+
+
Shares
ट्रेलर रिभ्यु :

कबड्डी–५ : कथा उही, व्यथा उही

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामबाबु गुरुङको ‘कबड्डी–५’ को ट्रेलर सार्वजनिक भएको छ, र यसले काजीको फेरि पनि अधुरो विवाहकथालाई देखाएको छ।
  • ट्रेलरमा मैया फर्किएको सङ्केत, नयाँ सोल्टिनीको प्रवेश र विपिन कार्कीको आगमन देखाइएको छ।
  • फिल्मले पुरानै परिवेश र पात्रलाई दोहोर्‍याएको टिप्पणी गर्दै संवाद कमजोर भएको संकेत गरिएको छ।

अर्थशास्त्री अल्फ्रेड मार्शलको सिद्धान्तले भन्छ- ‘कुनै वस्तुको उपभोग बढ्दै जाँदा त्यसको प्रत्येक एकाइबाट प्राप्त हुने अतिरिक्त सन्तुष्टि घट्दै जान्छ ।’ तपाईंले खानाको पहिलो गाँसमा जुन स्वाद भेट्नुहुन्छ, अन्तिम गाँसमा त्यो रहँदैन ।

भात उही हो, तरकारी उही हो । स्वाद किन फरक ? किनभने यहाँ भोक र स्वादको समीकरण एकनास रहँदैन । तपाईं जति–जति अघाउनुहुन्छ, उति–उति स्वाद घट्न थाल्छ । यो हरेक कुरामा लागू हुन्छ, फिल्ममा पनि ।

जस्तो, तपाईंले अनुभव गर्नुभएकै छ- ‘कबड्डी’ कति स्वादिलो थियो । लेकाली समाजको पृथक् कथा, परिवेश फरक, पात्र फरक । धेरै कुरा फरक थियो ।

तपाईंलाई विवश मैया, जब्बर काजीको तानाबानाले मात्र होइन, बिके, सन्त्याल, झाँक्रीले पनि उत्तिकै सम्मोहित बनाइदिए । फिल्मका पात्रहरू गज्जब थिए । कथा गज्जब थियो । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी गज्जब थियो । उपेन्द्र सुब्बाको संवाद गज्जब थियो । ‘मन परेको जुत्ता पो जुत्ता, नत्र खाली खुट्टै ठीक’ जस्ता संवादले ‘कबड्डी’को तरङ्ग पैदा गरिदिए । यो संवाद हरेकको मुखमुखमा झुन्डिएको थियो ।

‘कबड्डी’मा रामबाबु गुरुङ, दयाहाङ राई, उपेन्द्र सुब्बा मात्र होइन, बुद्धि तामाङ, विजय बरालसम्मका जीवनभोगाइहरू मिसिएर आएका थिए । त्यसैले यो फिल्म आफैंमा सुन्दर कृतिजस्तो भइदियो । व्यावसायिक रूपले पनि यो सफल भयो ।

अन्ततः रामबाबु गुरुङहरू आफ्नो दक्षतालाई फरक ढङ्गले प्रस्तुत गर्ने र चुनौती मोल्नेभन्दा पनि सफलता दोहोर्‍याउने होडमा लागे । ‘कबड्डी’को लोकप्रियतालाई उनले खल्तीमा बदले र त्यसको शृङ्खला नै तयार गर्न थाले । ‘कबड्डी–२’, ‘कबड्डी–३’, ‘कबड्डी–४’ सम्म आइपुग्दा धेरैले लख काटेका थिए- यही नै फाइनल म्याच हो । लेख्न पनि त्यही लेखेका थिए । तर रामबाबु रोकिएनन् र ‘कबड्डी–५’ बनाए ।

यो फिल्मको ट्रेलर भर्खर सार्वजनिक भयो । ‘कबड्डी’को केन्द्रमा काजी छन् र विवाहका लागि उनले गर्ने हत्ते । ‘कबड्डी’को पहिलो भागमा काजीको विवाह जुर्दैन, जसलाई उनले औधी चाहेका थिए। त्यही ढिपीले तानेर दोस्रो भाग बन्यो । त्यसपालि पनि उनको विवाह भएन । यसरी अविवाहित काजीलाई बोकेर रामबाबु गुरुङले ‘कबड्डी’को पाँचौं भाग बनाए ।

पाँचौं भागसम्म आइपुग्दा काजीको विवाह त भएजस्तो देखिन्छ, तर उनकै समस्याहरूमा फिल्मको कथा तन्किँदै जान्छ । घरजाम गरिसकेका काजीसँग अब के समस्या होला ? त्यो त ट्रेलरले आंशिक रूपमा खुलाएकै छ । ट्रेलरमा हराइसकेकी मैयालाई फर्काएर केही ट्विस्ट ल्याउने सङ्केत गरेका छन् । यस्तै, विपिन कार्कीलाई पनि यो भागमा इन्ट्री गराइएको छ । तर उनको आगमन विगतमा निश्चल बस्नेत र सौगात मल्लको जस्तै देखिन्छ। काजीको प्रेमकथामा तगारो हाल्न सुरुदेखि नै कोही न कोही सहरिया भित्र्याउने गरिएको छ। त्यही सिलसिला यसपालि पनि जारी छ ।

परिवेश उही छ, पात्रहरू उही छन् । कथामा उस्तो उतारचढाव देखिँदैन । ‘कबड्डी’को सबैभन्दा दमदार पक्ष भनेको यसको संवाद थियो । तर उपेन्द्र सुब्बा अलग भएपछि हास्यरसयुक्त संवादमा त्यस्तो तोड र मोड छैन ।

ट्रेलरको सुरुमै बिके भन्छन्- ‘यो काजी दाइको लाइफमा धोकाको शृङ्खला कहिल्यै नसकिने भो ।’ काजीले धोका पाउन छाडेपछि कथा पनि सायद सकिनेछ ।

त्यसैले यसपालि पनि काजी रित्तो हात हुन पुगेका छन् सायद । सुरुवाती संवादले त्यही छनक दिन्छ ।

यहाँ काजी निकै निराश भएका छन् र आफू बेरोजगार भएकै कारण यति धेरै चोट खेप्नुपरेको निष्कर्षमा पुगेका छन् । अब काजी केही न केही उद्यम गर्ने योजनामा लाग्छन् ।

यस भागमा नयाँ सोल्टिनीको आगमन हुन्छ। साथसाथै तगारो बनेर विपिन कार्कीको पनि। यहाँ पनि काजीको अतृप्त प्रेम, विवाहको योजना, फेरि त्यसमाथि अवरोध पैदा गरिएको छ ।

सुरुदेखि मोटामोटी कथा यसरी नै बगेको छ, जसरी थाकखोला एकोहोरो बगेको छ । त्यसको प्रवाहमा न छाल आएको छ, न त्यसको रूप र रङमा परिवर्तन । त्यो हिजो जस्तो थियो, आज त्यस्तै छ ।

काजी जस्तै । ‘कबड्डी’ जस्तै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?