+
+
Shares

नेपाल दक्षिण र मध्य एशियाबीचको सभ्यतागत सेतु हो : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १४:२८

५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्त्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएकी छिन् ।

भारत र चीनबीच अवस्थित नेपालले गङ्गाको मैदान र तिब्बती पठारलाई जोड्दै व्यापार, तीर्थयात्रा, ज्ञान र संस्कृतिको आदानप्रदानमा ऐतिहासिक भुमिका निर्वाह गरेको उनको भनाइ छ ।

भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको पहिलो एससीओ सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सभ्यतागत इतिहास, धार्मिक तथा सांस्कृतिक विविधता र विश्व सभ्यतामा पुर्‍याएको योगदान प्रश्तुत गरे ।

उनले सभ्यता भौगोलिक सीमा, स्मारक वा राज्यसत्ताको इतिहासमा मात्र सिमित नहुने उल्लेख गर्दै विचार, दर्शन, भाषा, आस्था, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानको जीवन्त निरन्तरता भएको बताए ।

नेपाल १४२ जातजाति तथा समुदाय र १२४ मातृभाषाको साझा भूमि रहेको उल्लेख गर्दै पौडेलले प्राचीन खस, किरात, मिथिला र नेवार सभ्यतादेखि आदिवासी जनजाति तथा स्थानीय मौलिक परम्परासम्मको विविधता नेपालको पहिचान भएको बताए ।

हिन्दु, बौद्ध, किरातलगायतका आध्यात्मिक परम्परा शताब्दीयौँदेखि सहअस्तित्वमा रहँदै आएको भन्दै उनले यो विविधता नेपालको सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानको आधार भएको बताए ।

नेपाललाई भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा चिनाउँदै लुम्बिनीबाट शुरु भएको शान्ति, करुणा, अहिंसा र मध्यम मार्गको सन्देश एशियाभर फैलिएको बताए ।

नेपाल र भारतबीचको साझा सभ्यतागत सम्बन्धबारे चर्चा गर्दै मन्त्री पौडेलले माता सीताको जन्मभूमि तथा राजा जनकको दार्शनिक विरासतसँग जोडिएको मिथिलालाई प्राचीन ज्ञान, चिन्तन र विमर्शको महत्वपूर्ण केन्द्र भएको जिकिर पनि उनले गरे ।

त्यसैगरी, नेपाली कलाकार तथा वास्तुविद् अरनिकोले नेपालको कला र शिल्पकौशललाई तिब्बत, चीन हुँदै मङ्गोलियासम्म पुर्‍याएको बताए ।

उनीसँगै गएको नेवार कला र शिल्प परम्पराले ती क्षेत्रको कला तथा वास्तुकलामा दीर्घकालीन प्रभाव पारेको उनको भनाइ छ । यी ऐतिहासिक सम्बन्धले एशियाली सभ्यताहरू एकअर्काबाट अलग रहेर नभई निरन्तरको सम्पर्क र आदानप्रदानबाट विकसित भएको पुष्टि गर्ने उनले बताए ।

सिख परम्पराअनुसार गुरु नानक देवले पशुपतिनाथको दर्शन गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले पशुपतिनाथ परिसरमा रहेको ऐतिहासिक भष्मेश्वर गुरु नानक मठमा गुरु ग्रन्थ साहिबको हस्तलिखित प्रति सुरक्षित रहेको जानकारी दिए ।

त्यस्तै, बौद्ध पर्व मुखाष्टमीका अवसरमा पञ्चभूत बुद्धको प्रतीकात्मक मुकुट शिवलिङ्गमा अर्पण गर्ने परम्पराले नेपालमा विभिन्न धार्मिक आस्थाबीच रहेको सहअस्तित्वलाई उजागर गर्ने उनको भनाइ छ । मन्त्री पौडेलले सभ्यतामा नेपालको योगदान धार्मिक आस्था र कलामा मात्रै सीमित नभई ज्ञान, दर्शन र साहित्यको संरक्षणमा समेत महत्वपूर्ण रहेको पनि बताए ।

नेपालमा धर्मग्रन्थहरूको प्रतिलिपि तयार गर्ने, अध्ययन गर्ने र संरक्षण गर्ने मौलिक परम्पराले बौद्ध दर्शन तथा संस्कृत साहित्यको ज्ञानभण्डार जोगाउन महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो । गुरु रिन्पोछेका नामले समेत श्रद्धा गरिने पद्मसम्भवले काठमाडौं उपत्यकानजिक फर्पिङमा ज्ञान प्राप्त गरेको मान्यता रहेको उल्लेख गर्दै उनले हिमाली क्षेत्रमा बुद्धका शिक्षालाई स्थापित र विस्तार गर्न पद्मसम्भवको महत्वपूर्ण भूमिका रहेको बताए ।

काठमाडौं, पाटन र भक्तपुरका ऐतिहासिक सहरलाई नेपाली पुर्खाहरूको असाधारण कला, वास्तुकला र सिर्जनात्मक क्षमताका प्रमाणका रूपमा प्रश्तुत गर्दै पौडेलले त्यहाँका मन्दिर, स्तूप, गुम्बा, विहार, काष्ठकला, धातुकला र परम्परागत चित्रकलाको चर्चा गरे ।

सभ्यता विगतको गौरवगाथा मात्र नभई त्यसबाट प्राप्त ज्ञान र प्रज्ञालाई वर्तमानमा उपयोग गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने जिम्मेवारीसमेत भएको पनि बताए ।

नयाँ पुस्तालाई सभ्यतागत विरासतसँग जोड्नुपर्नेमा जोड दिँदै पौडेलले युवाहरूले पुराना स्मारक र पाण्डुलिपि मात्रै नभई तिनको सिर्जनासँग जोडिएका मूल्य, दर्शन र जीवनदृष्टिसमेत उत्तराधिकारका रूपमा प्राप्त गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?