News Summary
Generated by OK AI. Editorially reviewed.- पुरुषहरूलाई बाल्यकालदेखि रुनु हुँदैन र ‘मर्दलाई पीडा हुँदैन’ भनेर सिकाइने भएकाले उनीहरूले भावना खुलाउन नसक्ने लेखमा उल्लेख छ।
जब भावनात्मक कुरा आउँछ महिला र पुरुषलाई फरक दृष्टिले हेर्ने गरिन्छ । पुरुष भावनामा बग्नु हुँदैन, सधैँ बलियो हुनुपर्छ, जस्तो कठिन परिस्थितिमा पनि आँसु झार्नु हुँदैन भन्ने सामाजिक मान्यता रहन्छ ।
बाल्यकालदेखि नै केटाहरूलाई रुनु हुँदैन, आफ्ना समस्या अरूसामु व्यक्त गर्नु हुँदैन र ‘मर्दलाई पीडा हुँदैन’ भन्ने कुरा सिकाइन्छ । यही कारण पुरुषहरू आफ्ना भावना खुलेर व्यक्त गर्न सक्दैनन् । परिवार, करिअर र सम्बन्धका जिम्मेवारी पूरा गर्ने क्रममा उनीहरूले आफ्नै भावनालाई बेवास्ता गरिरहेका हुन्छन्।
यसको असर निकै गम्भीर हुन सक्छ । आफ्ना भावना व्यक्त गर्न नसक्दा पुरुषहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ ।
किन चाहिन्छ पुरुषका लागि भावनात्मक सहयोग ?
पुरुषहरूमाथि प्रायः परिवारको जिम्मेवारीदेखि करिअर र सम्बन्ध व्यवस्थापनसम्मको दबाब हुने गर्छ । धेरै पुरुष आफ्ना समस्या अरूसँग सेयर नगरी मनभित्रै दबाएर राख्छन् । लामो समयसम्म यसो गर्दा तनाव र एक्लोपन बढ्दै जान्छ । कतिपय पुरुष सहयोग माग्नसमेत अप्ठ्यारो मान्छन् । यस्तो अवस्थाले उनीहरूलाई गम्भीर मानसिक समस्यातर्फ धकेल्न सक्छ । कतिपय अवस्थामा यो समस्याले गम्भीर रुप लिन पनि सक्छ ।
पुरुषलाई भावनात्मक रूपमा कसरी सहयोग गर्ने ?
१. उनीहरूका कुरा ध्यानपूर्वक सुन्नुहोस्
तपाईंको घरमा कुनै पुरुष आफ्नो समस्याबारे कुरा गर्न चाहन्छन् भने उनका कुरा ध्यानपूर्वक सुन्नुहोस् । कतिपय अवस्थामा समस्याको तत्काल समाधान दिनुभन्दा उनीहरूका कुरा सुनिदिनु नै ठूलो सहयोग हुन सक्छ । उनीहरूलाई आफ्ना भावना र समस्याले पनि तपाईंका लागि उत्तिकै महत्त्व राख्छन् भन्ने महसुस गराउनुहोस्।
२. रुनबाट नरोक्नुहोस्
पुरुषहरूलाई पनि दुःख लाग्छ, उनीहरू पनि रुन सक्छन् र उनीहरूलाई पनि भावनात्मक सहयोगको आवश्यकता पर्न सक्छ । त्यसैले कुनै पुरुष रोएको वा भावुक भएको अवस्थामा उनको मजाक नउडाउनुहोस् । उनीहरूलाई आफ्ना भावना खुलेर व्यक्त गर्ने अवसर दिनुहोस् । उनीहरूसँग कुरा गर्नका लागि समय निकाल्नुहोस्। कहिलेकाहीँ मन खोलेर रुँदा पनि मन हलुका हुन सक्छ र तनाव कम हुन सक्छ ।
३. उनीहरूको जिम्मेवारी बुझ्नुहोस्
कतिपय पुरुष परिवार, जागिर र आर्थिक जिम्मेवारी पूरा गर्ने क्रममा आफ्ना लागि समय निकाल्न सक्दैनन् । यस्तो अवस्थामा परिवारका अन्य सदस्यले पनि उनीहरूको जिम्मेवारी बाँडेर लिनुपर्छ । घर र परिवारको जिम्मेवारी उनीहरूको मात्रै होइन भन्ने महसुस गराउनुहोस् । हामी पनि तपाईंको साथमा छौँ र तपाईंको स्वास्थ्यको ख्याल गर्छौं भन्ने विश्वास दिलाउनु आवश्यक छ ।
४. साथीभाइ र परिवारसँग समय बिताउन दिनुहोस्
एक्लोपनले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले पुरुषहरूलाई आफ्ना साथीभाइ र परिवारसँग समय बिताउन प्रोत्साहित गर्नुहोस् । यसो गर्दा उनीहरूलाई मन हलुका भएको महसुस हुन्छ । कहिलेकाहीँ साथीभाइसँग कुराकानी गर्दा र आफन्तसँग समय बिताउँदा पनि आवश्यक भावनात्मक साथ र सहयोग प्राप्त हुन सक्छ।
प्रतिक्रिया 4