+
+
Shares
ब्लग :

लामो दूरीका बसका यात्रुको पनि मापसे जाँच गरौँ

सार्वजनिक यातायातमा मदिरा पिएर यात्रा गर्ने र महिला तथा अन्य यात्रुमाथि दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ। ट्राफिक प्रहरीले चालकको मात्र मापसे जाँच गरेर पुग्दैन, अब मदिरा पिएर सार्वजनिक बसमा आतङ्क मच्चाउने यात्रुलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ।

कुमारी नर्वदा भट्ट कुमारी नर्वदा भट्ट
२०८३ मंसिर ३ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ–महेन्द्रनगर रात्रिबसमा मदिरा सेवन गरेका तीन युवाले महिला यात्रुमाथि अश्लील शब्द प्रयोग गरी ८ देखि १० घण्टासम्म दुर्व्यवहार गरेका थिए।
  • बुटवल पुगेर पीडित महिलाले प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले ती तीनै युवकलाई बसबाट ओरालेर नियन्त्रणमा लिएको थियो।
  • लेखले सार्वजनिक बसमा यात्रुको मापसे जाँच, चालक–सहचालकको जिम्मेवारी र रात्रिबसमा सुरक्षा व्यवस्था कडाइ गर्नुपर्ने माग गरेको छ।

सार्वजनिक यातायातमा यात्रा गर्नु सबै नागरिकको अधिकार हो। यात्रुहरूले आफूले चाहेको गन्तव्यसम्म सुरक्षित, सहज र सम्मानजनक रूपमा पुग्न पाउनुपर्छ। तर लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्दा मदिरा सेवन गरेका केही यात्रुका कारण अरूले भोग्नुपर्ने हैरानी, दुर्व्यवहार र मानसिक तनावले सार्वजनिक यातायातको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। विशेषगरी रात्रिबसमा यात्रा गर्ने महिला यात्रुका लागि यस्तो व्यवहार झन् असुरक्षित र पीडादायी बन्ने गरेको छ।

कात्तिकको तेस्रो साता सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भयो। भिडियोमा मदिरा सेवन गरेका तीनजना युवाले लामो दूरीको बसभित्र महिला यात्रुहरूमाथि अश्लील शब्द प्रयोग गर्दै दुर्व्यवहार गरिरहेको देखिन्थ्यो। उनीहरूले महिलालाई अपशब्द बोल्ने मात्र होइन, पिट्ने धम्कीसम्म दिएका थिए। भिडियो हेर्दै गर्दा स्वाभाविक रूपमा मनमा प्रश्न उठ्यो- आखिर यो कुन ठाउँ जाने बस रहेछ, जहाँ यात्रुहरू घण्टौँसम्म यस्तो यातना सहन बाध्य भए ?

पछि थाहा भयो, उक्त बस काठमाडौँबाट सुदूरपश्चिमको महेन्द्रनगरतर्फ गइरहेको रात्रिबस रहेछ। महाकाली बहुउद्देश्यीय यातायात कम्पनीको सु.प्र.प्र. ०२–००१ ख १५६५ नम्बरको बसमा कात्तिक १७ गते भएको घटना रहेछ।

भिडियोमा तीनजना युवाले महिला यात्रुहरूमाथि निरन्तर अश्लील शब्द प्रयोग गरिरहेका थिए। एकजना महिला यात्रुले उनीहरूको व्यवहारको साहसपूर्वक प्रतिवाद गरिरहेकी थिइन्। बसभित्रका अन्य यात्रुहरू भने कोही डराएका, कोही असहज र कोही के गर्ने भन्ने अन्योलमा देखिन्थे।

मदिराको नसामा रहेका युवाहरूको व्यवहारले बसका सबै यात्रुलाई मानसिक रूपमा तनावमा पारेको सहजै अनुमान गर्न सकिन्थ्यो। विशेषगरी आमाचकारी गाली र अश्लील शब्द सुनिरहेका महिला यात्रुहरूको अवस्था कति पीडादायी भयो होला !

