News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले फ्रान्समा भएको हिंसात्मक प्रदर्शनबारे विदेशी नेताहरूका टिप्पणीलाई अस्वीकार्य र मूर्खतापूर्ण बताएका छन्।
- म्याक्रोंले विदेशी हस्तक्षेप वा आप्रवासीका कारण दङ्गा भड्किएको भन्ने कुनै प्रमाण नरहेको र झुटा कथाहरू फैलाइएको बताए।
- महँगी र जीवनयापन लागतविरुद्ध सुरु भएको प्रदर्शन पेरिस, मार्सेई, लियोन र लिमोजमा हिंसा र लुटपाटमा परिणत भएपछि पेरिसका केही भागमा प्रतिबन्ध लगाइने भएको छ।
५ कात्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो देशमा भएको हिंसात्मक विरोध प्रदर्शनबारे विदेशी नेताहरूले गरेका टिप्पणीलाई अस्वीकार्य र मूर्खतापूर्ण बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणीहरू र अरू कैयौं नेताहरूले फ्रान्समा भएको हिंसाका लागि कथित रूपमा आप्रवासीहरूलाई जिम्मेवार ठहराएका थिए।
ट्रम्पको रिपब्लिकन पार्टीले दुई सातापछि मध्यावधि निर्वाचनको सामना गर्दैछ। यसैबीच, अमेरिकी राष्ट्रपतिले शनिबारदेखि फ्रान्समा भड्किएको हिंसा र लुटपाटको घटनालाई बारम्बार उल्लेख गरिरहेका छन्।
ट्रम्पले मतदाताहरूलाई चेतावनी दिँदै भनेका थिए, ‘तपाईंहरू फ्रान्सलाई मात्र हेर्नुस्।’
उनले हिंसाका लागि आप्रवासीहरूलाई दोष दिँदै ‘पेरिस धेरै छिट्टै मुस्लिम सहर बन्ने’ दाबी गरेका थिए।
म्याक्रोंले के भने ?
म्याक्रोंले बुधबार भनेका छन्, ‘विदेशी हस्तक्षेपका कारण दङ्गा भड्किएको भन्ने कुनै प्रमाण छैन।’
कतार भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोंले भने, ‘प्रदर्शनसँग जोडिएका सूचनाहरूलाई विदेशी स्तरमा तोडमोड गरिएको छ। यसैका कारण कैयौँ विदेशी नेताहरूले यस्ता टिप्पणी गरेका छन्, जुन पूर्ण रूपमा अस्वीकार्य र मूर्खतापूर्ण छन्।’
म्याक्रोंले थपे, ‘हामीले एआईबाट तयार पारिएका यस्ता तस्बिरहरू देखेका छौं, जसमा फ्रान्समा कहिल्यै नभएका दृश्यहरू देखाइएका छन्। केही मानिसहरूले आप्रवासी र अतिवादी इस्लामवादीहरूको ठूलो भिडले फ्रान्समाथि आक्रमण गरेको दाबी गरेका छन्, जबकि यो पूर्ण रूपमा झुटो हो।’
उनले भने, ‘हाम्रो देशलाई प्रयोग गरेर मानिसहरूले आफ्नो राजनीतिक अभियान चलाइरहेका छन्, चाहे ती यसै क्षेत्रका होऊन् वा आन्ध्र महासागरपारिका ।’
यो साताको अन्त्यमा देशमा थप विरोध प्रदर्शन हुन सक्ने आशङ्काका बीच म्याक्रोंको यो भनाइ आएको हो।
के तपाईंको इसारा डोनाल्ड ट्रम्पतर्फ हो भनी सोधिएको प्रश्नमा म्याक्रोंले जवाफ दिए, ‘अन्य व्यक्तिहरूसँगै उनी पनि हुन्।’
म्याक्रोंले दोहामा पत्रकारहरूसँग भने, ‘यस क्षेत्र वा आन्ध्र महासागरपारिका केही नेताहरूले चुनाव प्रचारका क्रममा केही समूहले फैलाउन खोजेका झुटा कथाहरूलाई निकै निर्दोष रूपमा अगाडि बढाइरहेका छन्।’
फ्रान्सेली राष्ट्रपतिले भने, ‘उनीहरू आफ्नो राजनीतिक अभियानका लागि हाम्रो देशको प्रयोग गरिरहेका छन्। हामीलाई यसको आवश्यकता छैन। हाम्रासामु सामना गर्नुपर्ने अन्य धेरै सङ्कटहरू पहिल्यैदेखि छन्।’
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि फ्रान्समाथि ‘कट्टरपन्थी इस्लामको आक्रमण’ भएको दाबी गरेका थिए। यद्यपि, फ्रान्सको विरोध प्रदर्शनको मुख्य कारण आप्रवासीहरू हुन् भन्ने दाबीलाई विश्लेषकहरूले खारेज गरेका छन्।
फ्रान्समा किन भइरहेको छ प्रदर्शन ?
म्याक्रों र उनको सरकार यस सङ्कटसँग जुध्न सङ्घर्ष गरिरहेका छन्। आगामी राष्ट्रपतीय निर्वाचन भन्दा ६ महिनाअघि यो सङ्कट देखा परेको हो।
गत शनिबार ठूलो मात्रामा भएको दङ्गाका क्रममा सरकारले नियन्त्रण गुमाएको कुरा स्वीकार गरेको छ। महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको ठूलो प्रदर्शन सुरुवातमा निकै हदसम्म शान्तिपूर्ण थियो, तर चाँडै नै यो व्यापक हिंसा र लुटपाटमा परिणत भयो।
पेरिस, मार्सेई, लियोन र लिमोज सहरहरूमा अवस्था विशेष रूपमा गम्भीर रह्यो। लिमोजमा सिटी हलको भवनमा आगो लगाइएको थियो, जसका कारण त्यसको एक भाग नष्ट भएको छ।
प्रहरीले बिहीबार पेरिसका केही भागहरूमा विरोध प्रदर्शनमा प्रतिबन्ध लगाइने बताएको छ। सहरमा फेरि प्रदर्शन हुन सक्ने आशङ्काका बीच यो निर्णय लिइएको हो।
बिहान ८ बजेदेखि राति ८ बजेसम्म लागू हुने यो प्रतिबन्ध प्रमुख स्थलहरूमा प्रभावी हुनेछ। यसमा राष्ट्रपतिको आधिकारिक निवास ‘एलिसी प्यालेस’, संसद्का दुवै सदन र पर्यटकहरूको प्रमुख आकर्षण ‘लुभ्र सङ्ग्रहालय’ का साथै स्याँज-एलिजे जस्ता ठाउँहरू समावेश छन्।
(बीबीसीबाट)
प्रतिक्रिया 4