News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुकाे मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ, तर सडक नहुँदा सेवा पहुँच सहज छैन ।
- करोडौँ खर्चेर बनेको अस्पताल निर्माण तोकिएको समयभन्दा दुई वर्षभन्दा बढी ढिलो सम्पन्न भयो, र हाल एक चिकित्सकसहित आठ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
- गाउँपालिकाका कुनै पनि वडामा मोटरबाटो नपुगेकाले बिरामीलाई अस्पताल पुर्याउन घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्छ ।
३० कात्तिक, सुर्खेत । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुको मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । तर, करोडौँ रुपैयाँ खर्चेर भवन निर्माण भए पनि त्यहाँसम्म पुग्ने सडक नहुँदा स्थानीयले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यताले अस्पताल बने पनि सबै नागरिकका लागि सेवा सहज पहुँचमा नपुगेको हो ।
संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ अवधारणाअनुसार निर्माण सम्पन्न मुगुम कार्मारोङ आधारभूत अस्पताल कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उदघाटन गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा भर्चुअल माध्यमबाट अस्पतालको शिलान्यास गरेका थिए । त्यसपछि १७ वैशाख २०७८ मा भौतिक रूपमा भवन निर्माणको शिलान्यास गरियो । सम्झौताअनुसार ३० असार २०८० भित्र सम्पन्न हुनुपर्ने काम डीपीआर, यातायातको असुविधा र निर्माण सामग्री ढुवानीमा देखिएको समस्या लगायतका कारण तोकिएको समयभन्दा दुई वर्षभन्दा बढी ढिलो सम्पन्न भएको हो ।
अस्पताल निर्माणमा कुल १० करोड २४ लाख ९३ हजार १६० रुपैयाँ खर्च भएको छ । हाल एक चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । तर, अस्पताल सञ्चालनका लागि आवश्यक स्थायी दरबन्दी र दक्ष जनशक्तिको व्यवस्थापन अझै चुनौतीपूर्ण छ ।
अस्पताल बन्यो, तर बिरामी पुग्ने मोटर बाटो छैन
मुगुम कार्मारोङ कर्णालीका दुर्गम स्थानीय तहमध्ये एक हो, जुन राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । नौवटा वडा रहेको यस गाउँपालिकाको कुनै पनि वडामा मोटरबाटो पुगेको छैन ।
गाउँपालिकाको केन्द्रसम्म सडक पुर्याउने उद्देश्यले गमगढी–नाक्चेनाग्ला सडक निर्माण अघि बढाइए पनि लामो समयदेखि अपेक्षित गति लिन सकेको छैन ।

सडकको अभावमा दैनिक उपभोग्य सामग्रीदेखि औषधि, स्वास्थ्य उपकरण र निर्माण सामग्रीसमेत मानिस तथा खच्चडमार्फत ढुवानी गर्नुपर्ने बाध्यता छ । बिरामीलाई अस्पतालसम्म पुर्याउन पनि स्थानीयले घण्टौँदेखि दिनौँसम्म पैदल यात्रा गर्नुपर्छ । कतिपय बस्तीबाट रिउस पुग्न एकदेखि दुई दिन लाग्ने भएकाले सामान्य स्वास्थ्य समस्यामा समेत तत्काल उपचार पाउन कठिन भएको स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाले बताए ।
गमगढी–नाक्चेनाग्ला सडकको सर्वेक्षण आर्थिक वर्ष २०६२÷६३ मा सुरु भएको थियो भने निर्माण २०७२÷७३ बाट अघि बढाइएको हो । ९३ किलोमिटर लामो यो सडकमा एक दशकभन्दा बढी समय बितिसक्दा पनि करिब १८.५ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ । बजेटको निरन्तरता नहुनु, कडा चट्टानी भूगोल र सरकारी प्राथमिकताको अभावले समस्या थपिएको छ ।
सरकारको प्रतिबद्धता, कार्यान्वयनको प्रतीक्षा
अस्पताल भवन उदघाटन गर्दै मुख्यमन्त्री शाहीले स्वास्थ्य सेवामा स्थानीय तहलाई सबल बनाउने संघीय सरकारको नीतिमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए । सडक सञ्जालले नछोएको कार्मारोङमा बनेको अस्पताललाई आवश्यक जनशक्ति र उपकरणयुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो ।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु तीनै तहका सरकारको दायित्व भएको उल्लेख गर्दै शाहीले सेवा गुणस्तरीय बनाउने प्रमुख जिम्मेवारी स्थानीय तहको रहने बताए ।
अस्पताल भवन संघीय सरकारले बनाए पनि सञ्चालन र व्यवस्थापन प्रदेश तथा स्थानीय सरकारले समन्वय गरेर गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए ।
अस्पतालभन्दा धामीझाँक्रीप्रति विश्वास
भौतिक पूर्वाधारको अभावसँगै सामाजिक तथा सांस्कृतिक मान्यताले पनि मुगुम कार्मारोङमा स्वास्थ्य सेवाको पहुँचमा प्रभाव पारेको छ । गाउँगाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था भए पनि कतिपय नागरिक बिरामी हुँदा अस्पताल जानुको सट्टा परम्परागत उपचार पद्धति, धामीझाँक्री र लामाको प्रतीक्षामा बस्ने गरेका छन् । रोग बल्झिएर अवस्था जटिल भएपछि मात्रै स्वास्थ्य संस्था पुग्ने प्रवृत्ति पनि उत्तिकै छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बुढाका अनुसार स्वास्थ्यसम्बन्धी सचेतनाको कमी, सामाजिक तथा धार्मिक मान्यता र स्वास्थ्यकर्मीसँग आफ्ना समस्या खुलस्त राख्न नसक्ने प्रवृत्तिका कारण नागरिक उपचारबाट वञ्चित हुने अवस्था छ ।
बुढा गाउँगाउँ पुगेर स्वास्थ्य सचेतना, सामान्य स्वास्थ्य परीक्षण र औषधि प्रयोगसम्बन्धी अभियान पनि सञ्चालन गर्दै आएका छन् । उनको अभियानमा सामान्य स्वास्थ्य जाँच, औषधि वितरण, उच्च रक्तचाप परीक्षण, दन्त सेवा, नसर्ने रोगको पहिचान तथा परामर्श दिइन्छ । यसै क्रममा नागरिकले प्रयोग गरिरहेका औषधिको अवस्था पनि जाँचिन्छ ।

