+
+
Shares

शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द

अमेरिका र जापानको संयुक्त सैन्य अभ्याससमेत प्रभावित

यस वर्ष प्रशान्त महासागर क्षेत्रमा देखिएका शक्तिशाली आँधीमध्ये चम्पी एक हो । सुरुमा यो ‘सुपर टाइफुन’ बनेको थियो । बिहीबार यसको शक्ति केही कमजोर भए पनि केन्द्र नजिक हावाको गति २२७ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको ताइवानको केन्द्रीय मौसम विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ५ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शक्तिशाली समुद्री आँधी चम्पीका कारण ताइवानले बिहीबार स्थल क्षेत्रमा चेतावनी जारी गरेको छ र जापान तथा ताइवानमा २०० भन्दा बढी उडान रद्द भएका छन्।
  • ताइवानको केन्द्रीय मौसम विभागले चम्पी केन्द्र नजिक २२७ किलोमिटर प्रतिघण्टाभन्दा बढी हावाको गति र तटीय क्षेत्रमा ६ मिटरभन्दा अग्ला छाल आउन सक्ने चेतावनी दिएको छ।
  • आँधीले ताइवाननजिकका जापानी टापुहरूमा भइरहेको अमेरिका र जापानको संयुक्त सैन्य अभ्यास ‘किन स्वोर्ड’ पनि प्रभावित भएको छ।

५ कात्तिक, काठमाडौं । शक्तिशाली समुद्री आँधी चम्पीको प्रभाव देखिएपछि ताइवानले बिहीबार स्थल क्षेत्रमा समेत चेतावनी जारी गरेको छ । आँधीका कारण ताइवान र जापानमा २०० भन्दा बढी उडान रद्द भएका छन् । अमेरिका र जापानको संयुक्त सैन्य अभ्याससमेत प्रभावित भएको छ ।

यस वर्ष प्रशान्त महासागर क्षेत्रमा देखिएका शक्तिशाली आँधीमध्ये चम्पी एक हो । सुरुमा यो ‘सुपर टाइफुन’ बनेको थियो । बिहीबार यसको शक्ति केही कमजोर भए पनि केन्द्र नजिक हावाको गति २२७ किलोमिटर प्रतिघण्टाभन्दा बढी रहेको ताइवानको केन्द्रीय मौसम विभागले जनाएको छ ।

मौसम प्रशासनका अनुसार आँधी ताइवानको दक्षिणी टुप्पोबाट करिब ५२० किलोमिटर दक्षिणपूर्वमा छ । यसको सम्भावित मार्गले ताइवानको उत्तरपूर्वी भाग हुँदै चीनको तटीय क्षेत्रतर्फ मोडिने र अन्तत: जापानको दक्षिणी भागमा प्रवेश गर्ने देखाएको छ ।

आँधीको प्रभाव क्षेत्रसमेत विस्तार भएर करिब ३२० किलोमिटर पुगेको छ । यसले ताइवानको अधिकांश भूभागलाई प्रभावित पार्न सक्ने र यसको असर झन्डै दुई दिनसम्म रहन सक्ने मौसमविद्हरूले बताएका छन् ।

तटीय क्षेत्रमा ६ मिटरभन्दा अग्ला छाल आउन सक्ने चेतावनी मोबाइल फोनमार्फत जारी गरिएको छ । त्यस्तै, उत्तरी ताइवानका पहाडी क्षेत्रमा, राजधानी ताइपेई आसपाससमेत, करिब एक मिटर वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

ताइवानका राष्ट्रपति लाइ चिङ–तेले सर्वसाधारणलाई आँधीको सामना गर्न तत्काल तयारी गर्न आग्रह गरेका छन् । उनले पहाडी तथा तटीय क्षेत्रमा नजान पनि सर्वसाधारणलाई सचेत गराएका छन् ।

‘अलिकति बढी तयारीले जोखिम कम गर्छ,’ उनले फेसबुकमा लेखेका छन् ।

ताइवान र जापानमा  उडान प्रभावित

आँधीका कारण ताइवानमा बिहीबार १२५ उडान रद्द भएका छन् । तीमध्ये अधिकांश आन्तरिक उडान रहेको यातायात मन्त्रालयले जनाएको छ । तर, रेल सेवा भने अहिलेसम्म प्रभावित भएको छैन ।

ताइवानको गृह मन्त्रालयका अनुसार बिहीबारसम्म बासिन्दालाई सुरक्षित स्थानमा सारिएको विवरण प्राप्त भएको थिएन ।

ताइवानमा सामान्यतया आँधीको पूर्वतयारी राम्रो हुने भएकाले मानवीय क्षति तुलनात्मक रूपमा कम हुने गरेको छ । गर्मीयाममा बढी देखिने यस्ता आँधी शरद ऋतुमा पनि आउन सक्छन्, जसले तीव्र हावा र भारी वर्षा निम्त्याउँछन् ।

चम्पी जापानको ओकिनावा प्रान्तअन्तर्गतको पश्चिमी बस्ती रहेको टापु योनागुनी हुँदै अघि बढ्ने पूर्वानुमान गरिएको छ ।

आँधीको प्रभावका कारण जापानका प्रमुख विमान सेवा कम्पनी जापान एयरलाइन्स, एएनए र स्काइमाक्रले बिहीबारदेखि आइतबारसम्मका १०० भन्दा बढी उडान रद्द गरेका छन् । यसबाट ११ हजारभन्दा बढी यात्रुको यात्रा प्रभावित हुने भएको छ ।

अमेरिका–जापानको सैन्य अभ्यासमा असर

आँधीले ताइवाननजिकका जापानी टापुहरूमा भइरहेको अमेरिका र जापानको संयुक्त सैन्य अभ्यास ‘किन स्वोर्ड’ लाई समेत प्रभावित पारेको छ ।

हरेक दुई वर्षमा आयोजना हुने यो अभ्यासमा स्थल, जल र हवाई सैन्य कारबाहीबीच समन्वय, क्षेप्यास्त्र प्रतिरक्षा तथा समुद्री तटमा सैनिक उतार्ने अभ्यास गरिन्छ ।

गत सोमबार सुरु भएको यस अभ्यासमा जापान र अमेरिकाका करिब ५६ हजार सैनिक सहभागी छन् । फिलिपिन्स र अस्ट्रेलियासहित अन्य पाँच देशका सैनिक बलसमेत अभ्यासमा सहभागी छन् ।

अमेरिकी सेनाले सबै सहभागीको सुरक्षालाई ध्यानमा राख्दै दैनिक रूपमा अभ्यासका गतिविधिमा आवश्यक परिवर्तन गरिरहेको जनाएको छ ।

आँधीको सम्भावित मार्ग र तीव्र वर्षाका कारण ताइवान तथा जापानका तटीय र पहाडी क्षेत्रमा जोखिम बढेको छ । हवाई यातायातसँगै सैन्य गतिविधिसमेत प्रभावित भएपछि दुवै क्षेत्रमा आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिएको छ ।

पश्चिमी प्रशान्त महासागरको माइक्रोनेसिया क्षेत्रनजिक विकसित भएको सुपर टाइफुन चम्पी सन् २०२६ कै शक्तिशाली समुद्री आँधीमध्ये एक रहेको विज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?