News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको होस्टको रूपमा देखिएकी येशा सागर भारतीय मूलकी क्यानेडियन मोडल, अभिनेत्री र टेलिभिजन प्रस्तोता हुन् ।
- पञ्जाबको लुधियानामा जन्मिएकी येशाले सन् २०१५ मा क्यानडा पुगेर अध्ययनसँगै मोडलिङ र अभिनय यात्रा अघि बढाइन्।
- येशाले पञ्जाबी संगीतका गीत र फिटनेस ब्रान्डसँग सहकार्य गरेकी छन्, तथा सामाजिक सञ्जालमा व्यावसायिक गतिविधि र फोटोसुट सार्वजनिक गर्छिन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा त यसै हुने भयो, उसै हुने भयो । तर, क्रिकेटको त्यो उत्सवमा अरू पनि विषयले चर्चा पाउने गर्छन्। जस्तो कि, होस्ट येशा सागर ।
उनी को हुन् ? इन्स्टाग्राममा उनलाई पछ्याउनेहरूका लागि यसको जवाफ खोजिरहनु पर्दैन । कहिले क्रिकेट मैदानमा त कहिले जिममा बिताएका क्षणहरू उनी इन्स्टाग्राममा सेयर गरिरहेकी हुन्छिन् । जहाँ भए पनि, जे गरे पनि उनी ग्ल्यामरस देखिन्छिन् । उनका तस्बिर र भिडियो हेर्दा क्रिकेट प्रस्तोता वा फिटनेस इन्फ्लुएन्सरभन्दा बढी मोडलको झल्को आउँछ ।
मोडलको झल्को आउनुमा खासै अनौठो पनि भएन । किनभने येशाको करियरको जग नै मोडलिङबाट सुरु भएको पाइन्छ । उनी भारतीय मूलकी क्यानेडियन मोडल, अभिनेत्री तथा टेलिभिजन प्रस्तोता हुन् । भारतको पञ्जाबस्थित लुधियानामा जन्मिएकी उनी स्नातक तहको अध्ययन पूरा गरेपछि सन् २०१५ मा क्यानडा पुगेकी थिइन् । त्यसपछि उनले क्यानडामा आफ्नो अध्ययनसँगै मोडलिङ तथा अभिनय यात्रालाई अघि बढाइन् ।

यद्यपि, क्रिकेट दर्शकमाझ उनको चर्चा भने क्रिकेट मैदानबाटै सुरु भएको हो । जब उनी क्रिकेट प्रतियोगितामा प्रस्तोताका रूपमा देखा परिन् र क्रिकेटरसँग अन्तर्वार्ता लिन थालिन्, धेरैको ध्यान उनीतर्फ खिचियो। उनको प्रस्तुति र पहिरन शैलीले पनि दर्शकको ध्यान तान्यो ।
यसको सिलसिला सन् २०२३ को ग्लोबल टी–२० क्यानडाबाट सुरु भएको थियो । उक्त प्रतियोगितामा उनी टेलिभिजन प्रस्तोताका रूपमा उपस्थित थिइन् । विश्वका क्रिकेटप्रेमी माझ लोकप्रिय मानिएको ग्लोबल टी–२० ले दर्शकको ध्यान खिचिरहँदा त्यसको एउटा आकर्षण थिइन्, येशा सागर ।
प्रतियोगितामा प्रस्तोताका रूपमा काम गरेकी येशाले आफ्नो व्यक्तित्व र प्रस्तुतिका कारण धेरैको ध्यान खिचिन् । उनी प्रतियोगिताका क्रममा क्रिकेटरसँग अन्तर्वार्ता लिने, खेलअघिका कार्यक्रम सञ्चालन गर्ने तथा खेलपछि खेलाडीहरूसँग कुराकानी गर्ने गर्थिन् । यही क्रममा उनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भए ।
मोडलिङमा करियर

त्यसो त क्रिकेट मैदानमा प्रवेश गर्नुअघि नै उनले मोडलिङको दुनियाँमा पाइला राखिसकेकी थिइन् । विशेषगरी पञ्जाबी संगीत क्षेत्रमा उनले आफ्नो उपस्थिति बनाएकी हुन् । उनले परमिश वर्मा, गुड्ड सिद्धु, आरश बेनिपाल, गिप्पी ग्रेवाल, कुलबिर झिन्जर र प्रेम ढिल्लोनजस्ता कलाकारका गीतमा अभिनय गरेकी छिन् ।
परमिश वर्माको गीत ‘चिर्री उड काआ उड’ को म्युजिक भिडियोमा उनको अभिनयले विशेष चर्चा पाएको थियो ।
आकर्षक व्यक्तित्व र क्यामेरासामु सहज रूपमा प्रस्तुत हुन सक्ने क्षमताका कारण उनले मोडलिङ क्षेत्रमा अवसर पाउन थालिन् । विभिन्न फोटोसुट, विज्ञापन तथा मनोरञ्जनसम्बन्धी गतिविधिमा सहभागी हुँदै उनले आफ्नो पहिचान विस्तार गरिन् । सन् २०१७ देखि पञ्जाबी संगीत क्षेत्रमा सक्रिय उनको अभिनय यात्रा म्युजिक भिडियो हुँदै फिल्मसम्म पनि पुगेको छ ।
फिटनेस इन्फ्लुएन्सर पनि

मोडलिङ र अभिनयसँगै येशा फिटनेस इन्फ्लुएन्सरका रूपमा पनि परिचित छिन् । उनले म्याग्नम न्युट्रास्युटिकल्स, प्रेसिजन न्युट्रिसन र रिभाइभ सुपरफुड्सजस्ता ब्रान्डसँग सहकार्य गरेकी छिन् ।
उनका पोस्टमा जिममा व्यायाम गरिरहेका तस्बिरदेखि विभिन्न पहिरनमा खिचिएका फोटोसुटसम्म देख्न सकिन्छ । फिटनेस र मोडलिङलाई सँगसँगै अघि बढाइरहेकी येशाले सामाजिक सञ्जाललाई आफ्नो व्यावसायिक पहिचान विस्तार गर्ने माध्यमसमेत बनाएकी छन् ।
केही समयअघि सार्वजनिक गरेको एउटा पोस्टमा उनी सेतो म्याक्सी ड्रेसमा सूर्यमुखी फूलले भरिएको खेतमा पोज दिइरहेकी देखिएकी थिइन् । खुला कपाल र सामान्य मेकअपमा सजिएकी उनले उक्त तस्बिरसँगै जीवनलाई सहज रूपमा स्वीकार गर्नुपर्ने सन्देश पनि दिएकी थिइन् ।
उनले लेखेकी थिइन्, ‘सबै कुरा जस्तो छ, ठीक छ । केही थप्नु वा घटाउनु आवश्यक छैन । बस्नुहोस्, उभिनुहोस्, हिँड्नुहोस्, पिउनुहोस्, खानुहोस् र सुत्नुहोस् । हावा चल्छ, मेघ गर्जिन्छ र वर्षा हुन्छ । जीवनलाई जसरी छ, त्यसरी नै चल्न दिनुहोस् ।’
सामाजिक सञ्जालमा सक्रिय
येशा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । आफ्ना व्यावसायिक गतिविधि, फोटोसुट, भ्रमण तथा दैनिक जीवनसँग सम्बन्धित तस्बिर र भिडियो सार्वजनिक गर्दै आएकी छन् । उनका पोस्टमा आकर्षक पहिरन, प्राकृतिक दृश्य र विभिन्न शैलीका फोटोसुट देख्न सकिन्छ ।

प्रतिक्रिया 4