News Summary
Generated by OK AI. Editorially reviewed.- अमिताभ बच्चन स्वास्थ्यका कारण केही समय विश्रामपछि ‘कौन बनेगा करोडपति १८’ को मञ्चमा होस्टका रूपमा फर्किएका छन्।
- सोनी टेलिभिजनले नयाँ प्रोमो सार्वजनिक गर्दै अमिताभको पुनरागमनबारे जानकारी दिएको छ र उनले दर्शकलाई दीपावलीको शुभकामना दिएका छन्।
- प्रोमोमा अमिताभले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दै ‘तपाईंहरू सबैको माया, प्रार्थना र आशीर्वादले हामी फेरि यहाँ उपस्थित भएका छौं।’ भनेका छन्।
बलिउडका महानायक अमिताभ बच्चन फेरि काममा फर्किएका छन् । स्वास्थ्यका कारण केही समय काम र सामाजिक सञ्जालबाट विश्राम लिएका उनी लोकप्रिय क्विज शो ‘कौन बनेगा करोडपति १८’ को मञ्चमा फर्किएका हुन् ।
अमिताभको स्वास्थ्यलाई लिएर प्रशंसकहरू चिन्तित भइरहेका बेला उनको कमब्याकले शुभचिन्तकलाई खुसी दिएको छ । शोको नयाँ प्रोमो सार्वजनिक गर्दै सोनी टेलिभिजनले अमिताभको पुनरागमनबारे जानकारी दिएको हो ।
पछिल्लो महिना चिकित्सकको सल्लाहअनुसार आराम गर्न उनले कामबाट केही समय विश्राम लिएका थिए । यस क्रममा उनले सामाजिक सञ्जालबाट पनि दूरी बनाएका थिए ।
अब भने उनी फेरि ‘कौन बनेगा करोडपति’को होस्टको कुर्सीमा देखिएका छन् । सार्वजनिक प्रोमोमा उनले दर्शकलाई दीपावलीको शुभकामना दिँदै आफूले पनि परिवारसँग पर्व मनाएको बताएका छन् ।
‘आशा छ, तपाईंहरू सबैको दीपावली निकै राम्रो भयो होला । हामीले पनि आफ्नाहरूसँग दीपावली मनायौं । तर, अर्को एउटा घर पनि त छ, केबीसीको यो मञ्च,’ उनले भनेका छन् ।
उनले केबीसीको मञ्चलाई आफ्नो अर्को परिवारका रूपमा प्रस्तुत गरेका छन् ।
स्वास्थ्यबारे के भने अमिताभले ?
प्रोमोमा हटसिटमा बसेका एक प्रतियोगीले अमिताभलाई उनको स्वास्थ्य अवस्थाबारे सोध्छन् । जवाफमा उनले आफ्नो परिचित मुस्कानसहित पहिले प्रतियोगीकै हालखबर सोध्छन् ।
प्रतियोगीले आफू ठीक रहेको बताएपछि अमिताभले मुस्कुराउँदै भनेका छन्, ‘तपाईं ठीक हुनुहुन्छ भने हामी पनि ठीक छौं ।’
त्यसपछि उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
‘तपाईंहरू सबैको माया, प्रार्थना र आशीर्वादले हामी फेरि यहाँ उपस्थित भएका छौं,’ उनले भनेका छन् ।
लामो समयदेखि दर्शकसँग जोडिएको ‘कौन बनेगा करोडपति’को मञ्चमा उनलाई फेरि देख्न पाउँदा शुभचिन्तकहरू पनि उत्साहित देखिएका छन् ।
प्रतिक्रिया 4