+
+
Shares

भारतमा दुई दिन रहनेछन् प्रधानमन्त्री बालेन

नेपाली समयअनुसार ६ मंसिरको करिब ३ बजे दिल्ली पुग्ने प्रधानमन्त्री भोलिपल्ट साढे चार बजे स्वदेश फर्कंदा करिब साढे २५ घन्टा दिल्लीमा बिताउने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १८:३५
Photo Credit : तस्वीर- एआईको सहयोगमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाह ६ मंसिर अपराह्न दिल्ली जाने र ७ मंसिर ४:२० बजे नेपाल फर्कने गरी २५ घन्टे भारत भ्रमण तय भएको छ।
  • भ्रमणबारे औपचारिक निर्णय र घोषणा बाँकी रहेकाले तालिकामा फेरबदल हुने सम्भावना रहेको सरकारी स्रोतले जनाएको छ।
  • नेपालले भारतसँग २ खर्ब भारतीय रुपैयाँ सहयोग, थप हवाई रुट, रेलमार्ग, पाइपलाइन र अन्य थाती विषयमा सहमति खोज्ने तयारी गरेको छ।

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दुई दिनको मात्रै हुने भएको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ६ मंसिरको अपराह्न १:२५ बजे नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने छन् ।

त्यस्तै, उनी ७ मंसिरको ४:२० बजेको नेपाल वायुसेवा निगमकै नियमित उडानबाट नेपाल फर्कने पनि स्रोतले अनलाइनखबरलाई जानकारी दियो । नेपाली समयअनुसार ६ मंसिरको करिब ३ बजे दिल्ली पुग्ने प्रधानमन्त्री भोलिपल्ट साढे चार बजे स्वदेश फर्कंदा करिब साढे २५ घन्टा दिल्लीमा बिताउने छन् ।

यद्यपि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय र घोषणा हुन भने अझै बाँकी छ । त्यसको चाँजोपाँजो मिलाउनका लागि पर्यटनमन्त्री गनेश पौडेल मंगलबार दिल्ली जाँदैछन् । भ्रमण तालिकामा केही फेरबदल हुने सम्भावना पनि रहेको सरकारी स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने भन्ने चर्चा थियो । तर, उनको भ्रमण दुई दिनको मात्रै हुने र समयको हिसाबले २५ घन्टाको मात्रै हुने गरी तय भएको उच्च सरकारी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए । यद्यपि उनी गत सेप्टेम्बरको तेस्रो साता संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्युयोर्क गएका थिए । त्यहाँ पनि उनी महासभा सम्बोधन गरेलगत्तै फर्केका थिए ।

त्यही परम्परालाई कायम राख्दै प्रधानमन्त्री शाह भारतमा पनि २५ घन्टा मात्रै रहने गरी भ्रमण तय भएको हो ।

तर, प्रधानमन्त्रीले भारतमा रहँदा के-के गर्दै छन् भन्ने विस्तृत तालिकाबारे भने खुलिसकेको छैन ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल भारतबीचमा लामो समयदेखि थाती रहेका विषयहरू नै एजेन्डाका रुपमा रहने सरकारी स्रोतहरूले जनाएका छन् ।

नेपाललाई अनुदान तथा सहुलियतपूर्ण ऋणसहित गरेर २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोगको अनुरोध नेपालले गरेको स्रोतहरूले जनाएका छन् । त्यसमध्ये १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र थप १ खर्ब भारु अनुदानको हिस्सा रहनेछ । यसप्रति भारत सकारात्मक रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

१ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना नेपालको छ । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेसवे बनाउनका लागि ५० अर्ब भारुको प्रस्ताव नेपालले गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाललाई थप हवाई रुट प्रदान गर्न भारत सकारात्मक रहेको पनि स्रोतको भनाइ छ । साथै, नेपालका विभिन्न प्रमुख शहरहरू र भारतका दोस्रो तहका सहरबीच सिधा हवाई सम्बन्ध स्थापना गर्ने विषयमा पनि सहमति हुने सम्भावना रहेको स्रोतको भनाइ छ ।

यसका अतिरिक्त रक्सौल–काठमाडौं रेलमार्गको निर्माण, अयोध्या–जनकपुर रेल सञ्चालन एवम् क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणबारे पनि सम्झौताहरू हुने सम्भावना रहेको छ ।

महाकाली सन्धि भएको ३० वर्षसम्म टुंगिन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणलाई अघि बढाउन नेपालले जोड दिइरहेको छ । तर, यसमा बृहद राजनीतिक सहमति आवश्यक रहेको भारतको भनाइ रहेको स्रोतको भनाइ छ ।

माथिल्लो तामाकोशीलगायत चिनियाँ ठेकेदार संलग्न परियोजनाको विद्युत पनि भारतले आयात गर्नुपर्ने, बंगलादेशमा थप विद्युत निर्यातलाई सहजीकरण गरिदिनुपर्ने, महाकाली तेस्रो सिँचाइ आयोजनामा भारतले १० क्युमेक पानी छोडिदिनुपर्ने लगायत एजेन्डा पनि नेपालले तय गरेका छ ।

प्रधानमन्त्री शाहसँग भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री गनेश पौडेललगायत पनि भ्रमण टोलीमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?