News Summary
Generated by OK AI. Editorially reviewed.- टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वन संरक्षण गर्न र स्थानीय आम्दानी बढाउन सहयोग गर्न सक्ने लेखमा उल्लेख छ।
- काभ्रेपलाञ्चोकको बेलापाखा सामुदायिक वनले २०७९ मा ५,००० टिमुरका बिरुवा रोपेर २०८३ मा ३० किलोग्राम उत्पादन गरेको छ।
- सन् २०२२ को अनुसन्धानअनुसार नेपालबाट वार्षिक १,४०० देखि १,७०० मेट्रिक टन कच्चा टिमुर निर्यात हुने र आवश्यक तेलको निर्यात ३.५ देखि ७.७ मेट्रिक टन हुने अनुमान छ।
काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्याउन सक्छ।
नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको संरक्षण प्रयासले वन तथा जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्। वनको अवस्था सुधारिँदै जाँदा वन्यजन्तुका लागि बासस्थान र आहारको उपलब्धतामा समेत सुधार भएको छ। तर, वन र बस्तीबीचको अन्तरसम्बन्ध बढ्दै जाँदा विशेषगरी मध्यपहाडका किसानले वन्यजन्तुबाट हुने बाली क्षतिको समस्या पनि भोगिरहेका छन्।
बाँदर, जङ्गली बँदेललगायत वन्यजन्तुले मकै, कोदो, आलु, तरकारी तथा अन्य कृषि बालीमा क्षति पुर्याउँदा किसानको खाद्य सुरक्षा, आम्दानी र खेतीप्रतिको आकर्षणमा नकारात्मक असर परेको छ। कतिपय स्थानमा वन्यजन्तुबाट हुने क्षतिकै कारण किसानले परम्परागत बाली लगाउनसमेत छाड्दै गएका छन्।
यस्तो अवस्थामा वन्यजन्तुलाई नियन्त्रण गर्ने वा बासस्थानबाट हटाउने उपायमा मात्र निर्भर नभई मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने वैकल्पिक खेती प्रणालीको खोजी आवश्यक छ।
टिमुर : वन्यजन्तु–मैत्री खेतीको सम्भावना
यस्तै विकल्पमध्ये टिमुर (Zanthoxylum armatum) एक सम्भावनायुक्त बहुउपयोगी वनस्पति हो। नेपालका पहाडी क्षेत्रमा प्राकृतिक रूपमा पाइने टिमुर मसला, औषधिजन्य पदार्थ र विभिन्न घरेलु उत्पादनमा प्रयोग हुँदै आएको छ। यसको फलमा पाइने विशिष्ट सुगन्ध, तिखो स्वाद तथा बोटका काँडेदार हाँगाले यसलाई अन्य कृषि बालीभन्दा फरक बनाउँछन्।
टिमुरका काँडा र विशिष्ट गन्धका कारण केही वन्यजन्तुले यसलाई अन्य कोमल बालीजस्तो प्राथमिकतामा नराख्ने सम्भावना हुन्छ। त्यसैले वन्यजन्तुबाट बढी क्षति हुने स्थानमा टिमुरको खेती वा वृक्षरोपणले वैकल्पिक आम्दानीको स्रोत सिर्जना गर्नुका साथै बाली क्षति न्यूनीकरणमा पनि सहयोग पुर्याउन सक्छ।
टिमुरको परिचय, वितरण र उपयोग
टिमुर रुटेसी परिवारमा पर्ने करिब ३ मिटर उचाइसम्म बढ्ने काँडेदार, झाडी वा सानो रूखका रूपमा बढ्ने बहुवर्षीय वनस्पति हो। यसको वैज्ञानिक नाम Zanthoxylum armatum हो। यसको पातको डाँठमा विशिष्ट सुगन्ध हुन्छ। पातहरू एकान्तर रूपमा पलाएका, केही पखेटाजस्ता संरचना भएका र पातको फेदमा काँडेदार उपपर्ण रहेका हुन्छन्। यसका पातहरू विषमपक्षीय संयुक्त हुन्छन् र प्रत्येक पातमा ३ देखि ९ वटासम्म पत्रक हुन्छन्। पत्रकको किनारामा रातो रङका दाँतेदार संरचना हुन्छन्।
