News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस कास्की १ ले विपन्न र दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुका लागि ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
- अभियानअन्तर्गत बच्चा जन्मिएको ११ दिनभित्र सहयोग पहिचान गरी २४ घण्टाभित्र लोकल कुखुराको भाले र दुईदेखि तीन थान नयाँ कपडा उपलब्ध गराइनेछ।
- क्षेत्रीय समितिले अभियानका लागि स्वैच्छिक योगदान र शुभेच्छुकको सहयोगबाट स्रोत जुटाउने, पारदर्शी अभिलेख राख्ने र सरकारी निकायको ध्यानाकर्षण गराउने जनाएको छ।
१५ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी क्षेत्रीय समितिले एक वर्षसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस कास्की-१ को नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यको पदस्थापनापछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको सभापति सरोज केसीले बताए ।
अभियानअन्तर्गत बच्चा जन्मिएको ११ दिनभित्र सहयोगको आवश्यकता पहिचान गरी सम्बन्धित परिवारसम्म पुग्ने र सम्भव भएसम्म २४ घण्टाभित्रै सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ । सुत्केरी आमाको पोषणका लागि स्थानीय लोकल कुखुराको एउटा भाले उपलब्ध गराइनेछ भने नवजात शिशुका लागि मौसमअनुसार उपयुक्त दुईदेखि तीन थान नयाँ कपडा दिइने निर्णय गरिएको छ ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका अन्य परिवारलाई पनि आवश्यकताका आधारमा सहयोग गर्न सकिने निर्णयमा उल्लेख छ । अभियानले सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सानो भए पनि तत्काल व्यावहारिक सहयोग पुर्याउने उद्देश्य राखेको केसीले बताए ।
अभियान सञ्चालनका लागि क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको स्वैच्छिक योगदान र इच्छुक शुभेच्छुकहरूको सहयोगबाट स्रोत जुटाइनेछ । सहयोग प्राप्त गर्न कुनै राजनीतिक आबद्धता वा सदस्यताको सर्त राखिने छैन । सहयोग आवश्यक पर्ने परिवारले सहज रूपमा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइने निर्णयमा उल्लेख छ ।
कार्यक्रमलाई पारदर्शी, निष्पक्ष र सेवामुखी बनाउन आवश्यक कार्यविधि तयार गरी सहयोगको अभिलेख राख्ने तथा नियमित समीक्षा गर्ने निर्णयसमेत गरिएको छ ।
अभियानमार्फत विपन्न परिवारका सुत्केरी आमा र नवजात शिशुलाई आवश्यक परेको समयमा सहयोग पुर्याउनुका साथै मातृ–शिशु पोषण र आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउने लक्ष्य राखिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
प्रतिक्रिया 4