+
+
Shares

हकप्रद निष्कासनका सूचनालाई सेयर बेच्ने मौका बनाइँदै

‘ठूला लगानीकर्ताले पहिले नै हकप्रद निष्कासनको जानकारी पाइसकेका हुन्छन्, जब सूचना सार्वजनिक हुन्छ त्यसपछि कतिपय खरिदतर्फ आकर्षित हुन्छन्, पहिले होल्ड गरेका ठूला लगानीकर्ताले मूल्य बढाएर बेच्ने मौका समाउँछन्’

कमल नेपाल कमल नेपाल
२०८३ मंसिर २ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनआईसी एसिया बैंक र नेपाल पुनर्बीमा कम्पनीले हकप्रद सेयर निष्कासन स्वीकृति पाएपछि सेयर मूल्यमा उतारचढाव देखिएको छ।
  • लगानीकर्ता सुवासचन्द्र ढुंगानाले हकप्रद सूचना सार्वजनिक हुँदा धेरैजसो ठूला लगानीकर्ताले बिक्रीको मौका समाउने बताए।
  • नेपाल धितोपत्र बोर्डमा ३१ कम्पनी हकप्रद सेयर निष्कासनको पाइपलाइनमा रहेका छन्, जसमध्ये ८ ले कागजी प्रक्रिया पूरा गरेका छन्।

२ मंसिर, काठमाडौं । कात्तिक १७ गते एनआईसी एसिया बैंकले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पायो । यो स्वीकृतिपछि भोलिपल्ट सेयर बजारमा कम्पनीको मूल्य तीव्र उतारचढाव देखियो ।

अघिल्लो दिन प्रतिकित्ता ३५२ रुपैयाँ रहेको सेयर मूल्य हकप्रद निष्कासन स्वीकृति पाएको भोलिपल्ट ३८० रुपैयाँसम्म पुग्यो । त्यो मौकामा बिक्री गर्नेहरू बढे, अन्ततः सो दिन मूल्य ३५६.७० रुपैयाँमै रहेर बजार बन्द भयो । जब ठूलो सेयर संख्या आपूर्ति भइदिन्छ, त्यसपछि मूल्यमा चाप पर्न थाल्छ ।

अर्थात् हकप्रद निष्कासनको स्वीकृति पाएपछि कतिपय लगानीकर्ता सेयर खरिद गर्नतिर लागे, तर ठूलो संख्यामा सेयर होल्ड गर्नेले बेच्ने मौकाका रुपमा सदुपयोग गरे । यसरी बिक्री बढेकै कारण बैंकको सेयर कारोबार रकम समेत सो दिन डेढ वर्ष (२०८१ असार) यताकै उच्च हुन पुग्यो । तर सेयर मूल्य धेरै बढ्न सकेन भने, अहिले झन् यो घटेर ३४२ रुपैयाँमा झरेको छ ।

त्यतिबेला हकप्रद निष्कासनको स्वीकृति पाएको भन्दै पछाडि दौड्ने लगानीकर्ता अहिले नोक्सानीमा छन् । तर त्यतिबेलै हकप्रद सेयरलाई बिक्रीको मौकाका रुपमा समात्नेहरूले रकम बुक गर्न पाए ।

त्यस्तै कात्तिक १७ गते नेपाल पुनर्बीमा कम्पनीलाई सरकारले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दियो । भोलिपल्ट १८ गते कम्पनीको सेयर मूल्य ८०१.५० रुपैयाँबाट १५ प्रतिशत बढ्दै ९२१.७० रुपैयाँ पुग्यो । १५ प्रतिशत मूल्य बढेका बेला बिक्री गर्नेले मौका समाते । जसले गर्दा भोलिपल्टै कम्पनीको मूल्य घटेर ९१९ रुपैयाँमा झर्‍यो ।

अहिले झन् यस कम्पनीको मूल्य ८५१ रुपैयाँमा झरेको छ । यस कम्पनीमा पनि जसले हकप्रद निष्कासन हुने भयो भन्दै सेयर खरिद गरे, उनीहरूले हालका दिनमा प्रतिकित्ता मूल्य रुपैयाँ गुमाएका छन् । तर बिक्री गर्नेहरूले रकम बुक गर्न पाए ।

