+
+
Shares

‘पाँचवाँ पराठा’ : जब भोक र कर्तव्य सँगै उभिन्छन्

दुई जना बच्चाहरूले दुई–दुई वटा खान्छन् । अब भान्छामा एउटा पराठा बाँकी रहन्छ । यो पाँचौं पराठा कसले खाने ? यही नै फिल्मको मूल द्वन्द्वको बन्न पुग्छ ।

कञ्चन कञ्चन
२०८३ असोज २९ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्जय गुप्ताद्वारा निर्देशित सर्ट फिल्म ‘पाँचवाँ पराठा’ सन् १९७२ को कानपुरमा आर्थिक मन्दीबीच मजदुर परिवारको भोक, संघर्ष र आत्मसम्मानको कथा हो।

दरिद्रताको उपस्थिति एकदमै मायावी हुन्छ । सेरोफेरोमा मडारिन्छ तर त्यसका हृदयविदारक परिणामहरू हुन सक्छन् भन्ने कुरा हामीलाई खासै याद रहँदैन । तर सर्ट फिल्म ‘पाँचवाँ पराठा’ (द फिफ्थ पराठा)’ ले हामीलाई झस्काइदिने गरी गरिबीका, दरिद्रताका तीतो यथार्थलाई पस्किन्छ । कतै जिन्दगीका कठोर त कतै भयाक्रान्त तुल्याउने विशेषताले दर्शकहरूलाई निष्क्रिय बस्न दिँदैन ।

निर्देशक सञ्जय गुप्ताद्वारा निर्देशित यो फिल्म प्रख्यात साहित्यकार पद्मश्री डा. गिरिराज किशोरको चर्चित यथार्थवादी कथा ‘पाँचवाँ पराठा’ मा आधारित छ । केवल २४ मिनेटको छोटो समयावधिमा फिल्मले दर्शकको मनमस्तिष्कमा गहिरो छाप छोड्छ ।

फिल्म सन् १९७२ को पृष्ठभूमिमा आधारित छ । त्यस समय भारतको कानपुरमा आर्थिक मन्दीको लहर चलेको थियो । यो कालखण्ड भारतीय इतिहासमा राजनीतिक र सामाजिक रूपमा अत्यन्तै उतारचढावपूर्ण र संकटग्रस्त थियो, जसले गर्दा सर्वसाधारण र मजदुर वर्गको जीवन निकै कष्टकर बनेको थियो।

त्यही समयलाई टपक्क टिपेर निर्देशक गुप्ताले एउटा सामान्य मजदुर परिवारको दैनिक संघर्ष, भोक र आत्मसम्मानको कथालाई पर्दामा उतारेका छन् । गरिबीको क्रूरता र प्रतिकूलतामाझ पनि पारिवारिक सम्बन्धभित्रका मौन त्यागलाई सजीव पारामा प्रदर्शन गरेका छन् ।

कथानक र विषयवस्तु

कथा कानपुरको एउटा सानो, अँध्यारो र जीर्ण घरमा बस्ने चार जनाको परिवारको वरिपरि घुम्छ । परिवारमा आमा, बुबा र दुई साना बच्चाहरू (बिट्टू र पिंकु) छन्। बुबा (एन.के. पन्त) मिल बन्द भएपछि दैनिक ज्यालादारी वा सानातिना काम गरेर परिवारको गुजारा चलाउन संघर्ष गरिरहेका छन् । आमा (स्नेहलता सिद्धार्थ तागडे) घरको अवस्था सम्हाल्न र बच्चाहरूलाई भोकै रहन नदिन हरसम्भव प्रयास गर्छिन् । उनीहरूका लागि दुई छाक टार्नु पनि ठूलो सफलता हुन्छ ।

दुई छाक टार्न पनि नसकिने भइसकेपछि बुबाले कतैबाट थोरै पैसा व्यवस्था गरेर घर फर्किन्छन् । त्यही पैसाले पराठा बनाउने व्यवस्था मिलाउँछन् । बच्चाहरूका लागि ‘पराठा’ खान पाउनु कुनै ठूलो उत्सव वा चाडपर्व आएसरह हुन्छ । कारण- उनीहरूले लामो समयदेखि सुख्खा रोटीको भरमा मात्र भोक थेगिरहेका हुन्छन् । आमाले घरमा पाँचवटा पराठा बनाउँछिन् । दुई जना बच्चाहरूले दुई–दुई वटा खान्छन् । अब भान्छामा केवल एउटै मात्र पराठा बाँकी रहन्छ– ‘पाँचवाँ पराठा’ (पाँचौं पराठा)।

