News Summary
Generated by OK AI. Editorially reviewed.- न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि अक्टोबरमा साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको उद्योग सर्वेक्षणले देखाएको छ।
- बीएनजेड–बिजनेसएनजेडको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स ०.८ अंकले बढेर ५१.७ पुगेको छ, र यो लगातार पाँच महिना ५० भन्दा माथि छ।
- क्याथरिन रिचले नोभेम्बर ७ को आमनिर्वाचनअघि धेरै व्यवसायीले लगानी स्थगित गरेको र नयाँ सरकार गठनसँगै खर्च तथा लगानीका योजना अघि बढ्न सक्ने बताए।
३० कात्तिक, वेलिङ्टन (रासस/सिन्ह्वा)। न्युजिल्यान्डको सेवा क्षेत्रमा व्यावसायिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै साढे तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अक्टोबर महिनामा सेवा क्षेत्रको विस्तारले गति लिएसँगै मुलुकको समग्र अर्थतन्त्रमा सुधारको संकेत देखिएको एक उद्योग सर्वेक्षणले जनाएको छ ।
बीएनजेड–बिजनेसएनजेडले सार्वजनिक गरेको पर्फर्मेन्स अफ सर्भिसेज इन्डेक्स (पीएसआई) अक्टोबरमा ०.८ अंकले बढेर ५१.७ पुगेको छ । सेप्टेम्बरमा उक्त सूचक ५०.९ अंक थियो। लगातार पाँच महिनादेखि ५० अंकको सीमाभन्दा माथि रहेको यस सूचकले न्युजिल्यान्डको सेवा क्षेत्र निरन्तर विस्तार भइरहेको देखाएको छ । ५० अंकभन्दा माथिको सूचकले व्यावसायिक गतिविधिमा विस्तार र तलको सूचकले संकुचन जनाउँछ ।
बिजनेसएनजेडकी प्रमुख कार्यकारी क्याथरिन रिचले पछिल्लो तथ्यांकलाई सेवा क्षेत्रका लागि उत्साहजनक संकेतका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार गर्मीयाम नजिकिँदै गर्दा व्यावसायिक गतिविधि र नयाँ कारोबार दुवैमा वृद्धि देखिएको छ ।
उहाँले नोभेम्बर ७ मा सम्पन्न आमनिर्वाचनअघि धेरै व्यवसायीले लगानी तथा अन्य महत्वपूर्ण व्यावसायिक निर्णय स्थगित गरेको बताए। नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै रोकिएका खर्च तथा लगानीका योजना कार्यान्वयनमा आउन सक्ने उनको अपेक्षा छ ।
सर्वेक्षणअनुसार नयाँ अर्डर तथा व्यवसायसम्बन्धी उपसूचक ५३ अंकमा पुगेको छ भने गतिविधि तथा बिक्रीसम्बन्धी उपसूचक ५२.६ अंक कायम भएको छ । यी दुवै सूचकले सेवा क्षेत्रमा माग र कारोबार बढिरहेको संकेत गरेका छन् । यद्यपि, रोजगारीसम्बन्धी सूचक ४९.९ अंकमा रहेकाले रोजगार बजारमा अझै अपेक्षित सुधार हुन सकेको छैन ।
व्यवसायीहरूले इन्धनको मूल्यवृद्धि, जीवनयापनको बढ्दो लागत, ब्याजदर तथा राजनीतिक अनिश्चिततालाई प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् । तर गर्मीयामको तयारी, क्रिसमसका लागि बढ्दो बुकिङ र विदेशी पर्यटकको आगमनले सेवा क्षेत्रलाई सकारात्मक ऊर्जा दिएको छ ।
बीएनजेडका वरिष्ठ अर्थशास्त्री डग स्टिलले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याउने सेवा क्षेत्रमा देखिएको सुधार स्वागतयोग्य रहेको बताएका छन् । उनका अनुसार यो गति निरन्तर कायम रहे न्युजिल्यान्डको अर्थतन्त्र व्यापक रूपमा पुनरुत्थान भइरहेको थप प्रमाण प्राप्त हुनेछ ।
सेवा क्षेत्रमा बढ्दो गतिविधिले आगामी महिनामा व्यवसाय, पर्यटन र उपभोगमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4