News Summary
Generated by OK AI. Editorially reviewed.- युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा आबद्ध काठमाडौंमा पहिलोपटक आयोजित तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ आइतबार समापन हुँदैछ ।
- काठमाडौं महानगरपालिकाले वसन्तपुरमा उद्घाटन गरेको महोत्सवमा परम्परागत बाजागाजा, नृत्य, सम्पदा यात्रा र सांस्कृतिक प्रस्तुति देखाइएका थिए ।
- महोत्सवको दोस्रो दिन प्रधानमन्त्री पत्नी सबिना काफ्ले, शबाना आजमी, मार्को मुलरलगायतको सहभागितामा रेड कार्पेट, चलचित्र प्रदर्शन र अन्तरक्रिया भएका थिए ।
काठमाडौं । काठमाडौंका सम्पदा स्थलमा परम्परागत बाजागाजा र नृत्यको धुन । त्यससँगै नेपाली र विदेशी चलचित्रका दृश्य ।
कतै चलचित्रकर्मीबीच संवाद, कतै कलाकारको जमघट । अनि, रेड कार्पेटमा देखिने चिरपरिचित अनुहार ।
तीन दिनदेखि काठमाडौंमा यस्तै दृश्य देखिए ।
युनेस्कोको ‘क्रिएटिभ सिटी अफ फिल्म’ सञ्जालमा आबद्ध काठमाडौंमा पहिलोपटक आयोजित ‘काठमाडौं फिल्म फेस्टिभल’ आइतबार समापन हुँदैछ ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको महोत्सवले चलचित्रलाई पर्दामा सीमित नराखी यहाँको कला, संस्कृति र सम्पदासँग जोड्ने प्रयास गरेको छ ।
महोत्सवको पहिलो दिन वसन्तपुरका सम्पदा क्षेत्रमा सांस्कृतिक प्रस्तुति र सम्पदा यात्राले उत्सवको माहोल बनायो । दोस्रो दिन चलचित्रकर्मी र कलाकारको जमघटसँगै रेड कार्पेट समारोह आकर्षणमा रह्यो ।
अन्तिम दिन आज भने विभिन्न देशका चलचित्र प्रदर्शन र महोत्सवका कार्यक्रमले निरन्तरता पाएका छन् ।
शुक्रबार वसन्तपुरबाट महोत्सवको सुरुवात भएको थियो । उद्घाटन समारोहलाई परम्परागत सम्पदा पदयात्रा र सांस्कृतिक प्रस्तुतिसँग जोडिए ।
जुद्ध सालिक क्षेत्रमा पाहुनाको स्वागतपछि उनीहरूलाई वसन्तपुर डबली पुर्याइएको थियो । त्यसपछि कुमारी घरमा कुमारीको दर्शन गराइएको थियो । नारायण मन्दिर, माजु देगः, गद्दी बैठक र श्वेत भैरव आसपासका सम्पदा क्षेत्रमा विभिन्न सांस्कृतिक प्रस्तुति राखिएका थिए ।
गणेश चर्या, अष्टमातृका नृत्य, परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतिले वसन्तपुरको वातावरणलाई उत्सवमय बनाएको थियो । कुटुम्ब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रस्तुतिसमेत उद्घाटनका आकर्षण बने ।
मुनासा नेपालको सांस्कृतिक प्रस्तुति र आर्मय नकर्मी निर्देशित नाटक ‘हसाना (सन्देश)’ पनि देखाइएको थियो ।
उद्घाटनमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, युनेस्को काठमाडौंका प्रमुख जाको दु तोइत, भारतीय दिग्गज अभिनेत्री शबाना आजमी, प्राध्यापक मार्को मुलर तथा नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सहभागी थिए ।
उद्घाटनका क्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चलचित्रलाई सहरको कला, संस्कृति, भाषा र सम्पदा विश्वमाझ चिनाउने माध्यमका रूपमा विकास गर्नुपर्ने बताएकी थिइन् ।
उनका अनुसार अग्ला भवन र फराकिला सडकले मात्रै सहरको समृद्धि देखाउँदैनन्, स्थानीय भाषा, कला र सिर्जनशीलताको संरक्षण पनि उत्तिकै आवश्यक छ ।
यस्तै, प्राध्यापक मार्को मुलरले युवा नेतृत्वमा सुरु भएको महोत्सवले दक्षिण एसियासहित विश्वका सिर्जनशील उद्योगलाई नयाँ सन्देश दिन सक्ने बताए ।
अभिनेता हरिवंश आचार्यले नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा चलचित्र छायांकनका लागि ठूलो सम्भावना भएको बताए । अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्रलाई सूचना र शिक्षाको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै शबाना आजमीसँग सन् १९८६ को भेट स्मरण गरे ।
महोत्सवकी क्रिएटिभ डाइरेक्टर आयुषा श्रेष्ठले महिला नेतृत्वलाई महोत्सवको विशेषता बताइन् ।
रेड कार्पेटमा अतिथि
महोत्सवको दोस्रो दिन शनिबार आयोजित रेड कार्पेट समारोहले विशेष चर्चा पायो । देशभर नै मुसलधारे पानी परिरहँदा पनि महोत्सवको रौनक घटेको देखिएन ।
समारोहमा प्रधानमन्त्री पत्नी सबिना काफ्ले सहभागी भइन् । नेपाली चलचित्र क्षेत्रका परिचित अनुहारदेखि अन्तर्राष्ट्रिय चलचित्रकर्मीसम्मको उपस्थितिले रेड कार्पेटलाई आकर्षक बनायो ।
रेड कार्पेटमा हाँस्यकलाकार महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर, फिल्म निर्माता विनोद मानन्धर, अभिनेता दीपकराज गिरी, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री केकी अधिकारी, अभिनेता नीर शाह र बसुन्धारा भुसाल लगायतका कलाकार देखिए ।
भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमीका प्राध्यापक तथा फिल्म निर्माता मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हालगायत अन्तर्राष्ट्रिय पाहुनाको पनि उपस्थिति थियो ।
रेड कार्पेट समारोहसँगै दोस्रो दिन चलचित्र प्रदर्शन, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि सञ्चालन भए । शबाना आजमीसँग ‘सिनेमा, महोत्सव र अर्थपूर्ण जीवन’ विषयमा अन्तरक्रिया गरिएको थियो ।
जापानी निर्देशक नाकामुराले जापानको यामागाता युनेस्को फिल्म सिटीबारे अनुभव सुनाएका थिए ।
नेपाली पानोरामा, अन्तर्राष्ट्रिय पानोरामा र सर्ट फिल्म भिडियो च्यालेन्जअन्तर्गतका चलचित्र प्रदर्शन तथा छलफलले दोस्रो दिनलाई थप अर्थपूर्ण बनाएका थिए ।
त्यस्तै, तीनदिने महोत्सवको अन्तिम दिन आज पनि विभिन्न देशका चलचित्र प्रदर्शनको कार्यक्रम राखिएको छ। जय नेपाल सिनेमा र राष्ट्रिय सभा गृहमा नेपाली तथा विदेशी चलचित्र देखाइँदैछन्।
जय नेपाल सिनेमामा दक्षिण कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, भारतीय चलचित्र ‘नट अ हिरो’ र ‘नो गुड मेन’ तथा अमेरिकी चलचित्र ‘द गडफादर’ प्रदर्शनको तालिका छ ।
राष्ट्रिय सभा गृहमा पुरानो नेपाली चलचित्र ‘कुमारी’ को पुनःस्थापित संस्करण र नेपाली लघु चलचित्र प्रदर्शन हुँदैछन् ।
प्रतिक्रिया 4