यी दुवै घटनाक्रमले दिने स्पष्ट संकेत हो : हकप्रद सेयर निष्कासनको सूचना खरिद होइन, बिक्रीको मौका हो । हकप्रद सेयर निष्कासनका सूचनालाई ठूला लगानीकर्ताले बिक्रीको मौकाका रुपमा लिँदै आएका छन् ।

तर कतिपय सर्वसाधारण लगानीकर्ता अझै पनि हकप्रद सेयर निष्कासनको पछाडि दौडिरहेको पाइन्छ । हकप्रद सेयर निष्कासनको सूचनापछि कारोबार बढ्नुले ठूलो संख्यामा सेयर खरिद र बिक्री भएको तथ्यले पनि यसलाई स्पष्ट पार्दछ । सूचना बाहिरिएपछि बढेको मूल्यवृद्धि दुई दिन पनि टिक्न नसक्नुले हकप्रदलाई बेच्ने मौकाका रुपमा हेरिने गरेको संकेत रहेको लगानीकर्ता बताउँछन् ।

लगानीकर्ता सुवासचन्द्र ढुंगाना धेरैजसो ठूला लगानीकर्ताले हकप्रद सेयर आउने विषय पहिले नै थाहा पाएर सेयर खरिद गर्ने र सूचना सार्वजनिक भएका बेला बेचेर बाहिरिने गरेको बताउँछन् ।

‘ठूला लगानीकर्ताले पहिले नै हकप्रद निष्कासनको जानकारी पाइसकेका हुन्छन्, जब सूचना सार्वजनिक हुन्छ त्यसपछि कतिपय खरिदतर्फ आकर्षित हुन्छन्, पहिले होल्ड गरेका ठूला लगानीकर्ताले मूल्य बढाएर बेच्ने मौका समाउँछन्’ उनले भने ।

ठूलो संख्यामा सेयर होल्ड गर्नेलाई बेच्नका लागि उपयुक्त मौका समाउन चुनौतीपूर्ण हुने गरेको छ । ‘हकप्रद सेयरका सूचना आउँदा ठूला लगानीकर्तालाई धेरै संख्यामा सेयर बेच्न वातावरण बन्छ’ उनले भने ।

यद्यपि समग्र बजारको ट्रेन्डले पनि हकप्रद सेयरको सूचनालाई प्रभाव पार्ने उनले बताए । ‘यदि समग्र बजारले नै बुल ट्रेन्ड समातेको छ भने त्यस्तो अवस्थामा हकप्रद पनि फाइदाजनक हुन सक्छ’ उनले भने ‘तर समग्र बजार घट्दो अवस्थामा छ भने हकप्रद सेयर अझ बढी नोक्सानीपूर्ण हुन सक्छ ।’

हकप्रद सेयर निष्कासन वास्तवमा कम्पनीले लगानीकर्ताबाट थप पूँजी जुटाउन रकम माग गर्ने र त्यसको सट्टा सेयर नै थपिदिनु हो । हकप्रद सेयर निष्कासनबाट जुटेको पूँजीलाई कम्पनीले व्यवसाय वृद्धि, ऋण चुक्ता वा अन्य कार्यका लागि प्रयोग गर्न सक्छ ।

तर सेयर संख्या बढिसकेपछि त्यसको मूल्य उहीं रहँदैन । अर्थात् सेयर संख्या बढेको आधारमा बजारमा मूल्य पनि समायोजन गरिन्छ अर्थात् मूल्य घट्दछ । त्यति मात्रै होइन, सेयरको वास्तविक सम्पत्ति मूल्य अर्थात् प्रतिसेयर नेटवर्थ घट्न जान्छ, प्रतिसेयर आम्दानीसँगै प्रतिसेयर वितरणयोग्य नाफा पनि घट्न जान्छ ।

त्यसैले हकप्रद सेयरलाई कम्पनीमैत्रीका रुपमा बुझ्नुपर्ने लगानीकर्ता बताउँछन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल कम्पनीले पूँजी जुटाउन थप सेयर जारी गर्ने हकप्रदलाई लगानीकर्ताले लाभ वा हानी दुवै रुपमा बुझ्न नपर्ने बताउँछन् ।

