News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलास्थित अपि-नम्पा क्षेत्रको यात्रामा अपि बेसक्याम्प, लटिनाथ, घुसा र सितीको पदयात्रा, हिमाली दृश्य र स्थानीय आतिथ्यको अनुभव गरिएको छ।
- करिब ४,००० मिटर उचाइको अपि बेसक्याम्प हरियाली पाटन, हिमशृङ्खला, चौलानी नदीको उद्गमस्थल र दुई तालका कारण विशेष आकर्षण बनेको छ।
- लेखकले अपि-नम्पालाई साहसिक, प्रकृति, संस्कृति, ग्रामीण र वेलनेस पर्यटनको महत्वपूर्ण गन्तव्य भन्दै स्थानीय स्वामित्व र वातावरणीय संवेदनशीलतासहित विकास गर्नुपर्ने उल्लेख गरेका छन्।
केही यात्राहरू गन्तव्यमा पुगेर सकिन्छन्, तर केही यात्राले मनमा नयाँ ऊर्जा, सोचमा नयाँ दृष्टिकोण र जीवनमा नयाँ प्रेरणा थपेर फर्काउँछन् । अपि-नम्पा क्षेत्रको मेरो हालैको यात्रा यस्तै एउटा अविस्मरणीय अनुभव रह्यो । सुदूरपश्चिमको दार्चुलास्थित अपि हिमाल बेसक्याम्पसम्मको यात्रा प्रकृतिको अनुपम सौन्दर्यसँग साक्षात्कार गर्ने, स्थानीय मौलिक संस्कृति र न्यानो आतिथ्य अनुभव गर्ने अवसर बन्यो । साहस, धैर्य, आत्मविश्वास र आत्मीयताको वास्तविक अर्थ बुझ्ने संयोग पनि रह्यो ।
धनगढीबाट गोकुलेश्वरसम्म १६० किलोमिटर गाडीको यात्रामा छिचोलिएको पहाडी भूगोल, बदलिँदो प्राकृतिक दृश्य, मौसमी प्रणाली र बाटोमा भेटिने स्थानीय जीवनशैली मुग्ध तुल्यायो । हामी साँझ गोकुलेश्वर पुग्यौँ । त्यहाँको रात्रि विश्रामपछि भोलिपल्ट बिहानै लटिनाथतर्फ लाग्यौँ । त्यहाँ प्रसिद्ध तथा आस्थाको केन्द्र लटिनाथ मन्दिरमा दर्शन गर्यौँ । धार्मिक आस्था र आध्यात्मिक ऊर्जासँग जोडिएको यो सुरुवातले यात्रालाई थप उर्जावान बनायो । गाउँको ग्राभेल बाटो हुँदै मकारीगाढ पुग्यौँ ।
त्यसपछि सुरु भयो हाम्रो पदयात्रा ।
चुनौतीपूर्ण तर सम्झनलायक यात्रा
लटिनाथबाट घुसासम्मको करिब सात घण्टाको पदयात्रामा कहीँ उकालो, कहीँ भिरालो यात्रा गर्लै घुसासम्म पुग्यौं । शारीरिक रूपमा केही चुनौतीपूर्ण भए पनि यात्राका क्रममा देखिएको प्राकृतिक सुन्दरताले यात्रामा उत्साहको कमी भने हुन पाएन । म धेरै पदमार्गहरूमा पुगेको छु । तर, विकासले पछि पारिएको भनिएको सुदूरपश्चिमको यस क्षेत्रमा पदमार्गहरू व्यवस्थित गरिएको पाइयो । पदयात्रामा हिँड्नेहरूका लागि बाटोको सहजता, संकेत र स्थानीय बस्तीबीचको सम्पर्कले गन्तव्यलाई थप आकर्षक बनायो ।

घुसा पुग्दा त्यहाँको मौलिक संस्कृति, स्थानीय मानिसहरूको आत्मीय स्वागत र हिमाली परिकारले यात्रामा नयाँ आयाम थपिदियो । स्थानीय खानाको स्वाद, आफ्नै परिवेशमा उत्पादन भएका खाद्यवस्तु र विशेषगरी त्यहाँको अर्गानिक चियाको स्वाद कहिल्यै नबिर्सने खालको रह्यो । यहाँको आतिथ्यमा कुनै बनावटी औपचारिकता थिएन । पाहुनालाई स्वागत गर्ने शैलीमा सरलता र आफ्नोपनको अनुभूति देखियो । यही नै ग्रामीण तथा सामुदायिक पर्यटनको वास्तविक परिभाषा हो भन्ने लाग्यो ।