यसका फूलहरू साना, सेतोपन मिसिएका रङका तथा खुकुलो फूलको गुच्छामा फुल्ने गर्छन्। फल गोलाकार, पाकेपछि रातो रङको हुने तथा परिपक्व भएपछि दुई भागमा फुट्ने प्रकृतिको हुन्छ। फलको आकार करिब ३ देखि ४ मिलिमिटर हुन्छ र यसमा विशिष्ट सुगन्ध पाइन्छ।
टिमुर नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रमा समुद्री सतहबाट करिब १,००० देखि २,५०० मिटर उचाइसम्म प्राकृतिक अवस्थामा पाइन्छ। यो विशेषगरी खेतीयोग्य जमिनको डिल तथा सिमानामा पनि उम्रने गर्छ।
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा टिमुर प्रशस्त मात्रामा पाइन्छ। नेपालका विभिन्न पहाडी जिल्लामा यसको सङ्कलन र खेती गरिन्छ। सल्यानलगायत जिल्लामा टिमुर उत्पादन तथा व्यापारले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याएको छ।
टिमुरको फल सामान्यतया असोजदेखि पुस महिनासम्म सङ्कलन गरिन्छ र यसको फल नै मुख्य रूपमा व्यापारिक प्रयोजनका लागि उपयोग गरिन्छ। टिमुरका फल साना, सिमीको दानाजस्ता आकारका तथा कालो वा खैरो रङका हुन्छन्। तिनमा सुगन्धित तेल पाइन्छ र स्वादमा पिरो तथा जिब्रो लठ्याउने (झमझमाउने) विशेषता हुन्छ। अधिकांश फल दुई भागमा फुटेका भए पनि ती भागहरू पूर्ण रूपमा छुट्टिएका हुँदैनन्। फलसँगै कहिलेकाहीँ गाढा खैरो रङको बीउ पनि रहेको हुन्छ।
आयुर्वेदिक चिकित्सा पद्धतिमा टिमुरको फल टाउको दुखाइ र दाँत दुखाइको उपचारमा प्रयोग गरिन्छ। टिमुर नेपाली खानामा अचार, तरकारी, मासु तथा विभिन्न परिकारमा मसलाका रूपमा प्रयोग हुन्छ। यसको प्रयोग कीटनाशकका रूपमा पनि गरिन्छ। टिमुरको फलबाट निकालिने सुगन्धित तेल औषधिजन्य उत्पादन, सुगन्धित पदार्थ, सौन्दर्य प्रसाधन तथा सरसफाइसम्बन्धी उत्पादनमा समेत उपयोग हुने गरेको छ।
बजार माग र सामुदायिक वनमा आर्थिक अवसर
टिमुर नेपालका महत्त्वपूर्ण व्यावसायिक जडीबुटी तथा गैरकाष्ठ वन पैदावारमध्ये एक हो। यसको सुगन्ध र स्वादका कारण नेपाली भान्सा र बजारमा यसको राम्रो माग छ। टिमुरको व्यावसायिक महत्त्व बढ्दै जाँदा नेपालमा सङ्कलन हुने टिमुरको ठूलो हिस्सा कच्चा या सुकाइएको फलका रूपमा भारततर्फ निर्यात हुने गरेको छ।
यसले मध्यपहाडका किसान, सङ्कलक, सामुदायिक वन उपभोक्ता समूह र जडीबुटी व्यवसायीका लागि आम्दानीको अवसर सिर्जना गरेको छ। सुकाइएको फलको सङ्कलन, प्रशोधन, प्याकेजिङ र बिक्रीबाट किसान तथा सामुदायिक वन उपभोक्ता समूहले राम्रो आम्दानी गर्न सक्छन्।
सन् २०२२ मा प्रकाशित एक अनुसन्धानले नेपालबाट वार्षिक करिब १,४०० देखि १,७०० मेट्रिक टन कच्चा टिमुर निर्यात हुने अनुमान प्रस्तुत गरेको छ। यसै अध्ययनअनुसार टिमुरबाट निकालिने आवश्यक तेलको निर्यात वार्षिक करिब ३.५ देखि ७.७ मेट्रिक टन रहेको अनुमान छ।
टिमुरको बजार मूल्य पनि यसको गुणस्तर, बीउसहित वा बीउरहित अवस्थाको उत्पादन, सुकाउने तरिका, आपूर्ति र बजारअनुसार फरक पर्छ। एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एन्ड बायोरिसोर्सेसको जुन २०२६ को गैरकाष्ठ वन पैदावार मूल्यसूचीअनुसार राम्रो गुणस्तरको सुकाइएको टिमुरको सङ्केतात्मक मूल्य काठमाडौँमा प्रतिकिलो रु. ९७५ र नेपालगन्जमा प्रतिकिलो रु. ६४० छ।
