+
+
Shares

भारतमा स्टारलिंकलाई रोक्न केही उद्योगपति सक्रिय रहेको एलन मस्कको आरोप

अमेरिकी अर्बपति एलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकको प्रवेश रोक्न केही उद्योगपति सक्रिय रहेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते ८:२२

२२ असोज, काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकको प्रवेश रोक्न केही उद्योगपति सक्रिय रहेको आरोप लगाएका छन् ।

मस्कले सामाजिक सञ्जाल एक्समा एक पोस्टको जवाफ दिँदै भारतमा स्टारलिंकको प्रवेश रोक्नुको उद्देश्य केही उद्योगपतिको एकाधिकार कायम राख्नु रहेको दाबी गरेका हुन् ।

स्टारलिंकले भारतमा प्रवेशका लागि अनुमति प्रक्रिया अघि बढाइरहेका बेला मस्कको पछिल्लो टिप्पणी सार्वजनिक भएको हो । मस्कले भने भारतमा आफ्नो सेवा विस्तारमा अवरोध गरिरहेको भनिएका उद्योगपतिको नाम भने सार्वजनिक गरेका छैनन् ।

उनले लेखेका छन्, ‘दुर्भाग्यवश, केही खास उद्योगपतिले हामीलाई रोकिरहेका छन्, ताकि भारतीय जनतामाथि उनीहरूको एकाधिकारवादी पकड कायम रहोस् । उनीहरू को हुन्, तपाईं अनुमान गर्न सक्नुहुन्छ । यो भारतका जनताविरुद्धको अपराध हो ।’

भारतमा अझै ठूलो संख्यामा गाउँहरू ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट बाहिर रहेको भन्दै उनले स्टारलिंक आवश्यक रहेको विषयमा गरिएको पोस्टको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले भारतमा स्टारलिंकले हालको मूल्यका कारण इन्टरनेट प्रयोग गर्न नसकिरहेका वा इन्टरनेट सेवाकै पहुँचमा नरहेका मानिसलाई तीव्र र किफायती इन्टरनेट उपलब्ध गराउन सक्ने दाबी गरेका छन् ।

यसअघि बुधबार नयाँदिल्लीमा जारी इन्डिया मोबाइल कांग्रेसमा स्टारलिंककी बिजनेस अपरेसन्स उपाध्यक्ष लरेन ड्रेयरले भारतमा सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिएकी थिइन् ।

उनका अनुसार स्टारलिंकले भारतमा २० वटा गेटवे साइट निर्माण गरिसकेको छ । भारतीय प्रयोगकर्ताको डेटा भारतमै राख्ने उद्देश्यले आवश्यक सुरक्षा नियन्त्रणसमेत विकास गरिएको उनले बताइन् ।

ड्रेयरले भारत सरकारबाट आवश्यक सबै स्वीकृति प्राप्त भएपछि स्टारलिंकले भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवा सकेसम्म चाँडो सुरु गर्ने तयारी गरेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?