+

हार्दिक पाण्ड्यालाई पञ्जाब पठाएर अर्शदीपलाई भित्र्याउँदै मुम्बई

२०८३ कात्तिक  २१ गते १९:५० २०८३ कात्तिक २१ गते १९:५०

क्रिकइन्फोका अनुसार मुम्बईले हार्दिकलाई पञ्जाब पठाएर बायाँहाते तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याउन लागेको हो।

काठमाडौं । पाँच पटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्सले कप्तान हार्दिक पाण्ड्यालाई पञ्जाब किंग्ससँग साट्ने तयारी गरेको छ।

क्रिकइन्फोका अनुसार मुम्बईले हार्दिकलाई पञ्जाब पठाएर बायाँहाते तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याउन लागेको हो।

दुवै फ्रेन्चाइजले खेलाडी साटफेरका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) अन्तर्गतको आईपीएलसमक्ष चासो देखाइसकेका छन्। अब दुवै खेलाडीको लिखित सहमति लिनुपर्नेछ। त्यसपछि फ्रेन्चाइजबीच अन्तिम छलफल भएर आईपीएलबाट कारोबार स्वीकृत हुने प्रक्रिया अघि बढ्नेछ। यो प्रक्रिया आगामी २४ घण्टाभित्र अघि बढ्ने अपेक्षा गरिएको छ।

सन् २०२६ को आईपीएलको पछिल्लो चरणदेखि नै हार्दिक र मुम्बईबीच भविष्यबारे छलफल भइरहेको थियो। हार्दिकले टोलीबाट बाहिरिन चाहेको बताएपछि मुम्बईले अन्य फ्रेन्चाइजसँग खेलाडी साटफेरको सम्भावना खोजेको थियो। रोयल च्यालेन्जर्स बेंगलुरुबाहेक अन्य टोलीसँग मुम्बईले छलफल गरेको समाचारमा उल्लेख छ।

गत सिजन मुम्बई नवौँ स्थानमा रहेपछि टोलीलाई तीव्र गतिका बलरको आवश्यकता देखिएको थियो। जसप्रित बुमराहलाई साथ दिन सक्ने बलरका रूपमा मुम्बईले अर्शदीपलाई प्राथमिकतामा राखेको हो। गत सिजन प्रभावकारी प्रदर्शन गर्न नसकेका ट्रेन्ट बोल्टलाई टोलीबाट बाहिर राख्ने विकल्प पनि मुम्बईसँग छ।

अर्शदीपले सन् २०१९ मा पञ्जाबबाटै आईपीएलमा डेब्यु गरेका थिए। उनले पञ्जाबका लागि ९६ खेलमा १११ विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ९.१८ छ। आईपीएलमा पहिलो पटक पञ्जाबबाहेक अर्को टोलीबाट खेल्ने तयारीमा रहेका अर्शदीपले पछिल्लो पटक वानखेडे स्टेडियममा खेलेको आईपीएल खेलमा प्लेयर अफ द म्याचको अवार्ड जितेका थिए।

हार्दिक भने तीन वर्षपछि दोस्रो पटक खेलाडी साटफेरमार्फत टोली परिवर्तन गर्ने तयारीमा छन्। सन् २०२४ को सिजनअघि मुम्बईले उनलाई गुजरात टाइटन्सबाट भित्र्याएर कप्तान बनाएको थियो। त्यसक्रममा रोहित शर्माले कप्तानी छाडेका थिए। रोहितको कप्तानीमा मुम्बईले पाँच पटक आईपीएल उपाधि जितेको थियो।

हार्दिकको कप्तानीमा मुम्बईले २०२४ मा अन्तिम स्थानमा रहेर प्रतियोगिता सकाएको थियो भने २०२५ मा प्लेअफमा पुगेको थियो। तर, २०२६ मा टोली पुनः लयमा देखिन सकेन। सन् २०२४ यता हार्दिकको कप्तानीमा मुम्बईले खेलेका ३९ खेलमध्ये १५ मा जित र २४ मा हार बेहोरेको छ।

यसैबीच, मुम्बईले आईपीएल २०२७ अघि आफ्नो प्रशिक्षक टोलीमा पनि परिवर्तन गरेको छ। कायरोन पोलार्ड मुख्य प्रशिक्षक बनेका छन्। रोबिन उथप्पा ब्याटिङ प्रशिक्षक, मिचेल म्याक्लेनघन बलिङ प्रशिक्षक र टी दिलिप फिल्डिङ प्रशिक्षकका रूपमा टोलीमा जोडिएका छन्।

हार्दिक पाण्ड्या
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय