+
+
Shares

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टर्कीएको अन्ताल्यास्थित कोप–३१ सम्मेलन केन्द्रमा जलवायु न्यायको माग गर्दै नागरिक समाजका प्रतिनिधि र प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीहरूले जलवायु सङ्कटमा परेका मुलुकको ऋण मिनाहा गरी जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका छन्।
  • नेपालकी सुजिता माथेमाले ‘लस एण्ड ड्यामेज’ र ‘ग्रिन क्लाइमेट फन्ड’ बाट ऋण बढी आइरहेको भन्दै जलवायु वित्त ऋण होइन, अनुदान हुनुपर्ने बताइन्।
  • प्रदर्शनकारीहरूले ‘ऋण मिनाहा गर’, ‘हाम्रो भविष्यका लागि लगानी गर’ र ‘जलवायु ऋण अन्त्य गर’ जस्ता नारा लगाएका छन्।

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको मारमा परेका मुलुकको ऋण मिनाहा गर्न तथा जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका हुन् ।

प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै नेपालको नागरिक समाजकी प्रतिनिधि सुजिता माथेमाले कोप–३१ लाई अघिल्ला प्रतिबद्धता कार्यान्वयन गर्ने सम्मेलन (कोप अफ इम्प्लिमेन्टेसन) भनिए पनि सोअनुरूप प्रगति नदेखिएको बताइन् ।

जलवायुजन्य विपद्का लागि जिम्मेवार प्रदूषकहरूले प्रतिवद्धताअनुसारको रकम नदिएको उल्लेख गर्दै उनले ‘लस एण्ड ड्यामेज’ र ‘ग्रिन क्लाइमेट फन्ड’ लगायतका संयन्त्रबाट अनुदानको सट्टा ऋण बढी आइरहेकोमा चिन्ता व्यक्त गरिन् ।

‘ऋण आइसकेपछि त्यसको सावाँ–ब्याज तिर्दा पहिले नै प्रभावित देशहरूमाथि दोहोरो भार परेको छ,’ माथेमाले भनिन्, ‘ऋण न्यायबिनाको जलवायु वित्त, जलवायु न्याय होइन । जलवायु वित्त ऋणका रूपमा होइन, अनुदानका रूपमा आउनुपर्छ र क्षतिका लागि जिम्मेवार प्रदूषकहरूले नै भुक्तानी गर्नुपर्छ ।’

प्रदर्शनकारीहरूले ‘ऋण मिनाहा गर’, ‘हाम्रो भविष्यका लागि लगानी गर’ र ‘जलवायु ऋण अन्त्य गर’ जस्ता नारा लगाउँदै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले जलवायु सङ्कट र ऋण सङ्कटबीच गहिरो सम्बन्ध रहेको भन्दै ऋणको बोझले विकासशील तथा जोखिममा रहेका मुलुकको जलवायु कार्ययोजना प्रभावित भइरहेको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरूले उच्च ब्याजदरमा लिइएका ऋण तिर्नुपर्ने बाध्यताका कारण धेरै मुलुकले जलवायु संरक्षणमा लगानी गर्न नसकेको बताएका छन् । ऋण चुक्ता गर्नकै लागि कतिपय मुलुक जीवाश्म इन्धनमा आधारित ऊर्जा र औद्योगिक कृषिको विस्तार गर्न बाध्य भइरहेको उनीहरूको भनाइ छ । जलवायु सङ्कटबाट प्रभावित मुलुकलाई पुनरुत्थान, विपद् व्यवस्थापन, उत्थानशीलता विकास तथा जलवायु कार्यका लागि पर्याप्त वित्तीय स्रोत आवश्यक रहेको प्रदर्शनकारीहरूले बताएका छन् । उनीहरूले ऋण मिनाहा गरेर सरकारले जलवायु कार्यमा खर्च गर्न सक्ने वित्तीय ठाउँ सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले गीत, सामूहिक नाराबाजी र तालिबद्ध प्रस्तुतिमार्फत जलवायु न्यायको आवाज उठाएका छन् । ऋण सङ्कट र जलवायु सङ्कटलाई एकअर्कासँग जोडिएको समस्याका रूपमा चित्रण गर्दै उनीहरूले असमानता र जलवायु परिवर्तनविरुद्ध संयुक्त रूपमा अघि बढ्न विश्व समुदायलाई आह्वान गरेका थिए । प्रदर्शनकारीहरूले जलवायु परिवर्तनको जिम्मेवारी र त्यसको असरबीच रहेको असमानता अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रभावित मुलुकलाई ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?