यस्तो अवस्थामा बसका चालक, सहचालक वा सञ्चालकको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। तर सार्वजनिक भएको भिडियोमा ती युवालाई सम्झाउने, नियन्त्रण गर्ने वा आवश्यक परे बसबाट ओराल्ने प्रयास भएको देखिँदैन। एकजना महिला यात्रुले मात्रै साहसपूर्वक प्रतिवाद गरिरहनुपर्ने अवस्था देखिनु आफैँमा दुःखद पक्ष हो।

बसमा जडान गरिएको सीसीटीभी क्यामेराले उक्त घटनालाई कैद गरेकाले भिडियो बाहिर आएको रहेछ। धादिङको धार्केबाट सुरु भएको यो दुर्व्यवहार बुटवल पुग्दासम्म करिब आठदेखि १० घण्टासम्म जारी रहेको थियो। ती यात्रुले यति लामो समयसम्म कस्तो मानसिक तनाव भोग्नुपर्‍यो होला भन्ने कुरा उनीहरूले मात्रै महसुस गर्न सक्छन्।

बुटवल पुगेपछि पीडित महिलाले राति नै प्रहरीसमक्ष मौखिक उजुरी दिएपछि प्रहरीले ती युवालाई बसबाट ओरालेर नियन्त्रणमा लिएको थियो। उनीहरू तीनैजना कञ्चनपुरको भीमदत्त नगरपालिकाका बासिन्दा रहेछन्। पछि पीडित महिलाको निवेदनअनुसार उनीहरूलाई बुटवलबाट कञ्चनपुर पुर्‍याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको थियो।

यो घटनाको भिडियोले तीन वर्षअघि दसैँको समयमा मैले भोगेको एउटा नमिठो बसयात्राको सम्झना पनि ताजा गरायो। देवर र देउरानीसहित म मेरो घर बैतडी जाँदै थिएँ। बैतडी डाइरेक्ट बस नजाने भएकाले बैतडी भएर दार्चुला जाने बसमा टिकट काट्यौँ। थानकोट काटेपछि नै उक्त बसमा दुईजना युवाले मदिरा सेवन गरेर होहल्ला गर्न थाले। उनीहरू महिला तथा अन्य यात्रुलाई लक्षित गर्दै अपशब्द बोलिरहेका थिए। सम्झाउन खोज्दा उल्टै झम्टिन आउँथे। बसभित्र मलगायत थुप्रै महिला र पुरुष यात्रु असहज र आक्रोशित थिए। तर प्रतिवाद गर्दा झन् झगडा बढ्ने डरले धेरैजसो यात्रु चुपचाप बस्न बाध्य थिए।

‘सहेर बसौँ, गन्तव्यमा पुग्न त छँदै छ’ भन्ने मानसिकताले हामीले बुटवलसम्म उनीहरूको व्यवहार सहनुपर्‍यो। पछि प्रहरीलाई जानकारी गराएपछि उनीहरूलाई ‘अब यस्तो व्यवहार नगर्ने’ सर्तमा माफी मगाएर कैलालीको अत्तरियासम्मको यात्रा गर्नुपरेको थियो।

यी दुई घटना अलग–अलग समयमा भएका भए पनि समस्या एउटै छ- लामो दूरीका सार्वजनिक बसमा मदिरा सेवन गरेर चढ्ने, होहल्ला गर्ने, महिला यात्रुमाथि अश्लील टिप्पणी गर्ने, धम्की दिने र अन्य यात्रुलाई मानसिक यातना दिने प्रवृत्ति। यस्ता घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै हाम्रो ध्यान जाने गरेको छ। तर सार्वजनिक नभएका यस्ता घटना कति यात्रुले चुपचाप सहिरहेका होलान् ?

चालकको मात्र होइन, यात्रुको पनि मापसे जाँच किन नगर्ने ?

ट्राफिक प्रहरीले सवारीचालकले मादक पदार्थ सेवन गरे–नगरेको नियमित जाँच गर्ने गरेको छ। यो अत्यन्त सकारात्मक कदम हो। मापसे जाँचले चालकलाई जिम्मेवार बनाउनुका साथै मदिरा सेवन गरेर सवारी चलाउँदा हुन सक्ने दुर्घटनाको जोखिम कम गर्न सहयोग गरेको छ। यसबाट मानवीय क्षति, घाइतेको सङ्ख्या र अस्पतालको आकस्मिक सेवामा पर्ने चापसमेत घटाउन मद्दत पुगेको छ।

