+
+
Shares

न्युजिल्यान्डको चुनावमा संसद् प्रवेशका लागि प्रतिस्पर्धा गर्दै दुई नेपाली मूलका युवा

पाल्मर्स्टन नर्थ निर्वाचन क्षेत्रबाट अपर्चुनिटी पार्टीका तर्फबाट नेत्र घिमिरे र क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रबाट ग्रीन पार्टीका तर्फबाट श्रीजन पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

प्रदीप तिमल्सिना प्रदीप तिमल्सिना
२०८३ कात्तिक १३ गते १६:२९

१३ कात्तिक, अक्ल्याण्ड । न्युजिल्यान्डको राष्ट्रिय राजनीतिमा नेपालीमूलका युवाहरूको उपस्थिति विस्तार हुन थालेको छ। आगामी नोभेम्बर ७ मा हुने आमनिर्वाचनमा नेपालीमूलका दुई युवा नेता फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेपछि न्युजिल्यान्डस्थित नेपाली समुदायमा पनि चुनावी चासो बढेको छ।

पाल्मर्स्टन नर्थ निर्वाचन क्षेत्रबाट अपर्चुनिटी पार्टीका तर्फबाट नेत्र घिमिरे र क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रबाट ग्रीन पार्टीका तर्फबाट श्रीजन पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

नोभेम्बर ७ को निर्वाचनले न्युजिल्यान्डको नयाँ संसद् चयन गर्नेछ र दलहरूले प्राप्त गर्ने समर्थनका आधारमा नयाँ सरकार तथा प्रधानमन्त्री चयन हुनेछन्।

प्रमाणमा आधारित नीतिका पक्षधर नेत्र

अपर्चुनिटी पार्टीबाट पाल्मर्स्टन नर्थमा उम्मेदवारी दिएका नेत्र घिमिरेको राजनीतिक प्राथमिकतामा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास रहेका छन्। नेपालको झापास्थित शरणार्थी शिविरमा जन्मिएर ११ वर्षको उमेरसम्म नेपालमै हुर्किएका घिमिरे हाल न्युजिल्यान्डको पाल्मर्स्टन नर्थमा बसोबास गर्दै आएका छन्।

पेसाले माध्यमिक विद्यालयका शिक्षक रहेका उनी प्रमाणमा आधारित नीति र दीर्घकालीन सोचका पक्षपाती हुन्।

अनलाइनखबरसँग कुराकानी गर्दै घिमिरेले अपर्चुनिटी पार्टीको दीर्घकालीन सोच र शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा प्रमाणमा आधारित नीतिले आफूलाई आकर्षित गरेको बताए। मतदातालाई कुनै राजनीतिक दलप्रति आँखा चिम्लिएर मत दिनुभन्दा सम्बन्धित दलको नीति र चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने योजनाबारे अध्ययन गर्न उनले आग्रह गरेका छन्।

उनको पार्टीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकार परिवर्तनसँगै नीति फेरिने प्रवृत्ति अन्त्य गर्दै दीर्घकालीन योजना अघि बढाउने प्रस्ताव गरेको छ। कर प्रणाली सुधार, नागरिकको आर्थिक सुरक्षा र आवासलाई थप पहुँचयोग्य बनाउने विषय पनि पार्टीका चुनावी एजेन्डामा छन्।

स्वच्छ ऊर्जा र दिगो अर्थतन्त्रका पक्षमा श्रीजन

ग्रीन पार्टीबाट क्राइस्टचर्चको विग्राम निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका श्रीजन पाण्डेको पुर्ख्यौली सम्बन्ध नेपालको धादिङसँग जोडिएको छ। अनलाइनखबरसँग कुरा गर्दै पाण्डेले सन् १९९६ मा आफ्ना अभिभावकसँगै न्युजिल्यान्ड बसाइँ सरेको जानकारी दिए।

अस्ट्रेलियाको क्यानबेरामा समेत विद्यालय शिक्षा हासिल गरेका उनको व्यावसायिक अनुभव स्वच्छ ऊर्जा, दिगो विकास र नीति निर्माणसँग जोडिएको छ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा पूर्वाधारको क्षेत्रमा काम गरेको अनुभवका आधारमा उनी वातावरण संरक्षणलाई आर्थिक विकास र रोजगारी सिर्जनासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्छन्।

सन् २०१५ देखि ग्रीन पार्टीसँग आबद्ध पाण्डेका चुनावी प्राथमिकतामा सर्वसाधारणको जीवनयापन सहज बनाउने, स्वास्थ्य सेवामा पहुँच बढाउने, साना व्यवसायलाई सहयोग गर्ने, बेरोजगारी र घरबारविहीनताको समस्या सम्बोधन गर्ने विषय रहेका छन्।

ग्रीन पार्टीको सन् २०२६ को घोषणापत्रमा ९६ प्रतिशत न्युजिल्यान्डवासीलाई आयकरमा राहत दिने प्रस्ताव अघि सारिएको छ। साना तथा मझौला व्यवसायका लागि विद्यमान २८ प्रतिशत कर्पोरेट करदर कायम राख्ने र अति धनी व्यक्ति तथा ठूला कम्पनीबाट थप योगदान लिने प्रस्ताव पनि घोषणापत्रमा समेटिएको छ।

न्युजिल्यान्डमा नेपाली समुदायको उपस्थिति शिक्षा, व्यवसाय, स्वास्थ्य, प्रविधि र सामाजिक सेवाका क्षेत्रमा विस्तार हुँदै गएको छ। घिमिरे र पाण्डेको राजनीतिक विचार र दल फरक भए पनि उनीहरूको उम्मेदवारीले आप्रवासी पृष्ठभूमिका नागरिकले पनि देशको भविष्य निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सक्छन् भन्ने सन्देश दिएको नेपाली समुदायका अगुवाहरू बताउँछन् ।

लेखक
प्रदीप तिमल्सिना

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?