यही पाँचौं पराठा नै फिल्मको मूल द्वन्द्वको बन्न पुग्छ । यो एउटा पराठा अब कसले खाने ? दिनभरि काम खोज्दाखोज्दा थाकेका, भोकाएका बुबाले कि घरको काम र बच्चाहरूको हेरचाहमा पग्लिएकी आमाले ? वा अझै पनि तृप्त नभएका बच्चाहरूले ? यो एउटा पराठाले परिवारका सदस्यहरूबीचको आन्तरिक मनोविज्ञान, उनीहरूको आत्मसम्मान, एकअर्काप्रतिको प्रेम र गरिबीले पैदा गर्ने अदृश्य क्रूरतालाई सतहमा ल्याउँछ ।

कथा अघि बढ्दै जाँदा यो पराठा केवल खानेकुरा रहँदैन । यो त्याग, ममता, असहायपन र मानवीय गरिमाको कडा परीक्षा बन्न पुग्छ । फिल्मको अन्त्य अत्यन्तै मार्मिक, स्तब्ध पार्ने र दर्शकलाई निरुत्तर बनाउने खालको छ।

थिम्याटिक विश्लेषण

‘पाँचवाँ पराठा’ ले गरिबीलाई केवल आर्थिक अवस्थाको रूपमा मात्र देखाउँदैन। यसले गरिबीले मानिसको सोच्ने तरिका र सम्बन्धहरूमा पार्ने मनोवैज्ञानिक असरलाई सूक्ष्म रूपमा केलाएको छ । जब मानिसको आधारभूत आवश्यकता ‘पूरा हुँदैन, तब उसका अन्य सबै भावनाहरू, नैतिकता र सम्बन्धहरू ओझेलमा पर्न थाल्छन्।

कसरी लामो समयको भोकले मानिसलाई विरक्त ,असहाय खोक्रो बनाउँछ ? एउटा बुबा आफ्ना बच्चाहरूलाई पेटभरि खुवाउन नसक्दा कस्तो आत्मग्लानि र मानसिक पीडाबाट गुज्रिन्छ ? यही कुरालाई फिल्मले निकै गम्भीरताका साथ प्रस्तुत गरेको छ ।

संसारका हरेक कुनामा गरिब आमाबाबुले आफ्ना सन्तानका लागि गर्ने त्याग समान हुन्छ । यस फिल्ममा पनि आमा र बुबा दुवै आफैं भोकै बसेर बच्चाहरूको पेट भर्न चाहन्छन् । तर यो त्यागमा कुनै फिल्मी तडकभडक वा अतिपरिपक्व संवादहरू छैनन् । यहाँको त्याग मौन छ, आँसुको सङ्कोचमा लुकेको छ, ओठको कम्पनमा अभिव्यक्त भएको छ । समग्रमा, आमा र बाबु भोक र कर्तव्यबीच पिसिएका छन् ।

त्यस्तै, सन् १९७२ को कानपुरको औद्योगिक संकटलाई फिल्मको बलियो पृष्ठभूमि बनाएका छन् । फिल्मले अप्रत्यक्ष रूपमा तत्कालीन व्यवस्था, पूँजीवाद र मजदुर वर्गप्रति राज्यको उदासीनतामाथि पनि प्रश्न उठाएको छ।

निर्देशन र पटकथा

सञ्जय गुप्ताको निर्देशनको सबैभन्दा ठूलो सबल पक्ष भनेको ‘सहजता र इमानदारी’ हो । उनले डा. गिरिराज किशोरको साहित्यिक कथाको आत्मालाई पर्दामा मर्न दिएका छैनन् । उनले यस फिल्मलाई डकुमेन्ट्री शैली र यथार्थवादको नजिक राखेका छन् । २४ मिनेटको अवधिमा कतै पनि कथा अनावश्यक रूपमा तन्केको महसुस हुँदैन।

