News Summary
Generated by OK AI. Editorially reviewed.- मिथिला क्षेत्रमा गहुँ वा चामलको पिठो र दालबाट बनाइने पुरी विवाह, व्रतबन्ध, छोरी बिदाइ र पर्वमा कोसेली तथा प्रसादका रूपमा प्रयोग हुन्छ ।
- सञ्चारकर्मी प्रतिभा झाले पुरीलाई पूर्णताको प्रतीक बताउँदै ससुराली घरमा छोरी सबैथोकले भरपुर होस् भन्ने माइतीको चाहना रहेको उल्लेख गरिन् ।
- प्राध्यापक प्रमेश्वर कापरीका अनुसार पुरी मिथिलाञ्चलको स्वादसँगै धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको परिकार हो ।
१ कात्तिक, जनकपुरधाम । मिथिला क्षेत्रको रैथाने परिकारमध्ये पुरीको आफ्नै महत्व छ । गहुँ वा चामलको पिठोबाट पुरी बनाउने चलन छ । चना वा मुगको दाल राखेर वा दाल नराखी दुवै तरिकाले पुरी बनाउन सकिन्छ ।
मिथिलाञ्चलमा पुरीको विशेष सांस्कृतिक महत्व छ । मिथिला क्षेत्रमा भार अर्थात् कोसेलीका रूपमा सनेश दिने, कुल देउता र चौठचन्द्रमा प्रसादको रूपमा पुरी चढाउने तथा वितरण गर्ने परम्परा सदियौंदेखि चलिआएको छ ।
कसरी बनाउने ?
पुरी बनाउन सबैभन्दा पहिले पिठोलाई पानी हालेर मुछ्ने, त्यसमा भर्न चना वा मुगको दाल पूरै नगल्ने गरी उसिन्ने र उसिनेको दालको पानी निथारेर फाल्ने । त्यसपछि दालमा आवश्यकताअनुसार नुन मिसाउने । तेलमा खुर्सानी र जिरा तताएर दालमा नै मिसाउने । यसरी पुरीभित्र राख्ने दाल तयार हुन्छ ।
पुरी सामान्य रोटीभन्दा केही सानो र मोटो हुन्छ । यसलाई बनाउन मुछिएको पिठोका साना–साना टुक्रा छुट्याएर रोटी बनाउँदा प्रयोग गरिने ‘लोइया’ बनाउनुपर्छ । लोइयाभित्र तयार पारिएको दाल थोरै राख्नुपर्छ । जसलाई मैथिलीमा ‘फुइट’ भनिन्छ ।
वा ‘चकला’मा राखेर ‘बेलना’ले बेलेर रोटी जस्तो आकार दिनुपर्छ ।
समतल सतह, थाल वा वा ‘चकला’मा राखेर ‘बेलना’ले बेलेर रोटी जस्तो आकार दिनुपर्छ । । पुरीभित्र राखिएको दाल (फुइट) बाहिर नदेखिने गरी पिठोले राम्ररी छोपिएको हुनुपर्छ ।
कराहीमा पुरी डुब्ने गरी खाने तेल राखेर चुलोमा तताइरहनुपर्छ । तेल तातेपछि त्यसमा पुरी राख्नुपर्छ । केहीबेरमा पुरी तयार हुन्छ । यो निकै स्वादिष्ट हुन्छ । दाल नराखी पनि यही विधिबाट पुरी बनाउन सकिन्छ ।
मिथिला र पुरी

विशेषगरी विवाह र व्रतबन्ध जस्ता संस्कारमा अत्यन्त नजिकका आफन्त अर्थात् कुटुम्बको घरबाट मुख्य सनेशका रूपमा पुरी र खिर पठाउने चलन छ । यसरी पठाइएको पुरी सम्बन्धित घरपरिवारले मात्र खाँदैनन्, छिमेकीका घरमा समेत बाँड्ने गरिन्छ । छरछिमेकका घरमा पुरी बाँड्ने यस परम्परालाई ‘बेन’ भनिन्छ ।
