+
+
Shares

दिल्लीमा प्रधानमन्त्रीका तीनवटा बैठक, २ खर्ब भारु सहयोग र हवाई रूटमा सहमति

६ मंसिरको अपराह्न दिल्ली पुग्ने प्रधानमन्त्री शाह ‘ताज महल होटेल’मा बस्नेछन् । सो दिन उनका कुनै पनि औपचारिक कार्यक्रम तय भएको छैन ।

जनार्दन बराल जनार्दन बराल
२०८३ कात्तिक ३० गते २२:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह ६ मंसिरमा भारतको राजकीय भ्रमणमा जाँदै छन्, र २५ घन्टामात्र दिल्लीमा रहनेछन् ।
  • उनले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट, प्रधानमन्त्री मोदीसँग वान–अन–वान र प्रतिनिधिमण्डलस्तरको बैठक, तथा विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नेछन् ।
  • नेपाल र भारतबीच २ खर्ब भारतीय रुपैयाँ सहयोग, हवाई रुट, एयर स्पेस, अयोध्या–जनकपुर रेल र अन्य थाती विषयमा सहमति हुन सक्ने स्रोतले जनाएको छ ।

३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन शाह चारवटा मात्रै औपचारिक बैठक तथा कार्यक्रममा सहभागी हुने भएका छन् ।

भारतमा कुल साढे २५ घन्टा मात्रै रहने प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने छन् । त्यस्तै, उनले भारतीय प्रधानमन्त्री मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको बैठक गर्ने छन् । त्यसका अतिरिक्त विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने छन् । त्यसबाहेक प्रधानमन्त्री शाहले अन्य बैठक तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने उच्च सरकारी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

६ मंसिरको अपराह्न दिल्ली पुग्ने प्रधानमन्त्री शाह ‘ताज महल होटेल’मा बस्नेछन् । सो दिन उनका कुनै पनि औपचारिक कार्यक्रम तय भएको छैन । सो दिनको साँझ उनी नेपाली राजदूतावासमा जाने सम्भावना छ, तर कार्यक्रम तय भने भई नसकेको उच्च सरकारी स्रोतले अनलाइनखबरलाई बतायो ।

७ मंसिरमा प्रधानमन्त्री शाहलाई राष्ट्रपति कार्यालयमा ‘गार्ड अफ अनर’ दिइनेछ । त्यससँगै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मुसँग सिष्टाचार भेट गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै (वान–अन–वान) वार्ता हुने पनि स्रोतले जानकारी दियो । त्यसपछि दुई देशका प्रधानमन्त्रीले प्रतिनिधिमण्डलस्तरको बैठक गर्ने छन् ।

दुई देशबीच हुने उद्घाटन तथा सम्झौताहरू सोही बैठकका क्रममा हुने स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

सो क्रममा कुनकुन विषयमा सम्झौता हुने भन्ने विषय अहिलेसम्म टुंगो लागि नसकेको स्रोतको भनाइ छ । भारतले नेपाललाई महेन्द्रनगरबाट आवत–जावत गर्न मिल्नेगरी हवाई रुट प्रदान गर्ने सम्झौता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसका साथै दुई देशका प्रधानमन्त्रीले भारतको अयोध्यादेखि जनकपुर आउने रेलको संयुक्त रुपमा उद्घाटन गर्ने छन् । साताको एकपटक यात्रा गर्ने गरी अयोध्या–जनकपुर रेल सञ्चालनका लागि भारतले अनुमति दिइसकेको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल भारतबीचमा लामो समयदेखि थाती रहेका विषयहरू नै एजेन्डाका रुपमा रहने सरकारी स्रोतहरूले जनाएका छन् ।

सरकारी स्रोतहरूका अनुसार प्रधानमन्त्री ६ मंसिरको अपराह्न १:२५ बजे नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने छन् ।

त्यस्तै, उनी ७ मंसिरको ४:२० बजेको नेपाल वायुसेवा निगमकै नियमित उडानबाट नेपाल फर्कने पनि स्रोतले अनलाइनखबरलाई जानकारी दियो । नेपाली समयअनुसार ६ मंसिरको करिब ३ बजे दिल्ली पुग्ने प्रधानमन्त्री भोलिपल्ट साढे चार बजे स्वदेश फर्कंदा करिब साढे २५ घन्टा दिल्लीमा बिताउने छन् ।

यसअघि प्रधानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने भन्ने चर्चा थियो । तर, उनको भ्रमण दुई दिनको मात्रै हुने र समयको हिसाबले २५ घन्टाको मात्रै हुने गरी तय भएको उच्च सरकारी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

नयाँ सरकार बनेलगत्तै प्रधानमन्त्री बालेनले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए । तर, त्यो घोषणाविपरीत उनी गत सेप्टेम्बरको तेस्रो साता संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क गएका थिए । त्यहाँ पनि उनी महासभा सम्बोधन गरेलगत्तै फर्केका थिए ।

त्यही परम्परालाई कायम राख्दै प्रधानमन्त्री शाह भारतमा पनि २५ घन्टा मात्रै रहने गरी भ्रमण तय भएको हो ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल भारतबीचमा लामो समयदेखि थाती रहेका विषयहरू नै एजेन्डाका रुपमा रहने सरकारी स्रोतहरूले जनाएका छन् ।

२ खर्ब भारु सहयोगबारे सहमतिनजिक

नेपाललाई अनुदान तथा सहुलियतपूर्ण ऋणसहित गरेर २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग दिन भारत सकारात्मक रहेको स्रोतहरूले जनाएका छन् । त्यसमध्ये १ खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र थप १ खर्ब भारु अनुदानको हिस्सा रहनेछ ।

