News Summary
Generated by OK AI. Editorially reviewed.- ओटीटी सिरिज ‘पञ्चायत’ को पाँचौँ सिजन ३ डिसेम्बर २०२६ मा प्राइम भिडियोमार्फत २४० भन्दा बढी देश र क्षेत्रमा एकैसाथ सार्वजनिक हुने भएको छ।
ओटीटीमा लोकप्रिय वेब सिरिज ‘पञ्चायत’ को नयाँ सिजनको प्रतीक्षामा रहेका दर्शकका लागि खुसीको खबर छ । सिरिजको पाँचौँ सिजन प्रदर्शन हुने मिति सार्वजनिक भएको छ । चार सिजनसम्म फुलेरा गाउँ, सचिवजी र त्यहाँका बासिन्दाबीचको रमाइलो सम्बन्धले दर्शकको मन जितेको यो सिरिज नयाँ कथासहित फर्किन लागेको हो।
यसपटक सिरिजमा गाउँको राजनीति र सत्ताको नयाँ समीकरण हेर्न पाइनेछ । ‘पञ्चायत’ को पाँचौँ सिजन आगामी ३ डिसेम्बर २०२६ मा सार्वजनिक हुनेछ । यसपटक पनि दर्शकले फुलेरा गाउँको संसारमा फर्किने अवसर पाउनेछन् । हल्का हास्य, भावनात्मक क्षण, आपसी सम्बन्ध र स्थानीय राजनीतिको रोचक मिश्रण नयाँ सिजनमा देख्न पाइनेछ।
यो सिरिज प्राइम भिडियोमार्फत भारतसहित विश्वका २४० भन्दा बढी देश तथा क्षेत्रमा एकैसाथ प्रदर्शन हुनेछ।
बनराकसको हातमा फुलेराको नेतृत्व
नयाँ सिजनको कथा गाउँमा भएको सत्ता परिवर्तनको वरिपरि घुम्नेछ । फुलेराले नयाँ मुखिया पाएको छ भने बनराकस नयाँ मुखिया बनेका छन् । अब उनीहरूले कस्ता योजना अघि सार्छन् भन्ने चासो दर्शकमा छ।
के उनीहरूले फुलेरा गाउँको मुहार फेर्न सक्लान् ? वा उनीहरूका वाचा पनि देखावटी मात्र साबित हुनेछन् ? सत्ता परिवर्तनसँगै गाउँमा नयाँ प्रतिस्पर्धा र राजनीतिक समीकरण पनि देख्न पाइनेछ ।
पुरानै कलाकारको पुनरागमन
पाँचौँ सिजनमा यसअघिका लोकप्रिय कलाकारहरू आफ्नै पुराना भूमिकामा फर्किनेछन् । सिरिजमा जितेन्द्र कुमार, रघुवीर यादव, नीना गुप्ता, सुनीता राजवर, फैसल मलिक, चन्दन रोय, संविका, दुर्गेश कुमार र अशोक पाठकको अभिनय रहनेछ ।
यी कलाकारमार्फत फुलेरा गाउँका सम्बन्ध, राजनीति र दैनिक जीवनका रमाइला घटनालाई फेरि पर्दामा उतारिनेछ।
टीभीएफले गरेको हो निर्माण
‘पञ्चायत ५’ को निर्माण द भाइरल फिभर (टीभीएफ) ले गरेको हो । सिरिजको निर्देशन दीपक कुमार मिश्राले गरेका छन्। यसको कथा दीपक कुमार मिश्रा, चन्दन कुमार र अरुणाभ कुमारले तयार पारेका हुन्।
प्राइम भिडियो इन्डियाका एसभीओडी कन्टेन्ट एक्विजिसन निर्देशक तथा प्रमुख मनीष मेघानीले केही कथाहरू समयसँगै हाम्रो जीवनकै हिस्सा बन्ने र ‘पञ्चायत’ पनि त्यस्तै एउटा कथा भएको बताएका छन्।
उनका अनुसार चार सिजनमा फुलेरा गाउँ र त्यहाँका पात्रहरूले दर्शकको मनमा विशेष स्थान बनाएका छन् । सिरिजले दर्शकलाई हँसाउनुका साथै उनीहरूलाई आफ्नै जीवनसँग जोडेर हेर्न सकिने थुप्रै क्षण दिएको छ।
भारतका सफल र लोकप्रिय सिरिजमध्ये एक ‘पञ्चायत’ पाँचौँ सिजनसहित फर्किन लागेकोमा उनले खुसी व्यक्त गरेका छन् । यस यात्रामा टीभीएफसँगको लामो सहकार्य महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
प्रतिक्रिया 4