+
+
Shares

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ६:५०

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ ।

गुर्वामा मात्रै एकै ठाउँमा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्‍याएको हो । असिनापानीका कारण खेतमा पाक्न लागेको धान झरेपछि किसानहरू चिन्तित बनेका छन् ।

स्थानीय कृषक पदम खत्रीले मात्रै करिब १ सय रोपनी क्षेत्रफलमा लगाएको धान असिनाले क्षति पुर्‍याएको छ । केही दिनमै धान काटेर भित्र्याउने तयारीमा रहेका खत्रीको वर्षभरिको मेहनत असिनापानीले प्रभावित बनाएको बताए ।

उनले आफनो र अरुको जग्गा समेत भाडामा लिएर धान उत्पादन गर्दै आएका छन् । धान उत्पादन राम्रो भएपनि अन्तिम समयमा परेको असिना पानीले ठूलो क्षती गरेका बताए ।

यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिएको भए पनि असिनापानीले पाक्न लागेको धान झारिदिएपछि उत्पादनमा असर पर्ने कृषक खत्रीले बताए । धान राम्रो फलेको अवस्थामा असिनापानी परेर क्षति पु¥याउँदा आफूहरूलाई ठूलो नोक्सानी भएको उनको भनाइ छ ।

गुर्वामा मात्रै नभई असिनापानीले जिल्लाका अन्य स्थानमा समेत धानबालीमा क्षति पुर्‍याएको छ । गुल्मीमा तिहार पर्व सकिएसँगै किसानहरू धान काट्ने र भित्र्याउने चटारोमा जुट्न थालेका छन् ।

जिल्लाका विभिन्न फाँटमा धान पाकेर पहेँलपुर भएका छन् । तर धान भित्र्याउने समयमा परेको असिनापानीले किसानको वर्षभरिको मेहनतमा असर पुर्‍याएको छ ।
प्राकृतिक विपत्तिका कारण भित्र्याउने बेलाको बालीमा क्षति हुँदा किसानलाई आर्थिक नोक्सानीसँगै खाद्यान्न उत्पादनमा समेत असर पर्ने देखिएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लामा कुल ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये ४ सय ४५ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिँदै आएको छ ।

जिल्लाका किसानहरूले विभिन्न स्थानीय तथा उन्नत जातका धान खेती गर्दै आएका छन् । गुल्मीमा रामधान, खुमल चार, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन र लामे जातका धान बढी लगाउने गरिएको छ ।

त्यसैगरी हाइब्रिड जाततर्फ च्याम्पियन, शंकर र उपजलगायतका धानका जातसमेत किसानले खेती गर्दै आएका छन् । धान खेतीका लागि जिल्लामा सिँचाइको अवस्था भने अझै पूर्ण रूपमा सहज छैन ।

जिल्लामा ३ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा वर्षभरि नै सिँचाइको सुविधा रहेको छ भने ६ हजार ६ सय ९० हेक्टर क्षेत्रफल खेतमा आंशिक सिँचाइको व्यवस्था रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सिँचाइको सीमित सुविधाका कारण धेरै किसान अझै पनि आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्था छ ।

गुल्मीका सबै स्थानीय तहमा धान उत्पादन हुने गरेको भए पनि जिल्लाका केही क्षेत्र धान खेतीका लागि विशेष रूपमा चिनिन्छन् । इस्मा गाउँपालिकाको छल्दी र चौरासी क्षेत्र, धुर्कोटका विभिन्न क्षेत्र, मालिका गाउँपालिकाको अर्जेबेसी, मुसिकोटका विभिन्न फाँट तथा सत्यवती र चन्द्रकोट गाउँपालिकाका ठूला फाँटहरू जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रका रूपमा परिचित छन् ।

यी क्षेत्रहरूमा धान खेती किसानको जीविकोपार्जन र स्थानीय खाद्यान्न आपूर्तिको महत्त्वपूर्ण आधार बनेको छ । विशेषगरी फाँट क्षेत्रमा पर्याप्त धान उत्पादन हुने भएकाले किसानहरू वर्षायाममा धान रोपाइँदेखि शरद ऋतुमा धान भित्र्याउने समयसम्म खेतीपातीमै व्यस्त हुने गरेका छन् ।

यस वर्ष पाक्न लागेको धानमा असिनापानीले क्षति पुर्‍याएपछि किसान थप चिन्तित बनेका छन् । उत्पादन राम्रो हुने अपेक्षा गरिएका बेला प्राकृतिक विपत्तिले क्षति पुर्‍याउँदा किसानको आम्दानीमा समेत असर पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?