पुरी बाँड्ने परम्पराले छरछिमेकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिन्छ । छिमेकीको घरमा आएको पुरीको भार अर्थात् कोसेली र त्यसको आकार र स्वादका बारेमा समेत मधेशका गाँउसमाजमा खुबै चर्चा हुने गर्छ । यसले खानपानलाई पारिवारिक तथा सामाजिक सम्बन्धसँग जोड्ने मिथिलाञ्चलको मौलिक संस्कृतिलाई पनि झल्काउँछ ।
विशेषगरी माइती पक्षले छोरीलाई बिदाइ गरेर ससुराली पठाउने बेला खिर र पुरी दिने चलन छ । पुरीलाई पूर्णताको प्रतीक मानेर बिदाइका बेला छोरीलाई दिने गरिएको चलन रहेको सञ्चारकर्मी प्रतिभा झा बताउँछिन् ।
उनी भन्छिन्, ‘पुरीलाई पूर्णताको प्रतीक मानेर छोरीलाई बिदाइको बेला सनेशको रूपमा दिने गरिएको छ । यसले ससुराली घरमा छोरी सबैथोकले भरपुर होस् भन्ने माइतीको चाहना हो । सबथोक ‘भरल पुरल’ होस् भन्ने हो ।’
विवाहअघि बेहुला वा बेहुलीको घरमा हुने मटकोरमा पनि पुरी अनिवार्य परिकार हो । त्यसरी तयार गरिएको पुरी घरमा पाहुनालाई बाँडिन्छ । मटकोर समापनपछि पुरी बाड्ने चलन छ ।
मिथिलाञ्चलमा घरका कुलदेवताको पूजाआजा तथा पर्वका अवसरमा पनि पुरी चढाउने परम्परा छ । कुलदेवताको पूजा ‘घडी पवनी’ र चौठचन्द्र पर्वमा पुरी अनिवार्य चढाइन्छ । त्यसरी तयार पारिएको पुरी घरपरिवारसँगै प्रसादको रूपमा ग्रहण गर्नुका साथै छरछिमेकमा पनि वितरण गर्ने चलन छ ।

मैथिली साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक प्रमेश्वर कापरीका भनाइमा पुरी पूर्णतासँगै शीतलताको प्रतीक पनि हो ।
‘पुरी चौठचन्द्रमा चन्द्रमालाई चढाइन्छ । त्यसकारण शीतलताको प्रतीक पनि मानिन्छ,’ उनी भन्छन्, ‘पुरीमा ‘फुइट’ को रूपमा दाल राखिन्छ । र, त्यसलाई पुरेर बनाइन्छ । त्यसकारण र अर्को पुर अर्थात् भरपुर । पुरी खाएपछि अघाइन्छ । मन भरिन्छ । त्यसकारण पनि यसलाई पुरी भन्ने गरिन्छ ।’
पुरीभित्र दाल राखिएको कारण पुरी यत्तिकै अथवा तरकारी, अचार, खिर, दही जस्ता खानेकुरासँग खाने गरिन्छ । रैथाने परिकार पुरीको उपयोग कोसेली अथवा घरको पूजाअर्चनामा मात्र सीमित छैन । व्यावसायिक रूपमा पनि पुरीको प्रयोग बढ्दो छ । होटेल तथा खाजा पसलमा प्राय: दाल बिनाको पुरी बनाइएको हुन्छ । मिथिला क्षेत्रमा यसलाई छानेको सोहारी पनि भनिन्छ । तर दाल राखेर तयार पारिएको पुरीलाई सोहारी भनिँदैन ।
जनकपुरधाम रामचोकका केही खाजा पसलमा यस्तो पुरीको व्यवसाय फस्टाएको छ । त्यहाँको पुरी पसलहरूमा बिहानै पारखीहरू आउँछन् । र, तात्तातो पुरी तरकारीसँग खाने गर्छन् ।
साहित्यकार तथा संस्कृतिविद् प्राध्यापक कापरी भन्छन्, ‘पुरी मिथिलाञ्चलको स्वादसँग मात्र नभई यहाँको धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोडिएको परिकार हो ।’
प्रतिक्रिया 4