News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनजङ्घा बेस क्षेत्रमा असोजदेखि मंसिर र चैतदेखि वैशाखसम्म पदयात्रा सिजन चल्दा स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढेको छ।
- घुन्साका कर्मचारी टासि तेन्जीक शेर्पाका अनुसार यो सिजनमा अधिकांश विदेशी पर्यटक आइरहेका छन् भने नेपाली पर्यटक सानो संख्यामा पुगेका छन्।
- यो सर्किट पूरा गर्न १६ देखि २० दिन लाग्छ, र उत्तरी पाङपेमा तथा दक्षिणी ओक्ताङ बेसक्याम्प पुग्न सेलेले पास क्रस गर्नुपर्छ।
४ कात्तिक, पाँचथर । कञ्चनजङ्घा बेस क्षेत्रमा पदयात्रा गर्ने सिजन चलिरहेको छ । यो क्षेत्रका व्यवसायीहरुका अनुसार यो बेला पदमार्ग क्षेत्रमा पर्यटकको चहलपहल बाक्लो रहेको छ । स्वदेशी र विदेशी पर्यटकहरु यो क्षेत्र घुमिरहेका छन् ।
विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो कञ्चनजङ्घा पदमार्ग विदेशीका लागि रुचिको गन्तव्य हो । अन्यत्र जस्तो भिडभाड नहुने, हिमाली सौन्दर्यताका साथै जनजीवनलाई नजिकबाट नियाल्न मिल्ने तथा उत्तर–दक्षिणी बेसक्याम्प पुग्न मिल्ने भएकाले पनि यो क्षेत्र घुम्न रुचिकर मानिन्छ ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रको घुन्सामा कार्यरत कर्मचारी तथा टासि तेन्जीक शेर्पाका अनुसार यो सिजनमा राम्रै संख्यामा पर्यटक आइरहेका छन् । ‘धेरैजसो विदेशी पर्यटक छन् । नेपालीहरु पनि सानो सानो संख्यामा आइरहेका छन्,’ उनले भने ।
उत्तरी र दक्षिणी क्षेत्रमै पर्यटक पुगिरहेका छन् । उत्तरमा पाङपेमा बेसक्याम्प र दक्षिणमा ओक्ताङ बेस क्याम्प रहेका छन् । ५ हजार १ सय ४२ मिटरको उचाइमा उत्तरी बेसक्याम्प र ४ हजार ७ सय ३० मिटरको उचाइमा दक्षिणी बेसक्याम्प रहेको छ ।
यो सर्किट पुरा गर्नका लागि १६ देखि २० दिन लाग्छ । सेलेले पास क्रस गरेर दुबै क्षेत्रको बेस क्याम्प पुग्न सकिन्छ ।

८ हजार ५ सय ८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घामा हिमालमा पहिलोपल्ट १९५५ मे २५ मा आरोहण भएको पाइन्छ ।
कञ्चजनजंघा मध्य, कञ्चनजंघा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभारा जस्ता हिमालहरु यही क्षेत्रमा रहेका छन् ।

यहाँ पर्यटकलाई लक्षित होटल तथा चिया पसलहरु बनेका छन् । सिजनले व्यवसायीहरु व्यस्त छन् ।
अन्यत्रका लागि बुकिङ भएका पर्यटक पनि यता डाइभर्ट भएको लोनाकका व्यवसायी सेराप शेर्पा बताउँन् ।
यहाँका विभिन्न बस्ती आकर्षक छन् । बाटोमा याक, चौरी, ब्लुसिप देख्न पाइन्छ ।
ताप्लेजुङ सदरमुकामबाट एकदिनको गाडी यात्रा पछि पदयात्रा सुरु हुन्छ । असोज–मसिर र चैत–बैशाख यो क्षेत्र घुम्ने सिजन मानिन्छ ।

प्रतिक्रिया 4