‘यसमा ठोस जवाफ आइसकेको छैन, तर १ खर्ब ऋण र १ खर्ब अनुदान गरी २ खर्ब भारु सहयोग दिन सम्भवत: भारत सहमत हुनेछ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

१ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना नेपालको छ । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेसवे बनाउनका लागि ५० अर्ब भारुको प्रस्ताव नेपालले गरेको छ ।

हवाई रुट र एअर स्पेस दिन पनि भारत सहमत

नेपालले लामो समयदेखि मागिरहेको हवाई रुट र एयर स्पेस दिन पनि भारत सहमत भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हाल बाहिरबाट नेपाल प्रवेश गर्ने जहाजहरू सिमराबाट मात्रै नेपाल इन्ट्री गर्न पाउँछन् । त्यसले गर्दा भैरहवा र पोखराजस्ता अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाइ भएको भन्दै नेपालले महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा तथा जनकपुरबाट जहाजहरू आवतजावत गर्न पाउने गरी अनुमति दिन भारतलाई अनुरोध गरिरहेको थियो । यसमध्ये सीमित ठाउँबाट हवाई रुट दिन तथा भैरहवा विमानस्थलबाट भारततर्फको क्षेत्रमा एअर स्पेस उपलब्ध गराउन भारत सकारात्मक रहेको परराष्ट्र स्रोतको भनाइ छ ।

भारतका केही शहरबाट पोखरा विमानस्थलमा सिधै हवाई उडान गर्नेबारे पनि सहमति हुनसक्ने स्रोतको भनाइ छ ।

‘भारत महेन्द्रनगरबाट ३९ हजार फिटमा जहाज भित्रन (इन्ट्री गर्न) पाउने गरी रुट प्रदान गर्न भारत सहमत भएको छ । यसका साथै, भैरहवा विमानस्थलमा जहाज उडान अवतरण गर्दा भारतीय एअरस्पेस प्रयोग गर्नुपर्ने हुन्छ । त्यो प्रयोगको अनुमति दिन पनि भारत सहमत भएको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘त्यस्तो अनुमति दिँदा उसले रक्सौल र बागडोग्रा क्षेत्रमा नेपालतर्फको एअर स्पेस पनि मागेको छ ।’

भारतले रक्सौलमा रहेको पुरानो एअरपोर्टलाई पुनर्निमाण गरी ठूलो आकारमा निर्माण गरिरहेको छ । त्यस एअरपोर्टमा उडान अवतरण गर्दा नेपालको आकाश प्रयोग गर्नुपर्ने भएकाले उसले एअरस्पेस मागेको स्रोतको भनाइ छ ।

त्यस्तै, भारतको सिलगुडीनजिकै बागडोग्रामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै छ । सो एअरपोर्टको धावनमार्गको दुवैतर्फबाट उडान अवतरण गर्ने हो भने नेपालको आकाश पनि प्रयोग गर्नुपर्ने भएकाले त्यहाँ पनि उसले एअरस्पेस मागेको परराष्ट्र स्रोतले बतायो ।

‘तर, यी विषय अहिले वार्ताका क्रममा छन् । नेपालले दिने सहमति भइसकेको छैन,’ स्रोतले भन्यो ।

नेपाल र भारतबीच अयोध्या र जनकपुरबीच सिधा हवाई उडान गर्नेबारे पनि सहमति भएको परराष्ट्र स्रोतले अनलाइनखबरलाई बतायो । भारतका केही शहरबाट पोखरा विमानस्थलमा सिधै हवाई उडान गर्नेबारे पनि सहमति हुनसक्ने स्रोतको भनाइ छ ।

यसका अतिरिक्त रक्सौल–काठमाडौं रेलमार्गको निर्माण, अयोध्या–जनकपुर रेल सञ्चालन एवम् क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणबारे पनि सम्झौताहरू हुने सम्भावना रहेको छ ।

महाकाली सन्धि भएको ३० वर्षसम्म टुंगिन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणलाई अघि बढाउन नेपालले जोड दिइरहेको छ । तर, यसमा बृहद राजनीतिक सहमति आवश्यक रहेको भारतको भनाइ रहेको स्रोतको भनाइ छ । यो परियोजनाका बारेमा ठोस उपलब्धि हुन गाह्रो रहेको स्रोतको भनाइ छ ।

माथिल्लो तामाकोशीलगायत चिनियाँ ठेकेदार संलग्न परियोजनाको विद्युत पनि भारतले आयात गर्नुपर्ने, बंगलादेशमा थप विद्युत निर्यातलाई सहजीकरण गरिदिनुपर्ने, महाकाली तेस्रो सिँचाइ आयोजनामा भारतले १० क्युमेक पानी छोडिदिनुपर्ने लगायत एजेन्डा पनि नेपालले तय गरेका छ । महाकाली तेस्रो सिँचाइ परियोजना निर्माण सम्पन्न भएपछि भारतले टनकपुर बाँधबाट पानी नछाडिदिँदा सञ्चालनमा आउन सकेको छैन । सो परियोजनामा पानी दिन भारत सहमत भएको ऊर्जा मन्त्रालय स्रोतले बतायो । सोही कारण ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्रीको टिममा समावेश भएका छन् ।

प्रधानमन्त्री शाहसँग ऊर्जामन्त्री श्रेष्ठसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, पर्यटनमन्त्री गनेश पौडेललगायत पनि भारत जाँदै छन् ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?