टिमुरको अर्को उच्च मूल्ययुक्त उत्पादन आवश्यक तेल हो। सन् २०२२ को अनुसन्धानमा टिमुरको आवश्यक तेलको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकिलो अमेरिकी डलर ११०-१३० को दायरामा उल्लेख गरिएको छ। नेपालका हर्बल प्रोडक्ट्स एन्ड प्रोसेसिङ कम्पनी लिमिटेडको वेबसाइटमा टिमुरको तेलको मूल्य प्रतिकिलो रु. १५,००० उल्लेख छ। तर, बजार मूल्य र माग उत्पादनको गुणस्तर, उपलब्धता, प्रशोधन, ढुवानी तथा बजार सम्पर्कमा निर्भर हुन्छ। यसले टिमुरको बजार र कारोबार मूल्यको एउटा उदाहरण दिन्छ।
यी तथ्याङ्कले टिमुरलाई केवल प्राकृतिक वनबाट सङ्कलन गरिने जडीबुटीका रूपमा मात्र नभई व्यावसायिक खेती, स्थानीय प्रशोधन र मूल्य अभिवृद्धिसँग जोड्नुपर्ने आवश्यकता देखाउँछन्। नेपाल सरकारले टिमुरको खेती तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ।
सामुदायिक वन उपभोक्ता समूहले योजनाबद्ध खेती, गुणस्तरीय उत्पादन, सुकाउने तथा भण्डारण प्रविधि, सहकारीमार्फत बिक्री र आवश्यक तेल उत्पादन गर्ने उद्योगसँग सहकार्य गर्न सके स्थानीयस्तरमै बढी आर्थिक लाभ सिर्जना गर्न सक्छन्। यसबाट वनमा आधारित उद्यम विकास हुनुका साथै प्राकृतिक वनमा निर्भर सङ्कलनको दबाब घटाउन पनि सहयोग पुग्न सक्छ।
हाल धेरै स्थानमा टिमुर प्राकृतिक वनबाट सङ्कलन गरिने भएकाले यसको अत्यधिक वा अव्यवस्थित सङ्कलनले प्राकृतिक पुनरुत्पादनमा दबाब पार्न सक्छ। त्यसैले व्यावसायिक खेती विस्तार गर्नु, गुणस्तरीय बिरुवा उत्पादन गर्नु, उपयुक्त समयमा फल सङ्कलन गर्नु र दिगो सङ्कलन प्रणाली विकास गर्नु आवश्यक छ।
सामुदायिक वनमा टिमुरलगायत बहुमूल्य गैरकाष्ठ वन पैदावारको योजनाबद्ध खेती गर्न सके उपभोक्ता समूहले वन संरक्षणसँगै आयआर्जनका अवसर विस्तार गर्न सक्छन्। यसले स्थानीय रोजगारी, महिला तथा युवाको सहभागिता र वनमा आधारित उद्यम विकासमा समेत सहयोग पुर्याउन सक्छ। यसका लागि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय सरकार, वन प्राविधिक, किसान समूह र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ।
बेलापाखा सामुदायिक वन : अभ्यासबाट सिकाइ
काभ्रेपलाञ्चोक जिल्लाको बेलापाखा सामुदायिक वन उपभोक्ता समूहले वन्यजन्तु, विशेषगरी जङ्गली बँदेलबाट हुने क्षति न्यूनीकरण र वनमा आधारित वैकल्पिक आम्दानीका लागि टिमुर तथा तेजपातको वृक्षरोपण गरेका छन्। यस सामुदायिक वनले करिब १६१.५३ हेक्टर क्षेत्रफलमा साल र सल्ला मिश्रित वन व्यवस्थापन गर्दै आएको छ। यहाँ ३३१ घरधुरीका करिब १,२७० जनसङ्ख्या आबद्ध छन्।
वन्यजन्तुबाट हुने बाली तथा बिरुवाको क्षति कम गर्दै वैकल्पिक आयस्रोत विकास गर्ने उद्देश्यले समूहले २०७९ सालमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल र डिभिजन वन कार्यालय, काभ्रेपलाञ्चोकको सहयोगमा ५,००० टिमुरका बिरुवा रोपण गरेका थिए। प्रारम्भिक चरणमा केही बिरुवा बँदेलबाट उखेलिएर वा नष्ट भएर क्षति भए पनि समूहले पुनःरोपणलाई निरन्तरता दियो। २०८२ सालमा थप १,५०० टिमुरका बिरुवा रोपिए।
