+
+
Shares

मधेशमा कर्मचारी सरुवामा चलखेल

मुख्यमन्त्री कार्यालयले गरेको सरुवा कार्यान्वयन नगरी मन्त्रालयले गर्‍यो सरुवा

मुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेका कर्मचारीलाई मन्त्रालयले पुनः सरुवा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठेको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ असोज २९ गते २१:१७

२९ असोज, जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ २५ गते अधिकृत सातौं अरविन्द कुमार दासलाई जनलोकपाल आयोगमा काज सरुवा गर्‍यो ।

यातायात कार्यालय कलैयामा दरबन्दी रहेका उनी यातायात कार्यालय मलंगवामा कामकाजमा थिए। मुख्यमन्त्री कार्यालयले कामकाज सरुवा गरेको जनकलोकपाल आयोगमा उनी उताबाट रामाना लिएर हाजिर नै भएनन् ।

जबकी सरुवा भएको मितिले २१ दिन भित्र सरुवा भएको कार्यालयमा हाजिर हुनुपर्ने कानुनी व्यवस्था छ । तर सरुवा भएकै कार्यालयमा हाजिर नहुँदै श्रम तथा यातायात मन्त्रालयले असोज २६ गते उनको सरुवा पुनः मलंगवा यातायात कार्यालय प्रमुखको रुपमा गरेको छ । दास वर्षौदेखि यातायातमै बसेका कर्मचारी हुन् ।

यातायात कार्यालय बर्दिबासमा सातवर्षदेखि रहेका अधिकृत छैटौं ललितकुमार यादवलाई मुख्यमन्त्री कार्यालयले गत भदौ २४ गते मधेश प्रदेशसभामा सरुवा गर्‍यो । उनी फाजिल कर्मचारीको रुपमा बसेका थिए । तर सरुवा पश्चात पनि यादव त्यहाँबाट रमाना लिएर मधेश प्रदेशसभामा हाजिर नै भएनन् ।

उनको सरुवा पनि असोज २६ गते पुनः श्रम तथा यातायात मन्त्रालयले मलंगवा यातायात कार्यालयमा सहायक शाखा अधिकृतको रुपमा गरेको छ ।

यस्तै भदौ २५ गते मुख्यमन्त्री कार्यालयले अधिकृत सातौं समान्य प्रशासनका कर्मचारी सुनील कुमार साहलाई श्रम तथा यातायात मन्त्रालयबाट गृह संचार तथा कानुन मन्त्रालयमा सरुवा गर्‍यो । समयअवधि पुगेको भन्दै मुख्यमन्त्री कार्यालयले उनको गृहमन्त्रालयमा सरुवा गरेको थियो । तर मन्त्रालयबाट रमाना लिएर गृह संचार तथा कानुन मन्त्रालयमा हाजिर नै भएनन् ।

श्रम तथा यातायात मन्त्रालयले उनको कामका सरुवा फेरि यातायात कार्यालय बारा कलैयाको निमित्त प्रमुखको रुपमा गरेको छ । उनी दुईवर्षदेखि यातायात मन्त्रालय र त्यसअघि अर्थ मन्त्रालयमा कार्यरत थिए ।

श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले कलैया यातायात कार्यालयमा प्रमुख नहुँदा तीन महिनादेखि कर्मचारीले तलब खान नपाएको अवस्थामा साहलाई कामकाजमा खटाइएको बताइन् ।

‘मुख्यमन्त्री कार्यालयले दिएको सहमतिअनुसार सरुवा गरिएको हो । सुनील साहको हकमा बारा, कलैयामा प्रमुख नहुँदा तीन महिनादेखि कर्मचारीले तलब खान पाएका थिएनन् । त्यसकारण उहाँलाई कामकाजमा सरुवा गरिएको हो,’ मन्त्री थापाले भनिन् ।

कर्मचारी सरुवामाथि कानुनी प्रश्न

तर, मुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेका कर्मचारीलाई मन्त्रालयले पुनः सरुवा गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा कानुनी प्रश्न उठेको छ ।

प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा १ र २ मा सरुवासम्बन्धी व्यवस्था छ । दफा १ मा भनिएको छ, ‘प्रदेशको विभिन्न स्थानको अनुभवसमेत दिलाउनका लागि उपदफा (३) बमोजिमको अवधि पूरा भएपछि सरुवा गरिनेछ र त्यस्तो सरुवा गर्ने अधिकार अख्तियारवालालाई हुनेछ ।’

मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी तथा उपसचिव रोहित कोइरालाले पनि कार्यालयले आफ्नो अधिकार क्षेत्रभित्रका कर्मचारीलाई गरेको सरुवा अन्य मन्त्रालयले परिवर्तन गर्न नमिल्ने बताए ।

‘मुख्यमन्त्री कार्यालयले आफ्नो अधिकार क्षेत्रभित्रका कर्मचारीलाई गरेको सरुवा चलाउन मिल्दैन,’ उनले भने ।

मुख्यमन्त्री कार्यालयले गरेको सरुवापछि कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर नहुने र पुनः यातायात कार्यालयमै फर्किने घटनाले कर्मचारी सरुवा प्रणालीमा प्रश्न उठाएको छ ।

‘मुख्यमन्त्री कार्यालयले सरुवा गरेको कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर हुनु पर्थ्यो । तर सरुवा भएका कर्मचारीले त्यसो गरेनन् । मुख्यमन्त्री कार्यालयको सरुवा कार्यान्वयन नगरी फेरि मन्त्रालयले ती कर्मचारीहरूलाई सरुवा गरिदिएको छ’ एक अधिकारी भन्छन् ‘यो नजिर गलत हो । यसरी भोलि अर्का मन्त्रालयले पनि गर्न थाल्यो भने अवस्था के हुन्छ ?’

