७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन् ।
‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्र विरुद्ध छाद्छन’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रिय हित सम्बन्धि राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपपा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा छन् ।
भ्रमणका क्रममा भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै उनले नेपाली राष्ट्रवादलाई भारतको विरोधका रूपमा बुझ्ने युगको अन्त्य भएको बताएका थिए ।
नयाँ पुस्ताको आकांक्षा आर्थिक समृद्धि र सुशासन रहेको स्पष्ट पार्दै नेपालको परराष्ट्र नीति सकारात्मक दिशामा अघि बढेको बताएका हुन् ।
विगतमा दशकौंसम्म निश्चित वैचारिक प्रशिक्षणका कारण नेपाली राष्ट्रवादलाई भारत–विरोधसँग जोडेर हेर्ने भाष्य निर्माण भएको उनले बताएका छन् ।
‘तर, हाम्रो पुस्ता फरक छ । हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षाहरू आर्थिक छन् । हामी राम्रो रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध चाहन्छौँ,’ डा. वाग्लेले भनेका छन्, ‘त्यसैले म निकै खुसीका साथ भन्न सक्छु कि नेपाली राष्ट्रवादलाई ‘एन्टी–इन्डियनिज्म’ सँग जोड्ने त्यो युग अब सकियो ।’
अर्थमन्त्री वाग्लेको यस्तो अभिव्यक्तिको एमालेका नेता बास्कोटाले आलोचना गरेका हुन् ।
प्रतिक्रिया 4