+
+
Shares

सैफको घरमा के भएको थियो ? अदालतमा नर्सले सुनाइन् घटनाक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सैफ अली खानमाथि आक्रमणको मुद्दामा अदालतमा सुनुवाइ सुरु भएको छ, र नर्सले ३१ वर्षीय मोहम्मद शरीफुललाई आक्रमणकारीका रूपमा चिनाएकी छन्।
  • ५९ वर्षीया नर्सका अनुसार, गत वर्ष जनवरीमा मुम्बईको बान्द्रास्थित सैफको घरमा चोरी प्रयासका क्रममा शरीफुलले जेहको ओछ्यानतर्फ बढ्दै एक करोड रुपैयाँ मागेका थिए।
  • नर्सका अनुसार, सैफले आक्रमणकारीलाई नियन्त्रणमा लिएर पछि अस्पताल लगिएका थिए, भने प्रहरीले शरीफुललाई घटना भएको तीन दिनपछि पक्राउ गरेको थियो।

बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको मुद्दामा अदालतमा सुनुवाइ सुरु भएको छ । सैफ र करिना कपुरका कान्छा छोरा जेहको हेरचाह गर्दै आएकी नर्सले अदालतमा ३१ वर्षीय मोहम्मद शरीफुललाई घरमा प्रवेश गरेर आक्रमण गर्ने व्यक्तिका रूपमा चिनाएकी छन् । गत वर्ष जनवरीमा मुम्बईको बान्द्रास्थित सैफको घरमा चोरी गर्ने प्रयासका क्रममा उक्त घटना भएको थियो ।

जेहको ओछ्यानतर्फ बढ्दै थिए आरोपित, मागे एक करोड रुपैयाँ

इन्डियन एक्सप्रेसका अनुसार, यस मुद्दामा उजुरीकर्ता तथा पहिलो साक्षीसमेत रहेकी ५९ वर्षीया नर्सले अदालतमा घटनाको विवरण सुनाएकी छन् । उनी पाँच वर्षभन्दा लामो समयदेखि सैफ र करिनाका कान्छा छोरा जेहको हेरचाह गर्दै आएकी छन् ।

उनका अनुसार, राति करिब २ बजे आवाज सुनेपछि उनको निद्रा खुलेको थियो । बाथरुमको बत्ती बलिरहेको देखेपछि उनले करिना कपुर त्यहाँ रहेको अनुमान गरिन् । तर, फेरि ब्युँझिँदा उनले एक व्यक्तिको छाया जेहको ओछ्यानतर्फ अघि बढिरहेको देखिन् ।

ती व्यक्तिले जेहलाई उठाउन खोज्दा नर्समाथि आराको धारिलो पाताले आक्रमण गरेका थिए । साथै, चुप लाग्न धम्की दिएका थिए ।

अदालतमा बयान दिने क्रममा नर्सले ती व्यक्तिले पैसा माग्दै ‘एक करोड रुपैयाँ’ भनेको बताइन् ।

हल्ला सुनेपछि जेहको हेरचाहमा संलग्न अर्की महिला पनि ब्युँझिइन् र चिच्याउन थालिन् । आवाज सुनेपछि सैफ र करिना आफ्नो कोठाबाट बाहिर आए। सैफले घरमा प्रवेश गर्ने व्यक्तिलाई उनी को हुन् र के चाहन्छन् भनेर सोधे।

त्यसपछि ती व्यक्तिले सैफमाथि आक्रमण गरे । घरका अर्का कर्मचारीमाथि पनि आक्रमण भएको नर्सले बताएकी छन् ।

उनका अनुसार, सैफले ती व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएका थिए । त्यसपछि उनीहरू अर्को कोठामा गएर भित्रबाट ढोका बन्द गरे । घरका अन्य कर्मचारी आइपुग्दासम्म ती व्यक्ति मुख्य ढोकाबाट भागिसकेका थिए । आक्रमणमा गम्भीर घाइते भएका सैफलाई तत्काल अस्पताल लगिएको थियो ।

‘मलाई लाग्यो, अब म मर्न सक्छु’

यसअघि मोजो स्टोरीसँगको कुराकानीमा सैफले आफूले भोगेको घटनाबारे बताएका थिए । चक्कु प्रहारबाट घाइते भएपछि आफूलाई ज्यान जान सक्ने डर लागेको उनले खुलाएका थिए ।

उनले भनेका थिए, ‘मैले सेतो कुर्ता–पाइजामा लगाएको थिएँ, जुन रगतले भिजेको थियो । एक समय म भुइँमा लडिरहेको थिएँ र मलाई अब म मर्न सक्छु जस्तो लाग्यो ।’

त्यतिबेला आफू छोरा तैमुरसँगै रहन चाहेको उनले बताए। अस्पताल जाने क्रममा तैमुरलाई पनि आफूसँग जान्छौ भनेर सोधेको सैफले सम्झिएका थिए ।

‘मैले उसलाई मसँग अस्पताल जान्छौ भनेर सोधेँ । उसले ‘तपाईं मर्न लाग्नुभएको हो ?’ भनेर सोध्यो । मैले होइन भनेँ र हामी सँगै अस्पताल गयौँ’ उनले भनेका थिए ।

घटना भएको तीन दिनपछि मुम्बई प्रहरीले मोहम्मद शरीफुललाई पक्राउ गरेको थियो । अदालतले उनले दोस्रोपटक गरेको अपराध स्वीकार गर्ने प्रयास अस्वीकार गरेपछि मुद्दाको सुनुवाइ अघि बढेको समाचारमा उल्लेख छ ।

अदालतमा नर्सले गरेको पहिचान र बयानमाथि अब मुद्दाको सुनुवाइका क्रममा परीक्षण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?