पटकथा निकै कसिलो र सघन छ । फिल्ममा संवादहरू निकै कम छन्, तर जति छन् ती पर्याप्त छन् । धेरैजसो दृश्यहरूमा पात्रहरूको मौनता र उनीहरूको शारीरिक भंगिमाले नै संवादको काम गरेको छ । निर्देशकले दर्शकलाई भावरसमा डुबाउनका लागि कुनै कृत्रिम या भद्धा दृश्यहरूको सहारा लिएका छैनन् । परिस्थितिको संवेगात्मक वजनले नै दर्शक स्वतः भावुक बन्न पुग्छन् ।

अभिनय

बुबाको भूमिकामा एन.के. पन्तले एउटा लाचार, गरिब तर स्वाभिमानी बुबाको भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । उनको अनुहारका रेखाहरू, थाकेका आँखा र आवाजको गम्भीरताले एक मजदुरको पीडालाई दुरुस्तै चित्रण गर्छ । जब उनी आफ्ना बच्चाहरूले पराठा खाएको कुरा सुन्छन् उनको आँखामा गर्व र थकानको मिश्रण देखिन्छ । जसको सुक्ष्म झल्काले उनको अभिनयको तारिफ नगरी बस्न सकिंदैन।

आमाको भूमिकामा स्नेहलता सिद्धार्थ तागडेको अभिनयले दर्शकको मुटु छुन्छ । एउटा भारतीय मध्यम वा निम्न वर्गकी महिला, जसले घरको गरिबीलाई लुकाउन र परिवारलाई जोगाउन आफ्नो भोक र इच्छाहरूलाई तिलाञ्जली दिन्छिन् । भान्छाको दृश्यमा उनको अभिनय र पाँचौं पराठाप्रतिको उनको मौन असमञ्जसता फिल्मको सबैभन्दा बलियो पक्ष हो ।

बाल कलाकारहरू कस्तूरी जंगम र युवान मिश्राहरूले निकै स्वाभाविक अभिनय गरेका छन्। उनीहरूको निर्दोषता र पराठा देख्दाको खुसीले फिल्मको गम्भीरताका बीच एक सुखद अनुभूति दिन्छ । उनीहरूको अभिनय र संवादमा छरितोपना र बालसुलभताको मिहिन तत्व भेटिन्छ ।

प्राविधिक पक्ष

फिल्मको सिनेमाटोग्राफी प्रशंसनीय छ । कोठाभित्रको साँघुरोपन, अँध्यारो र प्रकाशको खेलले परिवारको जीवनमा छाएको निराशा र अनिश्चिततालाई दर्साउँछ। क्यामेराका शटहरू निकै ढिला र स्थिर छन्, जसले दर्शकलाई पात्रहरूको पीडा र स्थितिलाई नजिकबाट महसुस गर्ने समय दिन्छ । विशेषगरी भान्छा र पराठा बनाइरहेको क्लोज–अप शटहरूले भोकको तीव्रतालाई बढाउँछन् ।

‘पाँचवाँ पराठा’ को पृष्ठभूमि संगीत न्यूनतम र शान्त छ । निर्देशकले धेरै ठाउँमा संगीतको सट्टा प्राकृतिक आवाजहरू जस्तै: भाँडाकुँडाको आवाज, दीर्घ निश्वास, हावाको वहाव आदिलाई प्राथमिकता दिएका छन् । जहाँ संगीत प्रयोग गरिएको छ, त्यसले दृश्यको संवेगात्मक गहिरालाई बढाउन मद्दत गरेको छ, कतै पनि दृश्यमाथि हाबी भएको छैन ।

सन् १९७२ को कालखण्डलाई पुनर्जीवित गर्न कला निर्देशकले ठूलो मिहिनेत गरेका छन् । भित्ताको उप्किएको रङ, पुराना आल्मुनियमका भाँडाकुडाहरू, चुलो र पात्रहरूले लगाएका मैला, च्यातिएका कपडाहरूले फिल्मलाई समय र यथार्थको कसीमा उभ्याएका छन् ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?