उनका अनुसार कतिपय नागरिक स्वास्थ्य समस्या लुकाउने, स्वास्थ्यकर्मीसँग भन्न लजाउने र आफैँ औषधि किनेर खाने गर्छन् । चिकित्सकले दिएको औषधि पूरा मात्रा नखाने तथा रोग निको भएको ठानेर बीचमै औषधि छोड्ने समस्या पनि देखिन्छ । घरमा लामो समयदेखि थन्किएका औषधिको थुप्रो पनि भेटिने गरेको छ ।
गाउँगाउँमा सेवा दिँदा बुढाले औषधिको गलत प्रयोग र म्याद गुज्रिएका औषधि सेवनका घटना पनि फेला पारेका छन् । एउटा गाउँमा क्षयरोगको औषधि खानुपर्ने एक महिला अर्कै औषधि सेवन गरिरहेको अवस्थामा भेटिएपछि स्वास्थ्य परीक्षण र परामर्शमार्फत उपचार प्रक्रियामा ल्याइएको थियो । अर्को गाउँमा छारे रोगका बिरामी म्याद गुज्रिएको औषधि सेवन गरिरहेको भेटिएका थिए ।
बिदाको दिन शनिबार सञ्चालन गरिने यस अभियानमार्फत घरमा थन्किएका र म्याद नाघेका औषधि छुट्याउने, औषधिको मात्रा र सेवन विधिबारे जानकारी दिने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि खान प्रेरित गर्ने काम भइरहेको बुढाले बताए ।
उनका भनाइमा गाउँपालिकामा स्वास्थ्य संस्था भए पनि भौगोलिक दूरी र परम्परागत विश्वासका कारण धेरै नागरिकले समयमै उपचार पाउन सकेका छैनन् । स्वास्थ्य सेवा प्रभावकारी बनाउन भवन र स्वास्थ्यकर्मी मात्र पर्याप्त नभई नागरिकमा स्वास्थ्य सचेतना बढाउनु पनि उत्तिकै आवश्यक छ ।

१४ स्वास्थ्य संस्था, तर जनशक्ति र पहुँचको चुनौती
मुगुम कार्मारोङ गाउँपालिकामा एउटा आधारभूत अस्पताल सहित १४ वटा स्वास्थ्य संस्था छन् । गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालित भए पनि पर्याप्त दरबन्दी, दक्ष जनशक्ति र भौतिक पहुँचको अभावले स्वास्थ्य सेवा प्रभावकारी बनाउन कठिन भइरहेको छ ।
विशेषगरी आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका तथा दीर्घरोगीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा जोखिम बढ्ने गरेको छ । सडक नहुँदा स्वास्थ्य उपकरण र औषधि ढुवानी पनि कठिन र खर्चिलो छ ।
सामान्य उपचारका लागि समेत लामो दूरी पैदल हिँड्नुपर्ने भएपछि नागरिक रोग सहेर बस्ने वा परम्परागत उपचारमा निर्भर हुने अवस्था सिर्जना भएको छ ।
प्रतिक्रिया 4