यातायात व्यवस्था कार्यालयलाई आर्थिक चलखेल हुने कार्यालयका रूपमा चिनिने गरिन्छ । सवारीसाधन नामसारीदेखि सवारीचालक अनुमतिपत्र बनाउनेसम्मका काममा आर्थिक चलखेल हुने गरेको व्यापक गुनासो सुनिन्छ ।

प्रशासन क्षेत्रका कर्मचारीको पहिलो रोजाइमा यातायात व्यवस्था कार्यालय पर्ने गरेका छन् । त्यसैले त्यहाँ सरुवा हुन कर्मचारीले विभिन्न उपाय अपनाउने गरेको चर्चा प्रशासनिक वृत्तमा छ । मुख्यमन्त्री कार्यालय र श्रम तथा यातायात मन्त्रालयबीच कर्मचारी सरुवाका विषयमा चलखेल हुने गरेको र स्वार्थअनुसार सरुवा गरिने गरेको चर्चा कर्मचारी वृत्तमै हुने गरेको छ ।

यसै कारण यातायातमा कार्यरत्त धेरै कर्मचारी वर्षौदेखि एकदेखि अर्को यातायातमै सरुवा हुँदै आएको छ । अन्यत्र सरुवा भएपनि उनीहरु पुनः यातायातमै फर्किने गरेका छन् ।

नवौंदेखि माथिको सरुवा गर्ने अधिकार पनि मन्त्रालयले लियो

पछिल्ला सरुवा त्यसैको उदाहरण भएको प्रशासन क्षेत्रका केही कर्मचारीको दाबी छ । मुख्यमन्त्री कार्यालयको सहमति लिएर श्रम तथा यातायात मन्त्रालयले उच्च तहका कर्मचारीको सरुवा प्रक्रिया अघि बढाएको पनि पाइएको छ ।

श्रम तथा यातायात मन्त्रालयमा झन्डै एक वर्षदेखि कार्यरत उपसचिव धनन्जय सिंहलाई वीरगञ्ज यातायात व्यवस्था कार्यालयको प्रमुखका रूपमा सरुवा गरिएको छ । उनी मन्त्रालयमा आउनु अघि यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख थिए ।

प्रदेश निजामती सेवा ऐनको दफा २५ को उपदफा (२) मा ‘अधिकृत दशौँ र नवौँ तहका कर्मचारीको सरुवा वा पदस्थापना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ’ भन्ने व्यवस्था छ ।

यातायातमा फाजिल कर्मचारी

यातायात व्यवस्था कार्यालयमा स्वार्थअनुकूल कर्मचारी सरुवा गरिँदा फाजिल कर्मचारीसमेत थुप्रिने गरेको देखिन्छ । केही दिनअघिसम्म बर्दिबास यातायात कार्यालयमा सहायक शाखा अधिकृत ललित यादव फाजिल कर्मचारीका रूपमा कार्यरत थिए ।

जनकपुर यातायात व्यवस्था कार्यालयमा पनि अहिले तीन जना फाजिल कर्मचारी छन् । श्रम तथा यातायात मन्त्रालयले एकजना शाखा अधिकृत र सहायक शाखा अधिकृत फाजिल हुन् । सहायक शाखा अधिकृत धर्मराज पौडेललाई मन्त्रालयले खटाएको छ । शाखा अधिकृतमा सातौँ चन्देश्वर साह छन् । एक जना कार्यालय सहयोगी छन् । साह र पौडेलको दुई वर्षे अवधि पूरा भइसकेको छ । साहको अवकाश अवधि अब केही महिना मात्र बाँकी छ । जनकपुर यातायात कार्यालयका प्रमुख बासुदेव मल्ल भने एकजना शाखा अधिकृत र एकजना कार्यालय सहयोगी मात्र फाजिलमा रहेको दाबी गरेपनि नाम भने खुलाएनन् ।

यस्तै, मलंगवा यातायात कार्यालयमा सहायक शाखा अधिकृत छविन्द्रबहादुर योञ्जन पनि फाजिल कर्मचारीका रूपमा कार्यरत छन् ।

मधेश प्रदेशमा तीन दलीय गठबन्धनको सरकार छ । सरकारमा श्रम तथा यातायात मन्त्रालय एमालेको भागमा परेको छ । मन्त्री थापाले भने कर्मचारी सरुवामा कुनै चलखेल नभएको दाबी गरिन् ।

‘सरुवामा कुनै प्रकारको चलखेल भएको छैन । आवश्यकताका आधारमा कर्मचारीको सरुवा गरिएको हो,’ उनले भनिन्, ‘यसअघि मुख्यमन्त्री कार्यालयले कर्मचारी सरुवा गर्दा मन्त्रालयसँग समन्वय गरेन । यस विषयमा गुनासो गर्दा मुख्यमन्त्री कार्यालयले मन्त्रालयलाई नै उच्च तहका कर्मचारी सरुवा गर्ने अधिकार दिएको हो ।’

सरुवा गरिएका कर्मचारीलाई कुनै पनि प्रकारको बेथितिमा संलग्न नहुन निर्देशनसमेत दिएको मन्त्री थापाको भनाइ छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?