News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता टाइगर श्राफमाथि साँझ करिब ७ बजे टाइगर फुटबल क्लबबाट निस्कँदै गर्दा पाँच राउन्ड गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
- आक्रमणमा तीन जना संलग्न रहेको र उनीहरूले पल्सर मोटरसाइकलमा आएर टाइगर बसेकै दिशामा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्।
- गोली चल्दा गाडीभित्र निहुरिएर बसेका टाइगर गोली लाग्नबाट जोगिएर आफैँले गाडी चलाएर अस्पताल पुगेका थिए।
- गोली प्रहारपछि अभिनेत्री दिशा पटानी टाइगरलाई भेट्न उनको घर पुगेकी छन्।
घटना साँझ करिब ७ बजे भएको हो । टाइगर फुटबल क्लबबाट निस्कँदै थिए । यत्तिकैमा उनको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार भयो । टाइगरलाई लक्षित गरेर पाँच राउन्ड गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुरुमा टाइगर सुरक्षित रहेको बताइए पनि पछि सार्वजनिक भएका उनका तस्बिरमा त्यस्तो देखिएन । उनको छाती र हातमा पट्टी बाँधिएको देखिएको छ ।
टाइगर बसेकै दिशामा गोली चलाए
घटनाका बेला त्यहाँ टाइगरका प्रशंसक शाहरुख शेख पनि उपस्थित थिए । टाइगर फुटबल खेल्न आएको थाहा पाएपछि उनी अभिनेतासँग तस्बिर खिचाउन त्यहीँ रोकिएका थिए ।
शाहरुखका अनुसार आक्रमणमा तीन जना संलग्न थिए । तीमध्ये एक जनाले मोटरसाइकल चलाइरहेका थिए भने अन्य दुई जनाले गोली प्रहार गरेका थिए । उनीहरू पल्सर मोटरसाइकलमा आएका थिए । गोली चल्दा टाइगर गाडीभित्र चालकको बायाँपट्टि बसेका थिए । आक्रमणकारीले त्यही दिशामा लक्षित गरेर गोली चलाएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार त्यहाँ वडापाव बेच्ने व्यक्तिले पनि आक्रमणकारीको मोटरसाइकल करिब आधा घण्टासम्म रोकिएको जानकारी दिएका थिए ।आक्रमणकारीले टाइगर बसेको दिशामा गोली चलाएपछि गाडीको अगाडितर्फबाट पनि गोली प्रहार गरेका थिए । त्यसपछि उनीहरू घटनास्थलबाट फरार भएका थिए ।
गोली चल्न थालेपछि टाइगर गाडीभित्र निहुरिएर बसेका थिए । त्यसैले उनी गोली लाग्नबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् । गाडीमा तीन जना सवार थिए । चालकलाई गोली लागेपछि गाडीमा रहेका अर्का व्यक्तिले चालकको सिट सम्हालेका थिए । त्यसपछि टाइगर आफैँले गाडी चलाएर अस्पताल पुगेका थिए ।
टाइगरलाई भेट्न पुगिन् दिशा पटानी
अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको खबर सार्वजनिक भएपछि अभिनेत्री दिशा पटानी उनलाई भेट्न टाइगरको घर पुगेकी छन् । सामाजिक सञ्जालमा दिशाका भिडियो तीव्र गतिमा भाइरल भइरहेका छन् ।
दिशा र टाइगर लामो समयदेखि निकट साथीका रूपमा रहँदै आएका छन् । दुवैले सँगै विभिन्न प्रोजेक्टमा काम गरेका छन् । उनीहरूको निजी जीवनलाई लिएर पनि बेलाबखत चर्चा हुने गरेको छ । यद्यपि, दुवैले सार्वजनिक रूपमा आफ्नो सम्बन्धबारे कहिल्यै पुष्टि गरेका छैनन् ।
यसअघि पनि बलिउड कलाकारमाथि भएका थिए आक्रमण
पछिल्लो समय फिल्म उद्योगसँग सम्बन्धित विभिन्न कलाकारमाथि आक्रमण भएका छन् । कतिपय कलाकार आक्रमणकारीको निशानामा समेत परेका छन् ।
यसमा अभिनेता सलमान खानको घटना प्रमुख रूपमा उल्लेख गरिन्छ । सन् २०२४ को अप्रिलमा मुम्बईस्थित सलमान खानको घरबाहिर गोली प्रहार भएको थियो । यस घटनामा प्रहरीले दायर गरेको आरोपपत्रमा कुख्यात अपराधी लरेन्स बिश्नोईको नाम पटकपटक उल्लेख गरिएको थियो ।
त्यसैगरी, सन् २०२५ को जनवरीमा अभिनेता सैफ अली खानमाथि आफ्नै घरभित्र चक्कु प्रहार भएको थियो । उक्त घटनामा घाइते भएका उनको शल्यक्रियासमेत गर्नुपरेको थियो । यसअघि सन् २०२४ मा टेलिभिजन कार्यक्रम ‘क्राइम पेट्रोल’मा काम गरिसकेका कलाकार राघव तिवारीमाथि पनि सडकमा भएको विवादका क्रममा आक्रमण गरिएको आरोप लागेको थियो ।
को हुन् टाइगर श्राफ ?
टाइगर श्राफ बलिउडका चर्चित अभिनेता तथा मार्सल आर्टका खेलाडी हुन् । उनको वास्तविक नाम जय हेमन्त श्राफ हो । सन् १९९० मार्च २ मा भारतको मुम्बईमा जन्मिएका उनी अभिनेता ज्याकी श्राफ र निर्माता आयशा दत्तका छोरा हुन् ।
‘बागी’, ‘बागी २’, ‘वार’, ‘ए फ्लाइङ जट्ट’, ‘स्टुडेन्ट अफ द इयर २’ र ‘बडे मियाँ छोटे मियाँ’ उनका चर्चित चलचित्र हुन् । एक्सन दृश्यमा आफ्नै शारीरिक कौशल प्रस्तुत गर्ने क्षमताले उनलाई बलिउडमा छुट्टै पहिचान दिएको छ । उनी मार्सल आर्ट र फिटनेसमा विशेष रुचि राख्छन् ।
प्रतिक्रिया 4