News Summary
Generated by OK AI. Editorially reviewed.- बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
- असोज २५ गते घटस्थापना गरी दशैंघर तथा पूजाकोठामा जौको जमरा राखेर नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्परा सुरु गरिएको थियो ।
- नवरात्रमा देशभरका शक्तिपीठ र देवी मन्दिरमा भक्तजनको भीड लागेको छ ।
१ कात्तिक, काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ । यस अवसरमा दशैंघर तथा पूजाकोठामा महागौरीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा गरिन्छ ।
महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दशैंघर तथा पूजाकोठामा जौको जमरा राखिएको थियो । सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो ।
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको थियो । सातौँ दिन हिजो दशैंघरमा फूलपाती भित्र्याउने परम्पराअनुसार फूलपाती भित्र्याइएको थियो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ । देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।
नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ । यसरी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्परा छ ।
नवरात्रमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठमा नवरात्रका अवसरमा भक्तजनको चहलपहल बढेको छ ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउँछन् ।
प्रतिक्रिया 4