+
+
Shares

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँदिल्लीले बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सवारी पार्किङ शुल्क दोब्बर, घरबाटै काम र धुलो उड्ने निर्माणमा तत्काल प्रतिबन्ध लगाएको छ।
  • मुख्यमन्त्री रेखा गुप्ताको कार्यालयले नोभेम्बर १ देखि दिल्लीको शीतकालीन कार्ययोजना लागू भएको र चौबिसै घण्टा निगरानीको व्यवस्था गरिएको जनाएको छ।
  • आइतबार दिल्लीमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर २०१ माइक्रोग्राम मापन भएको थियो, जुन सुरक्षित सीमाभन्दा १३ गुणाभन्दा बढी हो।

१५ कात्तिक, नयाँदिल्ली (रासस/एएफपी)। भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ ।

प्रदूषण नियन्त्रणका लागि लागू गरिएका नयाँ उपायको मुख्य उद्देश्य सवारीसाधनबाट हुने उत्सर्जन घटाउनु रहेको अधिकारीहरूले बताएका छन् ।

नयाँ व्यवस्थाअनुसार तोकिएको उत्सर्जन मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई राजधानी प्रवेशमा रोक लगाइनेछ । त्यसैगरी, धुलो उड्ने गरी गरिने भत्काउने कार्य तथा खुला क्षेत्रमा हुने निर्माण गतिविधिमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको छ ।

मुख्यमन्त्री रेखा गुप्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा नोभेम्बर १ देखि दिल्लीको ‘शीतकालीन कार्ययोजना’ लागू भएको जनाइएको छ । योजनामा प्रदूषण नियन्त्रणका कडा उपाय, प्रभावकारी कार्यान्वयन र चौबिसै घण्टा निगरानीको व्यवस्था गरिएको उल्लेख छ ।

विज्ञप्तिमा दिल्लीवासीलाई सरकारी निर्देशन पालना गरी राजधानीको हावा स्वच्छ र स्वस्थ बनाउन सहयोग गर्न आग्रह गरिएको छ ।

दिल्ली सरकारले पछिल्लो एक महिनादेखि नै प्रदूषण नियन्त्रणका विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । यसअन्तर्गत फोहोर जलाउन रोक लगाउनुका साथै कोइला र दाउरा प्रयोग गरी खाद्य परिकार तयार गर्ने सडक किनारका पसलहरूमा प्रतिबन्ध लगाइएको छ ।

यद्यपि, विगतका वर्षमा लागू गरिएका यस्तै उपायले नोभेम्बरदेखि जनवरीसम्म राजधानीलाई ढाक्ने बाक्लो धुवाँ र प्रदूषण नियन्त्रणमा खासै सफलता पाउन सकेका छैनन् । यस अवधिमा तापक्रम घट्दा प्रदूषक कणहरू जमिनको सतह नजिकै थुप्रिने गर्छन् ।

दिल्लीमा वायु प्रदूषणका प्रमुख स्रोतमा सवारीसाधनबाट निस्कने धुवाँ, कोइलाबाट सञ्चालित विद्युत् केन्द्र, औद्योगिक गतिविधि, निर्माण कार्यबाट उड्ने धुलो तथा छिमेकी राज्यमा बाली भित्र्याएपछि खेतमा बाँकी रहेका अवशेष जलाउने कार्य रहेका छन् ।

भारतको वातावरण मन्त्रालयका अनुसार दिल्लीमा जाडोयाममा हुने प्रदूषणमा सवारीसाधनको योगदान २३ प्रतिशत छ । त्यस्तै, कृषि अवशेषलगायत जैविक पदार्थ जलाउँदा २० प्रतिशत र कोइलाबाट सञ्चालित विद्युत् केन्द्रसहितका उद्योगबाट करिब नौ प्रतिशत प्रदूषण हुने गरेको छ ।

वायु प्रदूषणमा पाइने पीएम–२.५ नामक सूक्ष्म कणको मात्रा जाडोयामका मुख्य महिनामा प्रतिघनमिटर ३०० माइक्रोग्रामभन्दा बढी पुग्ने गरेको छ । यी कण फोक्सोको भित्री भागसम्म पुग्न सक्ने भएकाले मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छन् । यस्तो मात्रा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको दैनिक सीमाभन्दा करिब २० गुणा बढी हो ।

गत वर्ष दिल्लीमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर ८४६ माइक्रोग्रामसम्म पुगेको थियो । यो विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा ५६ गुणा बढी हो ।

आइतबार गरिएको मापनमा पीएम–२.५ को मात्रा प्रतिघनमिटर २०१ माइक्रोग्राम रहेको थियो । यो सुरक्षित सीमाभन्दा १३ गुणाभन्दा बढी हो । पछिल्ला केही दिनमा बेलाबेलामा परेको वर्षाका कारण प्रदूषणको स्तर केही घटेको हुन सक्ने अनुमान गरिएको छ ।

‘द ल्यान्सेट प्लानेटरी हेल्थ’ जर्नलमा सन् २०२४ मा प्रकाशित अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?