घुसापछिको यात्रामा सिती गाउँ अर्को महत्वपूर्ण विश्रामस्थल हो । यहाँ तुलनात्मक स्तरीय होमस्टे तथा होटलहरू उपलब्ध थिए । स्थानीय परिवेशमा बसेर हिमाली जीवनशैली, खानपान र संस्कृतिलाई नजिकबाट बुझ्न चाहनेहरूका लागि सिती उपयुक्त गन्तव्य बन्न सक्छ । कुनै पनि पर्यटन गन्तव्यको आकर्षण केवल प्राकृतिक दृश्यमा मात्र सीमित हुनु हुँदैन । स्थानीय समुदाय, पर्यटनव्यवहार, संस्कृति, खानपान र पाहुनालाई गरिने स्वागतले गन्तव्यको पहिचान निर्माण गर्छ । सितीमा यी सबै अनुभव गर्न पाइन्छ ।
अपि–नम्पा संरक्षण क्षेत्रभित्र
सितीबाट करिब दुई घण्टाको पदयात्रापछि हामी अपि–नम्पा संरक्षण क्षेत्रमा प्रवेश गर्यौँ । यस क्षेत्रभित्र प्रवेश गर्दा आगन्तुकले आवश्यक दर्ता प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि चिरचिरे वा सिमार क्षेत्रमा पुगेर भोजन तथा विश्राम गर्न सकिन्छ । पदयात्रुको शारीरिक अवस्था, समय र हिँड्ने गतिअनुसार यी स्थानहरूमा रात बिताउने वा अगाडि बढ्ने निर्णय गर्न सकिन्छ । छिटो हिँड्न सक्ने र पर्याप्त तयारी भएका पदयात्रीहरू भने करिब ३,६०० मिटर उचाइमा रहेको धौली ओडारसम्म पुग्न सक्छन् । यहाँबाट बेसक्याम्प पुग्न थप दुईदेखि तीन घण्टाको पदयात्रा गर्नुपर्छ ।
करिब ४,००० मिटरको उचाइमा रहेको अपि बेसक्याम्प पुग्दा यात्राको वास्तविक रोमाञ्च र सौन्दर्य उत्कर्षमा पुग्छ । अपि बेसक्याम्पको सबैभन्दा विशिष्ट आकर्षण यसको प्राकृतिक बनावट हो । चारैतिर हिउँले ढाकिएका हिमशृङ्खलाहरू र बीचमा फैलिएको विशाल घाँसै मैदान । यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ ।

सामान्यतया उच्च हिमाली बेसक्याम्पहरू ढुङ्गा, चट्टान र हिउँले भरिएका हुन्छन् । तर अपि बेसक्याम्पमा भने हरियो पाटनले बेसक्याम्पसम्मै प्राकृतिक सौन्दर्यको छुट्टै संसार निर्माण गरेको छ । मेरो अनुभवमा यस्तो हरियालीसहितको बेसक्याम्प दुर्लभ र विशेष आकर्षण हो । अपि, नम्पा, भबईलगायतका हिमशृङ्खलाहरूको भव्य उपस्थितिले यस क्षेत्रलाई अझ रोमाञ्चक बनाउँछ ।
यस क्षेत्रको अर्को आकर्षण चौलानी नदीको उद्गमस्थल अवलोकन गर्ने अवसर हो । यसलाई तल्लो क्षेत्रमा चमेलिया नदीका रूपमा पनि चिनिन्छ । आसपासका दुई सुन्दर तालहरूको अवलोकनले यात्रालाई थप विशेष बनाउँछ । अपि बेसक्याम्प उच्च हिमाली छेत्रमा खेल्ने क्रिकेट, भलिबल्, फुटबल लगयतका खेल्कुद गतिविधि र फिटनेसका लागि धेरै सम्भावना बोकेको ठाउँ हो ।

प्रकृतिप्रेमी, पदयात्री, फोटोग्राफर र साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अपि बेसक्याम्प एउटा अनुपम गन्तव्य हो । अझ हिमाल आरोहण तथा साहसिक अभियानका दृष्टिले पनि अपि क्षेत्रले ठूलो सम्भावना बोकेको छ । यो यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसले दिने प्रेरणा हो ।

