News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मंसिर १७ देखि २१ सम्म काठमाडौं भृकुटीमण्डपमा ११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ हुने भएको छ।
- मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानका सहभागिता रहनेछ, र २ सयभन्दा बढी स्टलमार्फत वस्तु तथा सेवा प्रदर्शनी गरिनेछ।
- महासंघले मेलालाई नेपाली उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी र प्रविधि आकर्षित गर्ने र व्यापार विस्तार गर्ने व्यावसायिक प्लेटफर्म भनेको छ।
१५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ आयोजनामा आगामी मंसिर १७ देखि २१ सम्म काठमाडौं भृकुटीमण्डपमा ‘११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६’ हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हुन लागेको मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटान लगायत देशको सहभागिता रहने छ ।
मेलामा २ सयभन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवा प्रदर्शनी गरिने छ । यस वर्षको मेलामा करिब १ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा छ ।
मेलाबारे जानकारी दिँदै महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न र व्यापारिक गतिविधि विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय मेलाको महत्त्वपूर्ण भूमिका रहने बताए ।
उनले बजार माग कमजोर रहेको, निजी लगानी अपेक्षित विस्तार हुन नसकेको र उद्योगी–व्यवसायीको मनोबलमा कमी आएको वर्तमान अवस्थामा उपलब्ध वित्तीय स्रोत, ऊर्जा र उद्यमशीलतालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलालाई नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण व्यावसायिक प्ल्याटफर्मका रूपमा विकास गरिएको बताए ।
मेलाले उत्पादक, क्रेता, वितरक, आयातकर्ता तथा निर्यातकर्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यापार विस्तार, लगानी आकर्षण र व्यावसायिक साझेदारी विकासमा सहयोग पुर्याउने उनको भनाइ थियो ।
मेलामा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारलाई विशेष प्राथमिकता दिइएको छ । मेड इन नेपाल पभेलियन तथा विभिन्न वस्तुगत संघका पभेलियन मार्फत नेपाली उत्पादन प्रदर्शनी गरिने छ ।
हस्तकला, कृषि उत्पादन, जडीबुटी, गलैँचा, पश्मिना, चिया, कफी, अलैँची, अदुवा, नेपाली कागज तथा तयारी पोसाक लगायत निर्यात सम्भावना भएका वस्तुलाई मेलामा विशेष स्थान दिइनेछ ।
महासंघ वरिष्ठ उपाध्यष सुरकृष्ण वैद्यले मेलाको नियमित आयोजनाबाट नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, विदेशी लगानी तथा प्रविधि आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास लिएको बताए ।
मेला समिति सभापति सविन श्रेष्ठले मेलालाई विगतका वर्षभन्दा थप व्यवस्थित, प्रभावकारी र व्यावसायिक बनाउने तयारी भइरहेको जानकारी दिए ।
मेलामा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा विदेशी लगानी र प्रविधि आकर्षित गर्ने अवसर समेत सिर्जना हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4