News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुम छथर गाउँपालिका–६ सुदापका पृथ्वीमान लिम्बूले ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन्।
- प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका प्रमुख लिम्बूले आफ्नै कमाइबाट करिब १० लाख रुपैयाँ खर्चेर १ कात्तिक बिहान ७:१० बजे शिखर पुगेका हुन्।
- लिम्बूले हिमाली क्षेत्रमा सुरक्षित पदमार्ग, भरपर्दा साँघु र आधारभूत पूर्वाधार विकास भए साहसिक पर्यटन प्रवर्द्धन हुने बताए।
५ कात्तिक, तेह्रथुम । सरकारी सेवा जिम्मेवारीसँगै व्यक्तिगत रुचि र साहसिक यात्रा अघि बढाउँदै तेह्रथुम छथर गाउँपालिका–६ सुदापका पृथ्वीमान लिम्बूले ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन् ।
प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख समेत रहेका आठौं तहका वरिष्ठ लेखा अधिकृत लिम्बूले आफ्नै कमाइबाट करिब १० लाख रुपैयाँ खर्च गरेर मेरापिक चुचुरो चुमेका हुन् ।
कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र चुनौतीपूर्ण पदमार्ग पार गर्दै हिमालको शिखर पुग्नु उनका लागि व्यक्तिगत सपना पूरा हुनुमात्र होइन, नयाँ अनुभव हासिल गर्ने अवसर समेत बनेको छ ।
१ कात्तिक बिहान ७:१० बजे पर्वतारोहण गाइड सिङ्गी लामाका साथ मेरापिक चुचुरो पुगेका लिम्बूले हिमाली क्षेत्रको मौसम, प्राकृतिक अवस्था, सामाजिक–आर्थिक जीवन र सांस्कृतिक परिवेश अध्ययन गर्ने अवसर पाएको बताए ।
हिमाल आरोहणअघि पनि उनले विभिन्न हिमाली क्षेत्रमा पदयात्रा गरिसकेका थिए । २०८२ फागुनमा उनी केबिन शाक्यसँग कास्कीमा रहेको करिब ४ हजार ५ सय मिटर उचाइको मार्दी हिमाल बेसक्याम्प पुगेका थिए । त्यसपछि गत जेठमा तत्कालीन मालपोत कार्यालय तथा भूमि व्यवस्था कार्यालय तेह्रथुम प्रमुख प्रदीप राईसँग सोलुखुम्बुको सगरमाथा क्षेत्रको पदयात्रा गरेका थिए ।
उक्त यात्रामा उनले ५ हजार ३ सय ६४ मिटर उचाइको एभरेस्ट बेसक्याम्प, ५ हजार ६ सय ४४ मिटरको कालापत्थर, ५ हजार ४ सय २० मिटरको चोला पास र करिब ५ हजार ३ सय मिटर उचाइमा रहेको गोक्यो पोखरीसम्मको यात्रा गरेका थिए ।
विभिन्न हिमाली गन्तव्य र बेसक्याम्पसम्म पुगेपछि हिमाल आरोहण गर्ने उत्सुकता बढ्दै गएको र त्यसैलाई निरन्तरता दिँदै मेरापिक आरोहणको योजना बनाएको उनले बताए ।
हिमाली क्षेत्रको यात्राले प्राकृतिक सुन्दरता नियाल्ने मात्र नभई त्यहाँको मौसम, भौगोलिक अवस्था, स्थानीय समुदायको जीवनशैली तथा सामाजिक, आर्थिक र सांस्कृतिक पक्ष बुझ्ने अवसर पाएको लिम्बूले बताए ।
यस्ता यात्राबाट प्राप्त अनुभवले मानिसको सोचाइको दायरा फराकिलो बनाउनुका साथै कठिन परिस्थिति सामना गर्न, धैर्य कायम राख्न र नयाँ कुरा सिक्नसमेत सहयोग पुर्याएको उनको अनुभव छ ।
हिमाली यात्राका क्रममा उनले प्राकृतिक सुन्दरतासँगै पदमार्ग र पूर्वाधार सम्बन्धी चुनौती पनि अनुभव गरेका छन् । कतिपय स्थानमा जीर्ण साँघु, असहज बाटो र आवश्यक पूर्वाधार अभावले पर्यटक तथा आरोहीको यात्रा कठिन हुने गरेको उनको भनाइ छ ।
हिमाली क्षेत्रमा सुरक्षित पदमार्ग, भरपर्दा साँघु र आवश्यक आधारभूत पूर्वाधार विकास गर्न सके साहसिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए । यसले पर्यटक आवागमन बढाउनुका साथै स्थानीय समुदायमा रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि विस्तार गर्नसमेत सहयोग पुग्ने उनको धारणा छ ।
नेपालमा हिमाल आरोहणलाई प्राय: साहसी पर्वतारोहीको गतिविधिका रूपमा मात्र हेर्ने गरिए पनि यसलाई ज्ञान, सिप र अनुभव अभिवृद्धिको माध्यमका रूपमा लिनुपर्ने लिम्बूको बुझाइ छ ।
सरकारी सेवामा आबद्ध व्यक्तिले पनि आफ्नो नियमित जिम्मेवारीसँगै व्यक्तिगत रुचि र क्षमता विकास गर्न सक्ने भन्दै हिमाल आरोहणमा रुचि राख्ने कर्मचारीलाई प्रदेश तथा संघीय सरकारले आवश्यक अवसर, प्रोत्साहन र सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
सरकारी कर्मचारीको मुख्य जिम्मेवारी सेवा प्रवाह र संस्थागत काम भए पनि व्यक्तिगत क्षमता विकासका अवसरलाई महत्त्व दिन सके त्यसबाट प्राप्त अनुभव व्यावसायिक जीवनमा समेत उपयोगी हुन सक्ने उनको भनाइ छ ।
आफ्नै कमाइबाट ठूलो रकम खर्चेर मेरापिक आरोहण गरेका लिम्बूको यात्रा व्यक्तिगत इच्छाशक्ति, निरन्तर प्रयास र नयाँ अनुभवप्रतिको रुचिको उदाहरण बनेको छ ।
हिमाल चुचुरो चुम्नु उनका लागि लक्ष्य प्राप्तिमात्र नभई नेपालको साहसिक पर्यटनको सम्भावना, हिमाली क्षेत्रका चुनौती र आवश्यक पूर्वाधार विकासबारे ध्यानाकर्षण गराउने अवसर समेत बनेको छ ।
हिमाल आरोहणपछि हिमाली क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चार, इन्टरनेट, बस्नका लागि होटल व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । साहसिक यात्रा सुरक्षित र सहज बनाउन आवश्यक पूर्वाधार विकास तथा रुचि भएका व्यक्तिलाई प्रोत्साहन गर्न सके नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने छ ।
लिम्बूको यात्रा इच्छाशक्ति, निरन्तर प्रयास र नयाँ कुरा सिक्ने चाहनाले मानिसलाई आफ्नो नियमित जिम्मेवारीभन्दा बाहिर पनि नयाँ उपलब्धि हासिल गर्न प्रेरित गर्न सक्छ भन्ने उदाहरण बनेको छ ।
प्रतिक्रिया 4