१५ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारीका संघसंगठनले सभासदको प्रतिनिधित्वबिना विश्वविद्यालयको सभा बसेमा कानुनसम्मत नहुने बताएका छन् ।
‘कानुनले चिन्ने सभासदबिना हुने कुनै पनि त्रिवि सभा कानुनसम्मत हुनै सक्दैन भन्ने कुरामा हामी स्पष्ट छौं,’ बिहीबार एक विज्ञप्ति निकालेर उनीहरूले भनेका छन्, ‘तानाशाही शैलीमा हुने कुनैपनि क्रियाकलापको घोर भर्त्सना गर्दै यस्तो परिस्थितिबाट उत्पन्न हुनसक्ने गम्भीर परिस्थितिको जिम्मेवारी त्रिवि पदाधिकारीको हुने कुराको चेतावनी समेत दिन चाहन्छौं ।’
त्रिविले आगामी असोज २२ गतेका लागि सभा बोलाएको छ ।
त्रिभुवन विश्वविद्यालय ऐन २०४९ ले पाँचजना निर्वाचित प्राध्यापक, स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमध्ये दुई जना, नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ तथा त्रिवि कर्मचारी संघको उपस्थिति रहने भनेको छ ।
सरकारले ल्याएको अध्यादेश निष्क्रिय भइसकेको र अन्य कुनै पनि विधेयक वा कानुन नबनेको अवस्थामा ऐनअनुसार सहभागिता हुनुपर्ने माग उनीहरूको छ ।
प्रतिक्रिया 4