आएको आम्दानीलाई व्यक्तिगत विलासितामा खर्च गर्नुभन्दा फेरि व्यवसायमै लगानी गर्ने उनीहरूको सोचले नै व्यवसायलाई क्रमशः ठूलो बनाउँदै लग्यो । ‘निरन्तर मेहनत गरेकै कारण आजको सफलता प्राप्त भएको हो’ गंगा आफ्नो यात्राको मुख्य सूत्र यही मान्छिन् ।

करिब तीन दशक लामो यो यात्रामा धेरै कुरा परिवर्तन भए । कुनै समय १ हजार ५०० रुपैयाँ भाडा तिर्नसमेत समस्या पर्ने अवस्था थियो, कर्मचारीलाई तलब खुवाउन गाह्रो हुन्थ्यो । आज भने आफ्नै घर–घडेरी जोडिएको छ । १२ वटाभन्दा बढी सिलाई मेसिन छन् र करिब २५ जनाले रोजगारी पाएका छन् ।

यही परिवर्तनलाई गंगा आफ्नो व्यवसायिक जीवनको सबैभन्दा ठूलो उपलब्धि मान्छिन् । उनको व्यवसाय अहिले केवल व्यक्तिगत आम्दानीको माध्यममा सीमित छैन, यसले प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्नुका साथै ग्राहकको विश्वाससमेत जितेको छ ।

वर्षौँदेखि सेवा लिँदै आएका ग्राहकहरू, निरन्तर आउने अर्डर र कामको गुणस्तरप्रतिको भरोसाले त्रिशक्ति ट्रेडर्सलाई व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन मद्दत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?