News Summary
Generated by OK AI. Editorially reviewed.- एनआरएनए न्युजिल्यान्ड र न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सले अकल्यान्डमा ‘जब विनिङ एन्ड इन्टरयाक्सन २०२६’ आयोजना गरी ७० भन्दा बढी नेपाली विद्यार्थी र युवालाई रोजगारीसम्बन्धी जानकारी दिए।
- कार्यक्रममा सीभी तयार गर्ने, अन्तर्वार्तामा प्रस्तुत हुने र रोजगारदातासँग प्रभावकारी संवाद गर्ने विषयमा व्यावहारिक सुझाव दिइयो।
- मोन्टाना ग्रुपका रोशन शाक्यले १५ वर्षे अनुभव सुनाउँदै करियर निर्माणमा सीप, धैर्य र निरन्तर सिकाइको महत्त्व बताए।
सिड्नी । न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, आफ्नो सीप प्रस्तुत गर्न र व्यावसायिक सञ्जाल विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यले ‘जब विनिङ एन्ड इन्टरयाक्सन २०२६’ कार्यक्रम सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्ड र न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा आइतबार अकल्यान्डस्थित युनिभर्सिटी अफ अकल्यान्डको ‘सर ओवेन जी ग्लेन बिल्डिङ’मा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा ७० भन्दा बढी नेपाली विद्यार्थी तथा युवाको सहभागिता थियो।
कार्यक्रममा न्युजिल्यान्डको रोजगार बजारमा प्रवेश गर्न चाहने नेपाली विद्यार्थीलाई सीभी तयार गर्ने, अन्तर्वार्तामा प्रभावकारी रूपमा प्रस्तुत हुने र रोजगारीका सम्भावित अवसर पहिचान गर्ने विषयमा व्यावहारिक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका मुख्य वक्ता ‘मोन्टाना ग्रुप’का फुड एन्ड बेभरेज म्याजेनर रोशन शाक्यले नेपाल, भारत, मलेसिया र न्युजिल्यान्डको आतिथ्य क्षेत्रमा सँगालेको आफ्नो १५ वर्षे अनुभव सुनाएका थिए। उनले करियर निर्माणका लागि आवश्यक सीप, धैर्य र निरन्तर सिकाइको महत्त्वबारे प्रकाश पारे।
प्यानल छलफलका क्रममा अनुभवी पेसाकर्मी तथा विज्ञहरूले न्युजिल्यान्डमा रोजगारी खोज्दा आइपर्ने चुनौती, रोजगारदातासँगको प्रभावकारी संवाद र अन्तर्वार्ताको तयारीबारे सहभागीका जिज्ञासाको सम्बोधन गर्दै उपयोगी सुझाव दिएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजित ‘नेटवर्किङ’ सत्रले सहभागीलाई विभिन्न क्षेत्रका पेसाकर्मी, सम्भावित रोजगारदाता तथा मार्गदर्शकहरूसँग परिचित हुने अवसरसमेत प्रदान गरेको थियो।
अनलाइनखबरसँग कुरा गर्दै न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जनले नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीको रोजगारी र भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।
एनआरएनए न्युजिल्यान्डसँगको सहकार्यमा आगामी दिनमा पनि यस्ता उपयोगी तथा परिणाममुखी कार्यक्रमलाई निरन्तरता दिने उनले जानकारी दिए। आयोजकले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने वक्ता, प्यानल सदस्य, स्वयंसेवक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ।
न्युजिल्यान्डमा आफ्नो भविष्य निर्माण गर्न चाहने नेपाली युवाका लागि यस्ता कार्यक्रमले रोजगारीसम्बन्धी जानकारी दिनुका साथै आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको महर्जजले बताए । आयोजकका अनुसार यो कार्यक्रम नेपाली समुदायको वृत्तिविकासका लागि चालिएका थप पहलहरूको सुरुवात मात्र हो।
प्रतिक्रिया 4