+
+
Shares

लुकाउनु-छिपाउनु केही छैन, कांग्रेस दुई भइसक्यो : रमेश लेखक

नेता लेखकले भने, ‘हामीले मिलाउने प्रयत्न गर्दा–गर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १७:०९

२ मंसिर, काठमाडौं । कांग्रेसको देउवा पक्षका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् ।

कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा आफूहरू लागेको बताए ।

‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामीले वडादेखि संगठन गर्दै संगठित हुँदै यो अवस्थामा पुगेका छौं । आज जिल्ला अधिवेशन हुँदैछ,’ नेता लेखकले भने, ‘हामीले मिलाउने प्रयत्न गर्दा–गर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौं ।’

हरेक तहमा कांग्रेसका दुई वटा समिति बनेको भन्दै उनले पार्टी र समग्र राष्ट्रिय राजनीतिको अवस्था सुखद् नभएको पनि बताए ।

‘पार्टीको आन्तरिक जीवनको कुरा गर्दा पनि प्रतिकूल अवस्था छ भने समग्र राष्ट्रिय अवस्था पनि धेरै सुखद् देखा परेको छैन,’ लेखकले भने, ‘नेपाली कांग्रेसका लागि अहिले विषम् अवस्था छ । हामी अप्ठ्यारो अवस्थामा छौं ।’

पूर्वगृहमन्त्री लेखकले कांग्रेस दुई भइसकेको पनि जिकिर गरे । ‘लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुई भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको आत्मा, विचार, भावना यहीँ छ ।’

लेखकले कञ्चनपुरका नेता–कार्यकर्ताहरूलाई आत्मबलका साथ अगाडि बढ्न पनि आग्रह गरे । ‘यो नै नेपाली कांग्रेस हो,’ उनले भने, ‘यो आत्मबलको साथ अगाडि बढ्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?