१८ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हार व्यहोरेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ भने हाउस अफ रिप्रेजेन्टेटिभ्स (तल्लो सदन) मा पनि २१८ सिट जितेर बहुमतको आँकडा पार गरेको छ।
कन्सासमा डेमोक्रेटिक पार्टीले करिब १०० वर्षपछि चुनाव जितेको छ। पछिल्लो पटक सन् १९३२ मा यहाँबाट कोही डेमोक्र्याट सिनेटर चुनिएका थिए। यसपटक डेमोक्रेटिक उम्मेदवार एडम ह्यामिल्टनले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर रोजर मार्सललाई हराए।
उता, मिसिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल अल-सइदले जित हासिल गरेका छन्। यससँगै उनी अमेरिकी इतिहासमा सिनेटर चुनिने पहिलो मुस्लिम बनेका छन्।
तल्लो सदनमा कुल ४३५ सिट छन् र सबै सिटमा चुनाव भएको छ। प्रारम्भिक रुझानअनुसार विपक्षी डेमोक्रेटिक पार्टी २२७ सिटमा अगाडि छ भने राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी १४२ सिटमा अगाडि छ।
सिनेटका १०० मध्ये ३५ सिटमा चुनाव भएको छ। हालसम्म ३१ सिटको नतिजा आइसकेको छ, जसमा डेमोक्रेटिक पार्टीले १९ र रिपब्लिकन पार्टीले १२ सिट जितेका छन्। बाँकी ४ सिटको मतगणना जारी छ।
यी नतिजालाई जोड्दा सिनेटमा डेमोक्रेटिक पार्टीको ५३ र रिपब्लिकन पार्टीको ४३ सिट पुगेको छ।
गभर्नरमा कुल ३६ सिटमध्ये ३१ राज्यको नतिजा आइसकेको छ। २० डेमोक्र्याट र ११ रिपब्लिकनले सिट जितेका छन्। बाँकी ५ राज्यमा मतगणना जारी छ।
‘अमेरिकी जनताले युद्धविरुद्ध भोट दिए’
इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी चुनावको नतिजामाथि प्रतिक्रिया दिँदै अमेरिकी जनताले युद्ध नचाहेको सन्देश दिएको बताएका छन्। उनले जनताले आफ्नो विवेक र जीविकोपार्जनको चिन्तालाई ध्यानमा राख्दै युद्धविरुद्ध भोट दिएको भन्दै यसको समर्थन गरे।
एलजीबीटीक्यूको साथ फेरि डेमोक्र्याट्सलाई
एनबिसी न्युजको एक्जिट पोलअनुसार ८६ प्रतिशत एलजीबीटीक्यू मतदाताले तल्लो सदनमा डेमोक्रेटिक उम्मेदवारलाई भोट दिएका छन्, जबकि १२ प्रतिशतले मात्र रिपब्लिकन उम्मेदवारलाई समर्थन गरे।
मिसिगनबाट सिनेट चुनाव जित्ने अब्दुल अल-सइदले सम्बोधन गर्दै आफ्नो नाम र धर्मका कारण जनताले महँगी भोग्नु नपरेको बताए। चुनाव प्रचारका क्रममा उनलाई आतङ्कवादसँग जोड्ने प्रयास गरिएको थियो।
उनले ट्रम्प र जेडी भ्यान्सप्रति व्यङ्ग्य गर्दै भने, ‘मलाई थाहा छ तपाईंहरूलाई मेरो नाम उच्चारण गर्न गाह्रो हुन्छ। त्यसैले जनवरीमा सिनेटरको शपथ लिएपछि तपाईंहरू मलाई सिनेटर भनेर बोलाउन सक्नुहुन्छ।‘
अश्वेत र एसियालीहरूको भोट डेमोक्र्याट्सलाई
तथ्याङ्कअनुसार डेमोक्रेटिक पार्टीलाई अश्वेत र एसियाली मूलका मतदाताले धेरै भोट दिएका छन्।
पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीको जितको स्वागत गर्दै जनताले देशलाई बाँड्ने नभई जोड्ने राजनीति चाहेको स्पष्ट सन्देश दिएको बताएका छन्।
ट्रम्प सरकारसँग अझै दुई वर्ष बाँकी रहेकाले डेमोक्र्याट्सले देशको भविष्यका लागि काम गर्नुपर्ने उनले बताए।
ट्रम्पलाई लेम-डक राष्ट्रपति बन्ने खतरा
दुवै सदनमा डेमोक्र्याट्सको नियन्त्रण भएपछि ट्रम्पको कार्यकालको बाँकी दुई वर्षमा उनको शक्ति सीमित हुनेछ। उनलाई नीतिहरू पारित गर्न मुस्किल पर्नेछ भने डेमोक्र्याट्सले तेस्रो पटक उनीविरुद्ध महाभियोग ल्याउन सक्ने सम्भावना पनि छ।
ट्रम्पले चुनावको नतिजा स्वीकार गर्दै डेमोक्र्याट्ससँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। यद्यपि, उनले हारका लागि फक्स न्युजलाई दोष दिँदै च्यानलले लगातार डेमोक्रेटिक नेताहरूलाई स्थान दिएको आरोप लगाए।
साथै, उनले इरानसँगको युद्धको सम्भावना र इन्धनको मूल्यवृद्धिका कारण पनि चुनावमा असर परेको स्वीकार गरेका छन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4