अमेरिकी गुप्तचर निकायहरूको इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटा मिसाइल रहेको अनुमान गरेका छन् ।
अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले यसबारे रिपोर्ट प्रकाशित गरेको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले जनाएअनुसार पूर्ण युद्ध पुनः सुरु भएको अवस्थामा इरानले आफ्ना मिसाइलमार्फत अमेरिका र उसका सहयोगीका सैन्य अखडा तथा अन्य रणनीतिक केन्द्रमा आक्रमण गर्न सक्ने पर्याप्त क्षमता राख्छ ।
रिपोर्टअनुसार इरानसँग रहेका मिसाइलको यकिन संख्या पत्ता लगाउन भने कठिन छ । मिसाइलहरूको निगरानी गर्न र तिनको वास्तविक अवस्थाबारे जानकारी संकलन गर्न चुनौती रहेकाले संख्या अनुमान गर्न समस्या भएको अधिकारीहरूले बताएका छन् ।
इरानसँग रहेका मिसाइलमध्ये कति आक्रमणका लागि तयारी अवस्थामा छन् र कति भण्डारणमा छन् भन्ने विषयमा पनि अमेरिकी अधिकारीहरूको अनुमानप्रति विश्वासको स्तर कम रहेको बताइएको छ । यद्यपि, इरानसँग अझै ठूलो संख्यामा मिसाइल भण्डार रहेको उनीहरूको आकलन छ ।
यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिका र इरानबीचको अनिश्चित अवस्थालाई लामो समयसम्म कायम राख्न नसकिने बताएका छन् ।
‘हामी न युद्ध न शान्ति’को अनिश्चित अवस्थामा रहिरहने छैनौँ,’ उनले भनेका छन् ।
उनले अमेरिकाले इरानका सातवटा उचित सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला रहने पनि बताएका छन् ।
‘यदि अमेरिकाले हाम्रा सातवटा उचित सर्त स्वीकार गर्छ भने सम्झौताको बाटो खुला रहनेछ । तर अमेरिकाले फेरि अर्को गल्ती गरेमा युद्धभूमिको भूगोल इरानी सशस्त्र बलले निर्धारण गर्नेछन्,’ गालिबाफले चेतावनी दिएका छन् ।
प्रतिक्रिया 4