तर सडक सुरक्षाको अर्थ दुर्घटनाबाट जोगिनु मात्रै होइन। सार्वजनिक यातायातमा यात्रा गर्ने प्रत्येक व्यक्तिको शारीरिक, मानसिक र सामाजिक सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। चालकले मदिरा सेवन गरेर सवारी चलाउँदा यात्रुको ज्यान जोखिममा पर्छ भने मदिरा सेवन गरेर बस चढ्ने यात्रुले पनि अरू यात्रुको सुरक्षा, सम्मान र शान्तिपूर्ण यात्राको अधिकारमाथि हस्तक्षेप गर्न सक्छन्।

महेन्द्रनगर जाने बसमा भएको घटना यसैको एउटा प्रतिनिधि उदाहरण हो। विशेषगरी काठमाडौँबाट पश्चिम नेपालका विभिन्न जिल्लातर्फ सञ्चालन हुने लामो दूरीका रात्रिबसमा यस्ता घटना सुनिने र देखिने गरेका छन्। कतिपय यात्रु मदिरा सेवन गरेर बस चढ्छन् र यात्राभरि होहल्ला गर्ने, अश्लील शब्द बोल्ने, अरूलाई धम्क्याउने तथा महिला यात्रुलाई लक्षित गरेर दुर्व्यवहार गर्ने गर्छन्। रातको समयमा सुनसान सडकमा लामो यात्रा गर्नुपर्ने भएकाले यस्तो व्यवहारबाट पीडित यात्रुले तत्काल सहयोग पाउनसमेत कठिन हुन्छ।

यहाँ केही महत्त्वपूर्ण प्रश्न उठ्छन्- लामो दूरीको बसमा मदिरा सेवन गरेर अन्य यात्रुलाई हैरानी दिने व्यक्तिलाई नियन्त्रणमा लिने जिम्मेवारी कसको हो ? महिला यात्रुमाथि अश्लील शब्द प्रयोग गर्ने र धम्की दिने व्यक्तिमाथि तत्काल कारबाही कसले गर्ने ? यात्रुको सुरक्षाका लागि बस व्यवसायीले के व्यवस्था गरेका छन् ? अन्य यात्रुले विरोध गर्दा पनि बसका जिम्मेवार कर्मचारी किन मौन बस्छन् ? चालकको मापसे जाँच गर्ने ट्राफिक प्रहरीले यात्रुको मापसे जाँच गर्ने विषयमा किन सोच्दैन ? यी प्रश्नको जवाफ खोज्नु अब आवश्यक भइसकेको छ।

यात्रुको सुरक्षा बस व्यवसायीको पनि जिम्मेवारी

सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको जिम्मेवारी यात्रुलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउनुमा मात्रै सीमित हुनु हुँदैन। यात्राको सुरुदेखि गन्तव्यसम्म यात्रुको सुरक्षा र सम्मान सुनिश्चित गर्नु पनि उनीहरूको दायित्व हो। बसभित्र कुनै यात्रुले मदिरा सेवन गरेर होहल्ला गर्ने, अरूलाई धम्क्याउने वा महिला यात्रुमाथि दुर्व्यवहार गर्ने अवस्था आएमा चालक र सहचालकले त्यसलाई सामान्य घटनाका रूपमा लिन मिल्दैन।

बसमा सीसीटीभी जडान गर्नु राम्रो पक्ष हो। तर सीसीटीभीमा घटना रेकर्ड भएपछि मात्रै त्यसको अर्थ रहँदैन। घटना हुन नदिन र भइहाले तत्काल नियन्त्रण गर्न त्यसको प्रयोग हुनुपर्छ। चालक तथा सहचालकलाई यात्रुको सुरक्षा, महिला संवेदनशीलता, विवाद व्यवस्थापन र प्रहरीसँग समन्वय गर्ने विषयमा आवश्यक अभिमुखीकरण दिनुपर्छ। मदिरा सेवन गरेर बस चढ्ने वा बसभित्रै अरू यात्रुलाई दुःख दिने व्यक्तिलाई नियमअनुसार रोक्ने, आवश्यक परे सुरक्षित स्थानमा बस रोकेर प्रहरीको जिम्मा लगाउने व्यवस्था हुनुपर्छ।

त्यस्तै, रात्रिबसमा यात्रु सहायता नम्बर, गुनासो सुनुवाइको व्यवस्था र आपत्कालीन अवस्थामा प्रहरीसँग सम्पर्क गर्ने स्पष्ट प्रक्रिया हुनुपर्छ। महिला यात्रुले आफू असुरक्षित महसुस गर्दा तत्काल सहयोग माग्न सक्ने वातावरण बनाउनु आवश्यक छ।