सात घण्टाको पदयात्रा होस् वा ४,००० मिटरको उचाइसम्म पुग्ने चुनौती, प्रत्येक पाइलाले धैर्य, अनुशासन र दृढ इच्छाशक्तिको पाठ सिकाउँछ । गन्तव्य टाढा भए पनि निरन्तर अघि बढिरहने हो भने पुग्न सकिन्छ भन्ने आत्मविश्वास यात्राले दिन्छ ।
पदयात्रामा सबैको गति एउटै हुँदैन । कसैले छिटो यात्रा गर्छन्, कसैलाई बढी समय लाग्छ । तर अन्ततः आफ्नो क्षमता पहिचान गर्दै, आफ्नो गति कायम राख्दै र आवश्यकताअनुसार एकअर्कालाई सहयोग गर्दै अघि बढ्नु नै सफल यात्राको आधार हो । यस अर्थमा हिमाली पदयात्राहरु जीवनको एउटा सुन्दर पाठशाला हुन् ।
अपि–नम्पाको यात्रा केवल साहसिक पर्यटन होइन, यो स्वास्थ्य, वेलनेस, आत्मचिन्तन र व्यक्तित्व विकाससँग पनि जोडिएको अनुभव हो ।
आत्मीय सत्कार : अपि-नम्पाको सबैभन्दा ठूलो सम्पत्ति
प्राकृतिक सौन्दर्यले पर्यटकलाई गन्तव्यसम्म पुर्याउँछ, तर त्यहाँका मानिसको आत्मीय व्यवहारले उनीहरूको मन जित्छ । अपि–नम्पा क्षेत्रमा मैले अनुभव गरेको स्थानीय आतिथ्य अत्यन्तै मौलिक, सरल र हृदयदेखि गरिएको थियो । स्थानीय खानपान, अर्गानिक चिया, मौलिक संस्कृति र पाहुनालाई गरिने न्यानो स्वागतले यो यात्रालाई अझ स्मरणीय बनायो ।
आज विश्व पर्यटनमा पर्यटकहरू केवल नयाँ ठाउँ हेर्न मात्र यात्रा गर्दैनन्, उनीहरू स्थानीय जीवनशैली अनुभव गर्न, मौलिक संस्कृति बुझ्न, स्थानीय खानाको स्वाद लिन र समुदायसँग जोडिन चाहन्छन् । यी सबै अनुभव भेटिने एउटा गन्तव्य हो – अपि-नम्पा । यहाँको मौलिकता र आत्मीयता नै यस क्षेत्रको सबैभन्दा ठूलो पर्यटनको सम्पत्ति र शक्ति बन्न सक्छ ।
अपि–नम्पा नेपालको साहसिक, प्रकृति, संस्कृति, ग्रामीण तथा वेलनेस पर्यटनको महत्वपूर्ण गन्तव्य हो ।

अपि-नम्पा गाउँपालिकाको नेतृत्व र पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहयोगमा व्यवस्थितरुपमा निर्माण गरिएका पदमार्ग, हिमाली बस्तीहरूमा उपलब्ध होमस्टे तथा होटल, स्थानीय खानपान, धार्मिक तथा सांस्कृतिक सम्पदा र संरक्षण क्षेत्रको जैविक विविधताले यसलाई विविध पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ।
तर यसको विकास गर्दा प्रकृतिको मौलिकता, स्थानीय समुदायको स्वामित्व र वातावरणीय संवेदनशीलतालाई प्राथमिकता दिन आवश्यक छ । हाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनाको सहयोग र अपि-नम्पा गाउँपालिकाको सहकार्यमा गन्तव्य स्तरोन्नतीका लागि सकारात्मक प्रयासहरू भएका छन् ।

पदमार्गको नियमित मर्मतसम्भार, सूचना तथा संकेत प्रणाली, सुरक्षित आवास, सरसफाइ, स्वास्थ्य तथा उद्धार सेवा, सञ्चार सुविधा र स्थानीय गाइडहरूको क्षमता विकासमा थप ध्यान दिन आवश्यक देखिन्छ । स्थानीय उत्पादन, कृषि, खानपान र हस्तकलालाई पर्यटनसँग जोड्न सके समुदायको आयआर्जन र रोजगारीमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।
विशेषगरी अपि–नम्पालाई एउटा मात्र बेसक्याम्पको गन्तव्यका रूपमा नभई लटिनाथ, घुसा, सिती, धौली ओडार र अपि बेसक्याम्पलाई जोड्ने समग्र अनुभव बटुल्ने पर्यटन मार्गका रूपमा ब्रान्डिङ गर्न सकिन्छ । यसले सुदूरपश्चिमको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ पहिचान दिन सक्छ ।
फेरि फर्कने रहर
यो यात्राले एउटा कुरा फेरि प्रमाणित गर्यो- नेपालको पर्यटनको वास्तविक शक्ति केवल हिमाल र प्राकृतिक सौन्दर्यमा मात्र छैन; यहाँको संस्कृति, समुदाय, आतिथ्य र प्रकृतिसँग जोडिएको जीवनशैलीमा पनि छ।

अपि–नम्पा केवल पुग्नुपर्ने गन्तव्य मात्र होइन, अनुभव गर्नुपर्ने संसार हो । यसले शरीरलाई सक्रिय बनाउँछ, मनलाई शान्त बनाउँछ र आत्मविश्वासलाई थप बलियो बनाउँछ । साहसिक सौन्दर्यले आकर्षित गर्ने, सत्प्रेरणाले ऊर्जा भर्ने र आत्मीय सत्कारले मन जित्ने अपि–नम्पा- तिमीसम्म पुग्नु वास्तवमै एउटा साँचो प्रेमसम्म पुग्नुजत्तिकै प्रेमिल छ । अपि-नम्पा तिमी जीवनभर सम्झनामा रहिरहने छौं ।
फेरि भेटौँला !


(लेखक नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।)
प्रतिक्रिया 4