+
+
Shares

ठेक्का लागेको ६ महिनापछि सिधुवा-जितपुर सडक कालोपत्रे गर्न दुई मन्त्रीद्वारा शिलान्यास

धनकुटाको छथर जोरपाटीको सिधुवा बजारदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारसम्म रहेको १२ किलोमिटिर सडकमध्ये सिधुवा आहाले खण्डको ४ किलोमिटिर सडक कालोपत्रे गर्ने गरि कोशी प्रदेशका २ मन्त्रीले शिलान्यास गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको सिधुवा–जितपुर सडकको ४ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी कोशी प्रदेशका दुई मन्त्रीले शिलान्यास गरेका छन्।
  • १२ किलोमिटर लामो सडकको पहिलो प्याकेज अस्फाल्ट कङ्क्रिट प्रविधिबाट २०८५ जेठ ३२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • स्थानीयले सडक स्तरोन्नतिले दूध, तरकारी ढुवानी, सेवा आवागमन र पर्यटन प्रवद्र्धन सहज हुने अपेक्षा गरेका छन्।

१५ कात्तिक, धनकुटा। सडकको ट्रयाक खुलेको २७ वर्षपछि धनकुटाको सिधुवा जितपुर सडक कालोपत्रेको शिलान्यास गरिएको छ । धनकुटाको छथर जोरपाटीको सिधुवा बजारदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारसम्म रहेको १२ किलोमिटिर सडकमध्ये सिधुवा आहाले खण्डको ४ किलोमिटिर सडक कालोपत्रे गर्ने गरि कोशी प्रदेशका २ मन्त्रीले शिलान्यास गरेका हुन् ।

जितपुर बजार महालक्ष्मी नगरपालिकाको केन्द्र बनेपछि अर्थात २०७३ सालदेखि सिधुवा जितपुर सडक कालोपत्रे हुने चर्चा चलेको भएपछि हाल ४ किलोमिटर मात्रै कालोपत्रे गर्ने गरि शिलान्यास गरिएको हो । कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य र स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले सडक कालोपत्रेको शिलान्यास गरेका हुन् ।

ठेक्का लागेको सडक कालोपत्रेको करिब ६ महिनापछि सडक कालोपत्रेको शिलान्यास गरिएको हो । गत बैशाख २५ गते सडक कालोपत्रेको काम सुरु हुने गरि ठेक्का लागेको थियो ।

पूर्वाधार विकास कार्यालय धनकुटाका अनुसार आयोजनाको पहिलो प्याकेज अन्तर्गत सिधुवा बजारदेखि जितपुरतर्फको ४ किलोमिटर सडक अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्रे गरिने भएको हो ।

कुल १९ करोड ९९ लाख ९९ हजार रुपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का मोरङकको बुढीगंगा गाउँपालिका वडा नं. १ को यसुकी/भानुमती जे.भी. ले ११ करोड ९ लाख २५ हजार रुपैयाँमा सम्झौता गरेको छ । साढे ५ मिटर चौडाइ रहने सडकमा कालोपत्रेसँगै नाली, कल्भर्ट, कजवे तथा पर्खाल निर्माणका काम समेत गरिने छन् । निर्माण कार्य २०८५ जेठ ३२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

शिलान्यास समारोहमा भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले कृषि उत्पादन र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । विकासले नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्दै उनले किसानले उत्पादन गरेको दूध र तरकारी सडककै कारण नोक्सान हुने अवस्थाको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न भए आयोजनाका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

त्यस्तै, स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सडक निर्माणलाई जितपुरमा मात्र सीमित नराखी लेगुवासम्मको बाँकी खण्डलाई समेत पूर्णता दिन थप बजेट सुनिश्चित गर्ने बताए । वर्षायाममा सडक निर्माणका कारण दूध तथा तरकारी ढुवानी प्रभावित हुन सक्ने भएकाले हिउँद सुरु भएसँगै कामलाई तीव्रता दिने गरि शिलान्यास गरिएको उनको भनाइ छ ।

धनकुटामा ताजा तरकारी र दुध उत्पादनको प्रमुख केन्द्र महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका गाउँपालिका रहेका छन् । सिधुवा–जितपुर सडकको पहिलो भाग कालोपत्रे हुने भएपछि स्थानीय भने उत्साहित बनेका छन् ।

