२८ कार्तिक, सुर्खेत । भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक जाजरकोट दरबार र जिल्ला अदालत भवन पुनर्निर्माण हुने भएको छ ।
१७ कात्तिक २०८० को जाजरकोट भूकम्पबाट क्षतिग्रस्त यी संरचनाहरूको पुनर्निर्माणका लागि बजेट स्वीकृत भएको प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले बताए ।
सांसद बुढाका अनुसार उक्त क्षतिग्रस्त संरचनाहरूको निर्माणका लागि ४८ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ । सेतो दरबारका लागि २० करोड, रातो दरबारका लागि आठ करोड र जिल्ला अदालत भवनका लागि २० करोड रुपैयाँ स्वीकृत भएको छ ।
आवश्यक स्वीकृति प्राप्त भइसकेकाले छठ पर्व लगत्तै ठेक्का प्रक्रिया अघि बढाउने र सम्भवतः २०८३ सालको वसन्त पञ्चमीदेखि निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको सांसद बुढाले बताए ।
विगतमा पटक पटक बजेट विनियोजन भए पनि स्रोत सुनिश्चितता नहुँदा पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन ।
जाजरकोटको सदरमुकाम खलङ्गामा रहेका यी दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्त्वपूर्ण सम्पदा हुन् ।
तत्कालीन जाजरकोट राज्यको शासन सञ्चालनसँग सम्बन्धित रातो दरबारको निर्माणकालबारे ऐतिहासिक स्रोतमा फरक विवरण पाइन्छ ।
प्रतिक्रिया 4