सहनु होइन, प्रतिवाद र कारबाही आवश्यक

सार्वजनिक यातायातमा हुने यस्ता दुर्व्यवहारविरुद्ध यात्रुहरूको सामूहिक भूमिका पनि महत्त्वपूर्ण हुन्छ। ‘मदिरा सेवन गरेको छ, त्यससँग के बोल्नु ?’ भन्दै चुप लागेर बस्ने प्रवृत्तिले गलत व्यवहार गर्ने व्यक्तिलाई थप हौसला दिन सक्छ। तर प्रतिवाद गर्दा आफ्नो सुरक्षालाई जोखिममा पार्नु हुँदैन।

यात्रुहरूले सामूहिक रूपमा विरोध गर्ने, चालक तथा सहचालकलाई जानकारी दिने र आवश्यक परे प्रहरीलाई खबर गर्ने गर्नुपर्छ। हिंसात्मक अवस्था सिर्जना भएमा आफैँ भिड्नुभन्दा सुरक्षित दूरी कायम गरी प्रहरीको सहयोग लिनु उचित हुन्छ।

एक दशकअघिसम्म सार्वजनिक बसभित्रै धूम्रपान गर्ने प्रवृत्ति सामान्यजस्तै थियो। धूम्रपान नगर्न आग्रह गर्ने आँट कमैले गर्थे। तर सरकारले सार्वजनिक स्थलमा धूम्रपान निषेधसम्बन्धी व्यवस्था कार्यान्वयन गरेपछि अहिले सार्वजनिक बसभित्र धूम्रपान गर्ने प्रवृत्ति धेरै हदसम्म नियन्त्रणमा आएको छ। यसले कानुन, सचेतना र सामाजिक प्रतिरोधको संयुक्त प्रयासले व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने देखाउँछ।

ठीक त्यसैगरी सार्वजनिक यातायातमा मदिरा सेवन गरेर होहल्ला गर्ने, अश्लील शब्द प्रयोग गर्ने, महिला यात्रुमाथि दुर्व्यवहार गर्ने र अन्य यात्रुको यात्रालाई असहज बनाउने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रभावकारी कानुनी तथा संस्थागत व्यवस्था आवश्यक छ।

मदिरा सेवन गर्नु व्यक्तिको निजी छनोट हुन सक्छ। तर मदिराको नसामा अरूको सम्मान, स्वतन्त्रता र सुरक्षामाथि आक्रमण गर्ने छुट कसैलाई पनि छैन। सार्वजनिक बस कुनै व्यक्तिको निजी मनोरञ्जन गर्ने ठाउँ होइन। यो सबै यात्रुको साझा सार्वजनिक स्थल हो, जहाँ प्रत्येक व्यक्तिले सम्मानपूर्वक यात्रा गर्न पाउनुपर्छ।

त्यसैले अब ट्राफिक प्रहरीले चालकको मात्र होइन, आवश्यक कानुनी आधार र स्पष्ट कार्यविधि बनाएर लामो दूरीका बसमा मदिरा सेवन गरेका यात्रुका कारण उत्पन्न हुन सक्ने जोखिमलाई पनि सम्बोधन गर्नुपर्छ।

विशेषगरी काठमाडौँबाट सुदूरपश्चिमलगायत टाढाका जिल्लातर्फ सञ्चालन हुने रात्रिबसमा नियमित अनुगमन, आकस्मिक जाँच र यात्रुको गुनासो सुनुवाइलाई प्रभावकारी बनाउनुपर्छ। मापसे जाँचका नाममा यात्रुलाई अनावश्यक दुःख दिने होइन, मदिरा सेवन गरेर सार्वजनिक यातायातमा अरूलाई दुर्व्यवहार गर्ने तथा सुरक्षा जोखिम सिर्जना गर्ने व्यक्तिमाथि कानुनसम्मत कारबाही गर्ने व्यवस्था हुनुपर्छ।

सरकार, ट्राफिक प्रहरी, यातायात व्यवसायी र आमयात्रु सबैले आफ्नो जिम्मेवारी बुझ्ने हो भने सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सकिन्छ। हरेक यात्रुले डर, त्रास र अपमान सहेर होइन, ढुक्कसँग आफ्नो गन्तव्यसम्म पुग्न पाउनुपर्छ।

(भट्ट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत छिन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?