News Summary
Generated by OK AI. Editorially reviewed.- रुसले युक्रेन युद्ध अन्त्यबारे अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ।
- क्रेमलिनका सहयोगी युरी उशाकोभले नोभेम्बर १० आसपास वार्ता हुन सक्ने र सुरक्षा व्यवस्था प्रमुख विषय हुने बताएका छन्।
- कूटनीतिक प्रयासबीच युक्रेनमा रुसी आक्रमण जारी रहँदा किएभ र खार्किभमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
५ कात्तिक, काठमाडौं । रुसले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र युक्रेनसँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले प्रस्तुत गरेको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत विटकफबीच बुधबार रुसको सेन्ट पिटर्सबर्गमा तीन घण्टाभन्दा लामो वार्ता भएको थियो । उक्त भेटमा युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव, युद्धपछिको सुरक्षा व्यवस्था र रुस-अमेरिकाबीच आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो ।
क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार रुस नोभेम्बर १० आसपास त्रिपक्षीय वार्ता पुनः सुरु गर्न तयार छ । उनका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था प्रमुख विषय हुनेछ ।
यद्यपि, ओस्लोमा अमेरिकी र युक्रेनी पक्षबीच भएको छलफलबाट आएका प्रस्तावमा द्वन्द्व समाधानका लागि पर्याप्त उपयोगी विषय नरहेको उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने प्रयास अहिलेसम्मकै महत्त्वपूर्ण चरणमा पुगेको बताएका छन् । विटकफले पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नर्वेको ओस्लोमा भएको भेटलाई रचनात्मक बताएका थिए । उनका अनुसार युद्ध अन्त्यका लागि आधार तयार पार्ने दिशामा प्रगति भएको छ ।
युक्रेन पनि त्रिपक्षीय वार्ताका पक्षमा
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता गर्नुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । ओस्लोमा विटकफसँग भएको भेटमा युद्ध अन्त्य गर्ने सम्भावित रूपरेखा र अमेरिका-युक्रेनबीचका मतभेद कम गर्ने विषयमा छलफल भएको थियो ।
वार्तामा ट्रम्पका ज्वाइँ जारेड कुसनरले पनि दूरसञ्चार माध्यमबाट सहभागिता जनाएका थिए । अमेरिकी पक्षले युद्ध अन्त्यका लागि तयार पारिएका प्रस्ताव रुसी नेतृत्वसमक्ष प्रस्तुत गरेको जनाएको छ ।
तर, वार्ताको मिति र स्थानबारे अन्तिम निर्णय भइसकेको छैन । रुसी पक्षले नोभेम्बरको मध्यतिर वार्ता हुन सक्ने संकेत दिएको छ । युद्धविरामका सर्त, क्षेत्रीय विवाद र युद्धपछिको सुरक्षा प्रत्याभूतिमा दुवै पक्षबीच सहमति जुटाउनुपर्नेछ ।
वार्ताकै बीच युक्रेनमा आक्रमण

कूटनीतिक प्रयास भइरहँदा युक्रेनमा रुसी आक्रमण जारी छ । युक्रेनी अधिकारीहरूका अनुसार राजधानी किएभमा दुई जनासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । पूर्वी खार्किभ क्षेत्रमा एक वृद्ध दम्पतीको पनि मृत्यु भएको बताइएको छ ।
यसैबीच, रुसको नियन्त्रणमा रहेको लुगान्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको रुसी अधिकारीहरूले दाबी गरेका छन् ।
डिजेल आपूर्ति सम्झौता र प्रतिबन्धको विषय
रुस र अमेरिकाबीच डिजेल आपूर्तिसम्बन्धी सम्झौता पनि वार्ताको विषय बनेको छ । ट्रम्प र पुटिनबीच यसअघि भएको सहमतिअनुसार रुसले अमेरिकी बजारमा डिजेल आपूर्ति गर्ने तयारी गरेको छ । रुसी पक्षले यसले ऊर्जा बजारमा सहकार्य बढाउन सक्ने बताएको छ ।
युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखेपछि ट्रम्प र जेलेन्स्कीबीच मतभेद बढेको थियो । त्यस क्रममा ट्रम्पले जेलेन्स्कीलाई युद्ध अन्त्यका लागि सम्झौता गर्न दबाब दिएका थिए । अमेरिकी प्रशासनले रुससँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता अघि बढाएपछि युक्रेनी पक्षले त्यसप्रति असन्तुष्टि जनाएको थियो ।
अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने निर्णय स्थगित गरेको विषय पनि यसै सन्दर्भमा आएको हो । ट्रम्पले रुससँगको डिजेल सम्झौताले अमेरिकी बजारमा इन्धनको मूल्य घटाउन सहयोग पुग्ने अपेक्षा गरेका छन् । यद्यपि, सम्झौताले युद्ध अन्त्यका लागि रुसको अडानमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन ।
अमेरिकी नागरिक हबार्ड रिहा
यसैबीच, रुसले अमेरिकी नागरिक स्टिफन हबार्डलाई रिहा गरेको छ । ७३ वर्षीय हबार्डलाई सन् २०२२ मा युक्रेनमा रुसी सेनाले नियन्त्रणमा लिएको थियो । युक्रेनी सेनाका लागि लडेको आरोपमा रुसी अदालतले सन् २०२४ मा उनलाई ६ वर्ष १० महिना कैद सजाय सुनाएको थियो ।
ट्रम्पले हबार्डको रिहाइका लागि पुटिनसँग आग्रह गरेको बताएका थिए । विटकफले पुटिनसँगको भेटमा हबार्डलाई रिहा गरिएकोमा अमेरिकी राष्ट्रपतिको तर्फबाट धन्यवाद दिएका थिए । रुसी पक्षले हबार्डलाई रिहा गरी अमेरिकी दूतलाई हस्तान्तरण गरेको जनाएको छ ।
चीनमा त्रिपक्षीय शिखर बैठकको तयारी
क्रेमलिनका अनुसार रुस, अमेरिका र चीनका राष्ट्रपतिबीच आगामी महिना चीनको सेन्जेनमा शिखर बैठक गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसी अधिकारीहरूले यसलाई तीन देशका नेताबीचको ऐतिहासिक भेट हुन सक्ने बताएका छन् ।
तर, बैठकको मिति र आयोजना हुने विषयमा अन्तिम सहमति सार्वजनिक भएको छैन । युक्रेन युद्ध अन्त्यका लागि अमेरिका, रुस र युक्रेनबीच हुने सम्भावित वार्ता तथा तीन शक्तिराष्ट्रबीचको कूटनीतिक छलफलले आगामी दिनमा कस्तो दिशा लिन्छ भन्ने स्पष्ट हुन बाँकी छ ।
एएफपी
प्रतिक्रिया 4