+
+
Shares

दशैँमा च्याङ्ग्रा महँगियो : रोज्जाकै ५० हजार, मासु किलोको २२ सय

रासस रासस
२०८३ असोज २९ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैँका लागि मुस्ताङबाट बागलुङ भित्रिएका च्याङ्ग्राको मूल्य ४५ हजारदेखि ५० हजार रुपैयाँसम्म पुगेको छ।
  • व्यापारी तेन्जिङ तार्के तामाङले डोल्पा र मुस्ताङबाट ल्याएका २०० च्याङ्ग्रामध्ये १०० बागलुङ र १०० पोखरा पठाएका छन्।
  • मुस्ताङबाट यस वर्ष दशैँका लागि १३ हजार ८१७ भेडाच्याङ्ग्रा निकासी भएका छन्, जसमध्ये ११ हजार ७०० च्याङ्ग्रा र २ हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरिएको छ।

२९ असोज, बागलुङ । दशैँमा हिमाली भेँडा र च्याङ्ग्राको मासु खाने चलन पुरानो हो । घटस्थापनासँगै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा बागलुङ बजारमा भित्रिएका छन् । यसपटक मूल्य आकासिए पनि बागलुङमा च्याङ्ग्राको माग भने घटेको छैन ।

कोसेलीका रूपमा लैजान र दशैँमा च्याङ्ग्राकै मासु खाने पारखीहरूका कारण महँगो भए पनि व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन् । डोल्पा र मुस्ताङ हुँदै २५ दिनको पैदलयात्रामार्फत च्याङ्ग्रा लिएर बागलुङ आइपुगेका तेन्जिङ तार्के तामाङका अनुसार अहिले बजारमा रोज्जा (छानिएको राम्रो) च्याङ्ग्राको भाउ ४५ हजारदेखि ५० हजार रुपैयाँसम्म परेको छ ।

‘डोल्पा र मुस्ताङबाट २०० च्याङ्ग्रा ल्याएको थिएँ, जसमध्ये १०० बागलुङ र १०० पोखरा पठाएको छु,’ तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएका तामाङले भने, ‘अहिले गोठमै एउटा च्याङ्ग्राको मूल्य ३७ हजार रुपैयाँसम्म परेको छ । भाउ बढे पनि माग घटेको छैन, दशैँअघि नै सबै बिक्री गरिसक्ने योजना छ ।’

उनका अनुसार गोठबाटै ३२ हजारदेखि ३७ हजार रुपैयाँसम्ममा खरिद गरेर ल्याइएको हो । बागलुङमा बिक्री नभएका च्याङ्ग्रा मुख्य बजार पोखरा लगिने उनले बताए । यसपटक हिमपातका कारण च्याङ्ग्रा ल्याउन समस्या भएको र गत वर्षभन्दा आयात कम भएकाले व्यापार राम्रो हुने उनको आकलन छ ।

यस्तै, बागलुङका स्थानीय व्यापारी बलबहादुर थापाले दशैँलक्षित गर्दै च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार दुई सय रुपैयाँमा बिक्री गरिरहेका छन् । यसपटक च्याङ्ग्राको खरिद मूल्य नै बढेकाले थोरै मात्र ल्याएको उनले बताए ।

‘स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ । दशैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि महँगो भएकाले सबैले खान सक्ने अवस्था छैन,’ व्यापारी थापाले भने, ‘मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन्, अहिले रोज्जा च्याङ्ग्राकै मूल्य ५० हजारसम्म पर्न जान्छ ।’

बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरुद्ध हुँदा यस वर्ष कम मात्र च्याङ्ग्रा भित्रिएको व्यापारीहरूको भनाइ छ । हिमाली भेगमा लेकाली जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पोषिलो र स्वादिष्ट मानिन्छ, जसकारण उपभोक्ताले महँगै भए पनि खोजी-खोजी किन्ने गरेका छन् ।

चाडपर्वका लागि मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर म्याग्दी र बागलुङ हुँदै पोखरा र काठमाडौँसम्म पुर्‍याइन्छ । यस वर्ष दशैँका लागि मुस्ताङबाट कुल १३ हजार ८१७ भेडाच्याङ्ग्रा निकासी भएका छन् । जसमध्ये ११ हजार ७०० च्याङ्ग्रा र २ हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?