बढेको सेयर संख्याअनुसार बजार मूल्य, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ सबै घट्ने वा समायोजना हुने भएकाले हकप्रद सेयर भन्दैमा हौसिनु नपर्ने उनले बताए । ‘हकप्रद सेयर भनेर उचालिएर खरिद गर्नेले गुमाउनुपर्ने हुन सक्छ, त्यसैले हकप्रद सेयरलाई लगानीकर्ताले लाभका रुपमा बुझ्ने वा हौसिनु पर्दैन’ उनले भने ।

फाइल तस्वीरः ब्रोकर कार्यालयमा लगानीकर्ता ।

नोक्सानीमा पनि पूँजीगत लाभकरको भार

हकप्रद सेयर खरिदका लागि प्रतिकित्ता १ सय रुपैयाँका दरले थप लगानी गर्नुपर्छ । त्यसरी भएको लगानी र बढेको सेयर संख्याअनुसार पछि मूल्य समायोजन हुन्छ ।

यसरी मूल्य समायोजन भइसकेपछि माउ सेयर बिक्री गरिसकेको अवस्थामा र पछि हकप्रद सेयर डिम्याट खातामा आइसकेपछि हकप्रद बिक्री हुँदा अंकित मूल्य १ सयलाई आधार मानेर पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । अर्थात् प्रतिकित्ता १ सयभन्दा माथि जतिमा सेयर बिक्री हुन्छ, त्यसको पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ ।

३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरी बिक्री गर्दा नाफामा ३‍‍.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरी बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने गरेको छ ।

यदि एबीसी कम्पनीले १ सय बराबर १ सयकै दरले हकप्रद सेयर जारी गर्‍यो । बुक क्लोजअघि कुनै लगानीकर्ताले हकप्रद सेयर पाउने विश्वासले प्रतिकित्ता ३८० रुपैयाँ मूल्य रहेको सो कम्पनीको १ सय कित्ता सेयर खरिद गर्‍यो ।

जसमा ब्रोकर कमिसन तथा अन्य शुल्कबाहेकको लागत नै ३८ हजार रुपैयाँ हुन आउँछ । बुक क्लोजपछि कम्पनीको सेयर मूल्य २४० रुपैयाँ कायम हुन्छ । हकप्रद सेयर थपिँदा २ सय कित्ताको कुल मूल्य ४८ हजार हुन आउँछ, लागत मूल्य पनि त्यति नै हुन्छ । १ सय कित्ता हकप्रदका लागि १० हजार रुपैयाँ पनि लगानी भइसक्छ।

तर हकप्रद सेयर खातामा आउन महिनौं लाग्छ । बुक क्लोजपछि माउ सेयर प्रतिकित्ता २४० भन्दा कममा बिक्री गर्‍यो भने उ नोक्सानीमा रहन्छ । तर पछिबाट आएको हकप्रद सेयर बेच्दा प्रतिकित्ता १ सयलाई आधार मानी सोभन्दा माथिको पूरै रकममा पूँजीगत लाभकर तिर्नुपर्छ । समग्रमा नोक्सानीमा पनि पूूँजीगत लाभकर लाग्यो ।

सीडीएस एण्ड क्लियरिङका पूर्व सीईओ पूर्णप्रसाद आचार्य माउ सेयर बेचिसकेको अवस्थामा बोनस सेयर र हकप्रद सेयर पछि बिक्री गर्दा नोक्सानीमा पनि पूँजीगत लाभकर लाग्ने गरेको बताउँछन् । ‘त्यस्तो अवस्थामा हकप्रद र बोनस सेयर दुवैको आधार मूल्य १ सय मानेर सोभन्दा माथिमा पूँजीगत लाभकर लाग्ने गरेको छ’ उनले भने ।

हकप्रद सेयर निष्कासन पाइपलाइनमा रहेका कम्पनी

नेपाल धितोपत्र बोर्डमा ३१ कम्पनी हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् । आवेदन दिएकामध्ये ८ कम्पनीले कागजी प्रक्रिया पूरा गरेका छन् । यद्यपि बोर्डले ती कम्पनीबारे अध्ययन पूरा नगरेकाले स्वीकृति पाइसकेका छैनन् ।

यसरी हकप्रद सेयर निष्कासनको पाइपलाइनमा रहेका कम्पनीमा धेरैजसो जलविद्युत् कम्पनी छन् । प्रक्रिया पूरा भएपछि कम्पनीहरूले हकप्रद सेयर निष्कासनको स्वीकृति पाउँदै जाने बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?