News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले अनुसन्धानका आधारमा लिखित परीक्षा नलिई प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी १३० जनाको फास्ट ट्रयाक नियुक्ति प्रक्रिया अघि बढाएको छ।
- त्रिवि सेवा आयोगका अनुसार ४ जनाको सिफारिस भइसकेको छ भने बाँकीको मूल्याङ्कन भइरहेको छ, र नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने छ।
- नियुक्तिका लागि २०० पूर्णाङ्कमा अनुसन्धान तथा कृति प्रकाशनलाई १५०, शिक्षण सेवालाई १०, शोध निर्देशनलाई २० र अन्तर्वार्तालाई २० अङ्क तोकिएको छ।
२९, कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा फास्ट ट्रयाकबाट प्राध्यापकको नियुक्ति प्रक्रिया अगाडि बढेको छ । त्रिवि सेवा आयोगका अनुसार अनुसन्धानको आधारमा लिखित परीक्षा नलिइ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी १३० जनाको विज्ञापन २०८२ जेठमा खुलाइएका थियो ।
जसमध्ये १०० जना त्रिविको खर्चमा र ३० जना विश्वविद्यालय अनुदान आयोगको खर्चमा हो। तर त्रिविमा पदाधिकारीको नियुक्तमा ढिलाइ र फास्ट ट्रयाकबाट नियुक्त गर्न लागिएको भन्दै विरोध भएपछि प्रक्रिया रोकिएको थियो ।
त्रिविका अनुसार फास्ट ट्रयाक पनि खुला प्रतिस्पर्धाबाट नै हुनेछ । पदाधिकारीले पूर्णता पाएसँगै अनुसन्धानको आधारमा प्राध्यापक नियुक्तिको प्रक्रिया अगाडि बढेको हो । ‘चार जनाको सिफारिस भइसकेको छ । बाँकीको मूल्याङ्नको काम भइरहेको छ,’ त्रिवि सेवा आयोगका कार्यालय प्रमुख विष्णुप्रसाद अर्यालले भने ।
विदेशमा रहेका विज्ञलाई ल्याउने उद्देश्यले त्रिविले फास्ट ट्रयाकबाट नियुक्ति गर्न लागेको हो । अनुसन्धानबाट आउँदा लिखित परीक्षा भने दिनुपर्ने छैन । तर पीएचडी, अनुसन्धान र पब्लिकेसन गरेको हुनुपर्छ । राम्रो जर्नलमा रिसर्च प्रकाशित भएको हुनुपर्छ। त्रिविका अनुसार अन्तर्वार्तामा विदेशी विशेषज्ञसमेत राखिएको हुन्छ ।
त्रिभुवन विश्वविद्यालय अनुसन्धानात्मक विशिष्टताको आधारमा खुला प्रतियोगिताद्वारा शिक्षकहरूको नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०८२ मा मापदण्ड तोकिएको छ । नियुक्तिको लागि सिफारिस गर्ने आधार २०० पूर्णाङ्कको रहेको छ । जसमा अनुसन्धान तथा कृति प्रकाशनको १५०, शिक्षण सेवाको १०, शोध निर्देशनको २० र अन्तवार्ताको २० अङ्क गरी २०० पूर्णाङ्क राखिएको छ ।
आवेदन दिने उम्मेदवारहरूको लागि निर्धारित पूर्णाङ्कमा २०० मा प्राध्यापक पदमा ७० प्रातिशत, सहप्राध्यापक पदमा ६५ प्रतिशत र उपप्राध्यापक पदमा ६० प्रतिशत भन्दा कम अङ्क प्राप्त गरेका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस नगरिने त्रिविले जनाएको छ ।
त्रिविले २०७३ असोज मा पहिलो पटक ट्रायलस्वरुप ५ जना प्राध्यापक र ५ जना सहप्राध्यापक नियुक्ति गरेको थियो । त्यसैगरी २०७६ पुस मा ५ जना प्राध्यापक र २६ जना सहायक प्राध्यापकलाई फास्ट ट्र्याकबाट नियुक्ति गरिएको थियो ।
त्रिवि अधिकारीका अनुसार अनुसन्धानको आधारमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्ति गर्ने प्रक्रिया अन्य देशमा पनि रहेको छ । पीएचडी गरेर विदेशमा बसेका नेपालीलाई स्वदेशकै विश्वविद्यालययमा फर्काउने अवसरको रुपमा त्रिविले लिएको छ ।
प्रतिक्रिया 4