+
+
Shares

बूढीगण्डकी छिचोल्दै यसरी खुलाइँदैछ बेनिघाट–आरुघाट–लार्के सडक

पाङसिङतर्फबाट नेपाली सेनाद्वारा अवरुद्ध सडक खुलाउने काम भइरहेको  छ । सडक खुलाउँदै सेनाको टोली सल्लेरी आइपुगेको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ कात्तिक ८ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–आरुघाट–लार्के सडक खुलाउन खोर्लाबेंसी र तातोपानी खण्डमा काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ।
  • इन्जिनियर सुजन रानाका अनुसार खोर्लाबेंसीमा करिब २५० मिटर सडक बगेकामा अस्थायी डाइभर्सन बनाइएको छ र अहिले तातोपानीको ३०० मिटर लेदो हटाइँदै छ।
  • रानाले आइतबार साँझसम्म दोभानसम्म सडक सञ्चालनमा आउने र केही दिनमा पाङसिङसम्म खुल्ने बताए, जबकि अवरुद्ध सडकले उत्तरी गोरखामा आवागमन र ढुवानी प्रभावित भएको छ।

८ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–आरुघाट–लार्के सडक खुलाउने काम भइरहेको छ । खोर्लाबेंसीको सडक खुलाएर हाल तातोपानी खण्डमा काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।

‘खोर्लाबेंसीमा करिब दुई सय पचास मिटर सडक नै बगाएको थियो,’ कार्यालयका इन्जिनियर सुजन रानाले भने, ‘खोलालाई डाइर्भट गरेर कुनातर्फबाट अस्थायी रूपमा डाइभर्सन बाटो बनाएका छौं ।’ सो क्षेत्रमा अहिले सहज रुपमा सवारी आउजाउ गर्न मिल्ने उनले बताए ।

उनका अनुसार, अहिले तातोपानी खण्डमा सडकमाथिको लेदो हटाउने काम भइरहेको छ । तातोपानी खण्डको करिब तीन सय मिटर सडक बाढीसँगै आएको लेदोले पुरिएको छ ।

‘अहिले त्यही लेदो हटाउने काम भइरहेको छ, त्यो हटेपछि दोभानसम्म गाडी पुग्छ,’ इन्जिनियर रानाले भने । आइतबार साँझसम्म दोभानसम्मको सडक सञ्चालनमा आउने उनको भनाइ छ ।

उनका अनुसार पाङसिङतर्फबाट नेपाली सेनाद्वारा अवरुद्ध सडक खुलाउने काम भइरहेको  छ । सडक खुलाउँदै सेनाको टोली सल्लेरी आइपुगेको उनले बताए ।

‘तलबाट हामीले सडक खुलाउँदै आएका छौं, माथिबाट सेनाले,’ रानाले भने, ‘अब केही दिनमा पाङसिङसम्मको सडक खुल्छ ।’

गत असोज २५ गतेको बाढीले बेनिघाट–आरुघाट–लार्के सडकको विभिन्न खण्डमा क्षति पुर्‍याएको थियो । कतै पहिरो र लेदोले सडक अवरुद्ध थिए । केही ठाउँमा सडक नै बगाएको थियो । अवरुद्ध सडक खुलाउन धार्चे गाउँपालिकाले पनि आवश्यक पहल र समन्वय गरिरहेको छ ।

बेनिघाट–आरुघाट–लार्के हुँदै तिब्बत जोड्ने उक्त सडक उत्तरी गोरखाको मुख्य लाइफलाइन सडक हो । सडक अवरुद्ध हुदाँ उत्तरी गोरखाका स्थानीयलाई आउजाउ मात्र होइन खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या परेको छ ।

कतिपय स्थानमा पदमार्ग समेत अवरुद्ध हुदाँ हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?