News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई आसन्न भारत भ्रमणमा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्न आग्रह गरेका छन्।
- पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संसद् र राजनीतिक दलहरूले उठाएको आपत्तिलाई स्मरण गराएका छन्।
- उनले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीलाई अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादी भन्दै आफ्नै पार्टीसँग संवाद गर्न आग्रह गरेका छन्।
३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्।
नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनले त्यसलाई व्यवहारबाटै सच्याउनुपर्ने बताएका हुन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले समेत आपत्ति जनाइसकेको स्मरण गराए।
प्रधानमन्त्रीले संसद्मा सीमा विवाद समाधानका लागि तेस्रो पक्षलाई सहभागी गराउने आशयको अभिव्यक्ति दिएपछि त्यसको एउटा पक्ष सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति भने नसच्याएको पोखरेलको आरोप छ।
नेपाल र भारतबीचको सीमा समस्याबारे दुवै पक्षबीच दस्तावेजीकरण भइसकेको उल्लेख गर्दै उनले सीमा विवाद नेपालको आफ्नै सरोकारको विषय भएको स्पष्ट पारे। यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्नेमा उल्टै नेपालको दाबी कमजोर पार्ने अभिव्यक्ति दिएको उनको भनाइ छ।
महासचिव पोखरेलले प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपाल–भारतबीच रहेका समस्याहरू, विशेषगरी सीमा विवाद समाधानको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।
प्रधानमन्त्रीले विगतमा आफ्नो कार्यालयमा ुग्रेटर नेपालुको नक्सा राखेर सन्देश दिन खोजेको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले अहिलेको मुख्य दायित्व नेपालको वर्तमान सीमाङ्कनलाई सुरक्षित गर्नु रहेको औँल्याए।
पोखरेलले भने, ‘नेपाल–भारतबीचको सीमा समस्या दुवै देशका दस्तावेजमा अभिलेखित विषय भएकाले यसको समाधानमा सरकारले नेपालको पक्षमा दृढतापूर्वक पैरवी गर्नुपर्छ। प्रधानमन्त्रीले आगामी भारत भ्रमणका क्रममा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउनुहुनेछ भन्ने अपेक्षा छ।’
ग्रेटर नेपालको विषय इतिहाससँग जोडिएको भए पनि पछिल्लो समयको सीमाङ्कनको संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ।
यसैगरी, पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीको समेत आलोचना गरेका छन्। आफ्नै पार्टीसँग संवाद गर्न छाडेका प्रधानमन्त्रीबाट प्रतिपक्षी दलहरूसँग संवादको अपेक्षा गर्न नसकिने उनको टिप्पणी छ।
प्रधानमन्त्रीको कार्यशैली स्वाभाविक रूपमा लोकतान्त्रिक नभएको भन्दै उनले त्यसलाई अलोकतान्त्रिक, स्वेच्छाचारी र अधिनायकवादीको संज्ञा दिए। लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक हुने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरे।
उनले भने, ‘प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति संसद् र राजनीतिक दलहरूले आपत्ति जनाइसकेका छन्। उहाँले तेस्रो पक्षको उपस्थितिसम्बन्धी अभिव्यक्ति सच्याए पनि नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति सच्याउनुभएको छैन।‘
महासचिव पोखरेलले थपे, ‘त्यसैगरी, प्रधानमन्त्रीको राजनीतिक कार्यशैली लोकतान्त्रिक र संवादमुखी देखिएको छैन। आफ्नै पार्टीसँग संवाद नगर्ने प्रधानमन्त्रीबाट प्रतिपक्षसँग संवादको अपेक्षा गर्न कठिन छ। उहाँको स्वेच्छाचारी र अधिनायकवादी कार्यशैली सच्याउनुपर्छ भन्ने हाम्रो आग्रह हो।’
प्रतिक्रिया 4