+
+
Shares

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते ६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिथि वृद्धि भएर कात्तिक १ र २ दुवै दिन महाअष्टमी परेको जनाएको छ।
  • समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईले कात्तिक २ गते पनि कात्तिक १ कै महाअष्टमी कर्म दोहोर्‍याउनुपर्ने बताएका छन्।
  • हनुमानढोकामा राज्यका तर्फबाट कालरात्रि पूजा कात्तिक २ गते सोमबार राति गर्ने निर्णय गरिएको छ।

२ कात्तिक, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन महाअष्टमी परेको जनाएको छ । त्यसैले आज पनि हिजो जस्तै महाअष्टमीको कर्म दोहोर्‍याउन समितिले सुझाव दिएको छ ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैं घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले बताए ।

‘कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ,’ प्रा.डा. भट्टराईले भने, ‘दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ ।’ अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोेर्‍याउनुपर्ने उनले बताए ।

समितिले स्वीकृति दिएका पात्रोमा आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने उल्लेख गरिएको छ ।

विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।

हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति

राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन् ।

हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको उनले बताइन् ।

हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ ।

मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?