यस प्रयासबाट उत्पादनमा क्रमिक वृद्धि देखिएको समूहको विवरण छ। २०८२ मा पाँच किलोग्राम ताजा टिमुर उत्पादन भएकोमा २०८३ मा ३० किलोग्राम उत्पादन भएको छ र आगामी वर्ष करिब १०० किलोग्राम उत्पादन हुने अपेक्षा गरिएको छ।
टिमुरसँगै समूहले २०८३ मा डाबर नेपाल प्रालिको सहयोगमा २६,००० तेजपातका बिरुवा रोपेका थिए भने सन् २०८४ मा बँदेलबाट उखेलिएर नष्ट भएका थप ५,००० बिरुवा रोपेका छन्।
तेजपातबाट आगामी वर्षहरूमा उत्पादन र आम्दानी प्राप्त हुने अपेक्षा गरिएको छ। टिमुर तथा तेजपातको वृक्षरोपण तथा फल सङ्कलन कार्यलाई समन्वय र व्यवस्थित गर्न ३० सदस्यीय ‘बेलापाखा टिमुर तथा मसला बाली उत्पादक कृषि समूह’ उपसमिति गठन गरी पाँचखाल नगरपालिकामा दर्ता गरिएको छ।
बेलापाखाको यो अभ्यासले वन्यजन्तुबाट हुने क्षतिको चुनौतीबीच पनि समुदायले स्थानीय परिस्थिति अनुकूल खेती प्रणाली विकास गर्न, नष्ट भएका बिरुवा पुनःरोपण गर्न र वनमा आधारित वैकल्पिक आम्दानीका अवसर सिर्जना गर्न सक्ने देखाउँछ। यद्यपि, टिमुर खेतीले बँदेलबाट हुने क्षति वास्तवमै कति घटाएको छ भन्ने पुष्टि गर्न रोपणअघि र पछिको क्षतिको तुलनात्मक अभिलेख, वन्यजन्तुको गतिविधि र उत्पादनको नियमित अनुगमन आवश्यक छ।
अबको बाटो : संरक्षणसँगै सहअस्तित्व
टिमुर खेतीलाई मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको सम्भावित उपायका रूपमा विकास गर्न सामुदायिक वन र स्थानीय सरकारले संयुक्त रूपमा काम गर्न सक्छन्। वन्यजन्तुबाट बढी क्षति हुने क्षेत्र पहिचान गरी टिमुर तथा अन्य स्थानीय रूपमा उपयुक्त सुगन्धित, काँडेदार र व्यावसायिक महत्त्व भएका वनस्पतिको परीक्षणात्मक खेती विस्तार गर्न सकिन्छ।
यसका लागि गुणस्तरीय बिरुवा उत्पादन, खेती प्रविधि, रोग तथा कीरा व्यवस्थापन, फल सङ्कलन, सुकाउने, भण्डारण, प्रशोधन र बजार पहुँचसम्बन्धी तालिम आवश्यक छ। साथै, किसानले प्राप्त गर्ने वास्तविक आम्दानी र वन्यजन्तुबाट हुने क्षतिमा आएको परिवर्तनको नियमित अभिलेख राख्नुपर्छ। टिमुरलाई सबै ठाउँमा लागू हुने एकमात्र समाधानका रूपमा नभई अन्य बाली, जैविक अवरोध, बाली सुरक्षा र स्थानीय वन्यजन्तु व्यवस्थापन उपायसँग जोडेर अघि बढाउनु उपयुक्त हुन्छ।
वन संरक्षण र स्थानीय जीविकोपार्जन एकअर्काका प्रतिस्पर्धी होइनन्। सही योजना, स्थानीय ज्ञान, वैज्ञानिक प्रमाण र बजारको पहुँच जोड्न सके सामुदायिक वनले जैविक विविधता संरक्षण गर्दै समुदायको आर्थिक सुरक्षा बढाउन सक्छ।
टिमुरको सम्भावना केवल एउटा मसला वा औषधिजन्य वनस्पतिमा सीमित छैन। यो मध्यपहाडमा वन संरक्षण, वैकल्पिक आम्दानी र मानव–वन्यजन्तु सहअस्तित्वलाई एकैसाथ अघि बढाउने सम्भावित माध्यम पनि हो। बेलापाखाको अनुभवलाई व्यवस्थित अनुगमन र थप अनुसन्धानसँग जोडेर विस्तार गर्न सके टिमुर खेतीले नेपालका सामुदायिक वन र वन्यजन्तु प्रभावित किसानका लागि नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।
(चापागाई सामुदायिक वन उपभोक्ता महासंघ, नेपालमा आबद्ध रही वन, वातावरण, वनस्पति तथा जडीबुटी संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका क्षेत्रमा कार्यरत छन्।)
प्रतिक्रिया 4