वर्षौंदेखि कालोपत्रे सडकको प्रतीक्षामा रहेकोमा छथर जोरपाटी गाउँपालिका वडा नं. ६ का बलबहादुर खड्काले बताए । उनले सडक कालोपत्रे हुने भएपछि किसान, सर्वसाधारण तथा सेवाग्राहीमा उत्साह थपिएको बताए ।

धनकुटाको महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका जिल्लाकै प्रमुख दूध तथा बेमौसमी तरकारी उत्पादन क्षेत्रका रुपमा परिचित भएपनि सडकको दयनीय अवस्थाका कारण विशेषगरी वर्षायाममा किसानले उत्पादन गरेको दूध, तरकारी तथा अन्य कृषि उपज समयमै बजार पुर्‍याउन कठिनाइ भोग्दै आएको उनको भनाइ छ । ढुवानीमा हुने ढिलाइका कारण कृषि उपज बिग्रिने र किसानले आर्थिक क्षति बेहोर्नुपर्ने समस्या पनि उत्तिकै रहेको खड्काको भनाइ छ ।

त्यसैगरी, जिल्लाका अन्य छ वटा स्थानीय तहका केन्द्रहरु पक्की तथा कालोपत्रे सडक सञ्जालमा जोडिइसक्दा पनि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरसम्म कालोपत्रे सडक पुग्न सकेको थिएन । अब सडक स्तरोन्नतिको काम अघि बढेसँगै कृषि उपजको बजारीकरण सहज हुनुका साथै नगरपालिका कार्यालयबाट सेवा लिन आउने नागरिकको आवागमनसमेत सहज हुने भएको महालक्ष्मी नगरपालिका वडा नं. ९ लोक नेपालले बताए ।

उनले सडक निर्माणले स्थानीय कृषि अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै कृषि उपजको बजार पहुँच विस्तार र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास रहेको बताए । ऐतिहासिक नागेश्वर मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको पहुँच सहज बनाउन पनि सडकले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

धरानदेखि जितपुरसम्म बस चलाउँदै आएका सुरेश लिम्बूले सिधुवा जितपुर सडकमा निकै लामोसमयदेखि असहताका बीच सडक सञ्चालन गर्दै आएकोमा अब सहज हुने अपेक्षा रहेको बताए । यो सडकमा करिब १० वर्षदेखि यातायात चलाउँदै आएको बताएका उनले सडक निकै असहज भएपनि अब सहजता हुने बताएका छन् । ग्राभेल भएको सडक सोलिङमा परिणत भएको छ अब चाँडै कालोपत्रेको काम भएमा सहज हुने लिम्बूले बताए ।

स्थानीयवासीबाट आवश्यक सहयोग प्राप्त भए तोकिएको समयसीमाभित्रै गुणस्तरीय सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने यसुकी निर्माण सेवाका प्रबन्ध निर्देशक तथा यसुकी/भानुमती जे.भी.का आधिकारिक प्रतिनिधी किशोर भट्टराईले प्रतिबद्धता जनाए ।

उनले सडक चौडाइ गर्ने काम सुरु भएको जानकारी दिँदै भट्टराईले ठाउँ ठाउँमा मिसनरी वाल र ग्याभिङको काम भइरहेको बताए । उनले समयमै काम सम्पन्न गर्न प्रतिवद्ध रहेको जनाउँदै धनकुटामा पहिलो पटक काम गर्न लागेको भएपनि अहिले सम्म कुनै ठेक्कामा ढिलासुस्ती नगरेको पहिचान भएकाले पहिचान कायम राख्ने बताए ।

२०५६ सालमा स्थानीयले रकम संकलन गरेर सडकको ट्रयाक खोल्न सुरु गरेपछि तत्कालिन जिल्ला विकास समितिको वार्षिक १ देखि २ लाख रुपैयाँ हुँदै २०६४ सालमा एशियाली विकास बैंक (एडिभि) को २५ लाख रुपैयाँको सहयोगमा हालको महालक्ष्मी नगरपालिका वडा नं. ९ तथा तत्कालिन मुर्तिढुंगा गाविससम्म यातायात सञ्चालन हुने गरि सडक निर्माण गरिएको छथर जोरपाटी गाउँपालिका वडा नं. ६ का मेघेन्द्र गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?